काठमाडौं: सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो। आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ। साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजीविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ। आदेशमा भनिएको छ, “तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु।” आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ। अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाई आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गर्नुभएको थियो।
दार्चुला: नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् । गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन्। ‘यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेबापत मजदुरले दैनिक एक हजारदेखि रु एक हजार ५०० ज्याला लिए’, उनले भने। व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । त्यो बाटो एक वर्ष पनि टिकेन । सबैभन्दा कठिन भूगाले रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो । उनले भने, ‘ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यस वर्ष पनि बाटो बन्न सम्भव थिएन ।’ घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताउँछन्। ‘एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने बेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ’, उनले भने । सडक पहुँच नभएकाले दार्चुलाको छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो । अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ । थोरै भए पनि राहत महशुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ । ‘परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो’, धामीले भने, ‘यो बाटो खुलेपछि व्याँसको वडा नम्बर १ को छाङ्गरु तथा तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडेको छ’, उनले भने। गाउँपालिकाले बोलपत्र आबहान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो । कुल पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । ‘निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो”, निर्माण व्यवसायी पालले भने, “तै पनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो ।’ निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ । अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए। मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ । व्याँसवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोरेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ । निर्माण कम्पनीले व्याँसको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्यसअनुसार घोरेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कङ्कृट र २० घनमिटर (८५ मिटर) आरसिसि ढलान गरिएको छ । दोपाखे, अपिखोला र कुन्तीसाउमा छ मिटर लम्बाइ स्पानका तीन वटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए।
काठमाडौं: नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । यस योजना अन्तर्गत निगमले गत मङ्सिर ५, २०८१ मा स्थानीय कन्सल्टेन्टको रूपमा पुलचोक इन्जिनियरिङ संस्थान, पुलचोकलाई डिपिआरको जिम्मा दिएको थियो । सम्झौता अनुसार इन्जिनियरिङ संस्थानले ७ महिनामा परियोजनाको डिपिआर तयार गरी निगमलाई बुझाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्जिनियरिङ संस्थाले गुह्येश्वरीमा निर्माण गरिने हवाई इन्धन डिपो निर्माणको डिपिआर बुझाएको हो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुनेछ । यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने निगमले जनाएको छ । यसै परियोजना अन्तरगत इन्धन लोडिङरअनलोडिङका लागि क्रमश: ६ र ८ वटा बेहरु निर्माण हुने, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट हाइड्रान्ट रिफ्यूलिङ सिस्टम तथा २ वटा रिफ्यूलिङ डिस्पेन्सर पनि रहने निगमले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुनेछ । यसै गरी प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार यार्ड, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू एपीआई ओआईएसडीको पूर्ण रूपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार अनुमान गरिएको छ । हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको र निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने जनाएको छ । २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रियाहरू टुङ्ग्याइ यसै आर्थिक वर्षको मङ्सिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा ९२०८४ मङ्सिर सम्ममा० निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको छ । नेपाल आयल निगम लिमिटेडले साबिकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०४/२८ को निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा.तोषिमा कार्कीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् । त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । उनीहरूले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए ।
बाजुरा: बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा सवारमध्ये १५ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् । धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै पहल गरिदिन अनुरोध गरेका थिए । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए । प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गरे । टोलीसँगको छलफलपछि प्रचण्डले भने, ‘यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ । कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो ।’ उनले योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो । घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”
 
                    
