लमजुङ: जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो । घर नजिक जङ्गलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियालाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो । “सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो”, प्रनाउ श्रीवास्तवले भन्नुभयो । योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । परियारमाथि जिल्ला अदालतबाट मङ्गलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गण्डकी: चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता÷दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छभने शब्द नवराज पन्तले लेख्नुभएको हो । ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको...’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाउनुभयो । “गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन”, उहाँले भन्नुभयो, “अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता÷दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।” चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताउनुभयो । चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उहाँको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको...’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताउनुभयो । “यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचत्रिका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो”, उहाँले भन्नुभयो । गीतकार पन्तका लागि पनि यो गीत उहाँको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी...’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गर्नुभएका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेख्नुभएको हो । ‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको...’ थेगो फुरेको गीतकार पन्तले बताउनुभयो । “उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासी मलाई यो गीतको शब्द फु¥यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ”, उहाँले भन्नुभयो, “आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।” गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताउनुभाये । “चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो”, उहाँले भन्नभयो । ‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उहाँले सुनाउनुभयो । हाल अमेरिकामा रहनुभएका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी...’, ‘डाँडै फर्के सल्लो...’, ‘मायालुको सहरमा...’लगायत गीत चर्चित छन् । लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेख्नुभएको छ । नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उहाँ सिपालु हुनुहुन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र अहिले यहाँ सुरु भएको छ । पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या तथा यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले विशेष सत्र आयोजना गरेको हो । कार्यक्रमको सुरुआत गर्दै नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा दीपक खराल, परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले विशेष सत्रमा कार्यक्रमबारे जानकारी गराउनुभयो । यसअघि आजै पर्वतीय मुलुक कीर्गिस्तानले जलवायु परिवर्तन र असरका विषयमा उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । उक्त सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । नेपालद्वारा आयोजित विशेष सत्रमा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो । “वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो । पार्टीको केन्द्रीय समितिको गत असोज १३ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका लागि रास्वापको उम्मेदवारी दर्ताको आधिकारिकता दिने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको थियो । मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो । योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।
काठमाडौं: देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका २ वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताउनुभयो । नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए । “हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं”, उहाँले भन्नुभयो, “ती खोप सबै बालबालिकाले खोप पाएपछि ती जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दछौँ ।” सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ । यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्लुएन्जा–बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । १४ हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । ९ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ । खोप शाखा प्रमुख गौतमले शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताउनुभयो । उहाँका अनुसार सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा ४ प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ । उहाँले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्षसम्म पनि खोप लगाइने बताउनुभयो ।
महोत्तरी: हिन्दू परम्परामा नयाँ अन्न उपयोगमा ल्याउन होम गरिने चलन छ । यस वर्षको नयाँ धान थन्क्याएका किसानले यो अन्न उपयोगमा ल्याउन आज कात्तिक शुक्ल द्वादशीका दिन आज ‘न्वागी’ खाने पूजाको तयारी गरेका छन् । घरघरमा उत्सवका रुपमा गरिने यो पूजा खास पर्वकै रुपमा मनाइन्न्छ । न्वागी खाने पूजासँग दुई चलन जोडिएको पाइन्छ । कात्तिक शुक्लपक्षको एकादशी अर्थात् हरिबोधनीको व्रत साङ्गतासँगै नयाँ अन्न होम गरेर चलनमा ल्याइने चलन हिन्दू परम्पराका पर्वते समुदायमा छ । यो चलनले पर्वते समुदायको सघन बसोबास रहेका महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रका बस्तीमा आज न्वागी पूजाको तयारी छ । केही दशकअघिसम्म स्थानीय जातका धान लगाइँदा न्वागी पूजा मङ्सिर शुक्लपक्षमा गरिने न्वागी पूजापछि चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेसँगै यो पर्व हरिबोधनीको साङ्गतासँगै जोडेर गर्न थालिएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा कर्मकाण्डी ब्राह्मण दुर्गामणि काफ्ले बताउनुहुन्छ । न्वागी पूजामा नयाँ धानको चामल र तील गाईको दूधबाट बनेको घीउ ९घ्यू०मा मुछेर तुलसीका मठ छेउमा यज्ञवेदी बनाई त्यहाँ प्रज्वलित गरिएको आगोमा होम गरिने चलन छ । यस पर्वमा सेलरोटी, पञ्चामृत र अपुङ्गसहितका प्रसाद सामग्री बनाइए पनि भिजाएका चामल चाहिँ मुख्य मानिन्छ । नयाँ चामललाई दहीमा भिजाएर सख्खरमा मोलिएपछि यो प्रसाद सामग्री तयार हुन्छ । पहिलेपहिले स्थानीय जातका धान लगाइँदा ती पाक्न मङ्सिर लाग्थ्यो । त्यतिखेर न्वागी पूजा पनि मङ्सिर शुक्लपक्षमै दिन जुराएर गरिन्थ्यो । पछिल्ला केही दशकयता महोत्तरीका उत्तरीक्षेत्रमा चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेपछि यो अन्न प्रयोगमा ल्याइन कात्तिक शुक्ल द्वादशीकै दिन एकादशी व्रतको साङ्गतासँग जोडेर न्वागी पूजाको चलन बढेको अर्का कर्मकाण्डी ब्राह्मण बर्दिबास–७ किसाननगर जुरेटोलका किशोर सुवेदी बताउनुहुन्छ । घरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घीउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूहरुको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो न्वागीपूजा परम्परा चलेको सुवेदीको भनाइ छ । वैदिकशास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । कात्तिक द्वादशीका दिन यो न्वागीपूजाको तयारी गर्न नभ्याएका किसानले मङ्सिर शुक्लपक्षमा उपयुक्त दिन जुराएर गर्ने गर्छन् । पर्वमा होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण चाहिने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ । मधेशको मिथिला क्षेत्रमा यो पर्वलाई ‘लवान’ भनिन्छ । महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा अझै स्थानीय जात (पाक्न मङ्सिर लाग्ने) का धान लगाइने गरिएको छ । त्यसैले हिन्दू मैथिलले भने यो पूजा मङ्सिर शुक्लपक्षमै गर्छन् । मैथिल चलनमा नयाँ धानको चिउरा, दूध र सख्खर प्रसाद सामग्री हुन्छन् । यी सामग्री अग्नीलाई समर्पित गरी परिवारजनले प्रसादस्वरुप खाएपछि नयाँ अन्न दैनिक जीवनमा उपयोगमा ल्याइने चलन रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
कर्णाली: सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकामा अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।” पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।
जुम्ला: प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुुभएको छ । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ । ”प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवासुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताउनुुभयो । प्रतिष्ठानको परिकल्पनादेखि नै आफूू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुुगेकामा उहाँले खुुसी व्यक्त गर्नुभयो । “अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्नुहने मैले विश्वास लिएको छु । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुुहोस् । ” दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, “म खुसी व्यक्त गर्न चाहन्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनुु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।” संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी हुनुहुन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । “जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो । “उनीहरुलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो । गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन ‘सिजन’मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिनुभयो । “यसको पीडा अझै सञ्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिनेछ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नुपर्नेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भन्नुभयो । साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेकोे अनुभव उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले बोल्नुभएको थियो । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)अन्तर्गत मङ्गलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।

