काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभयो। रास्वपातर्फबाट कार्यवाहक पार्टी सभापति डोलप्रसाद अर्याल र उपसभापति एवम् उच्च संवाद समितिका संयोजक डा। स्वर्णिम वाग्ले तथा विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र सो पार्टीका उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गर्नुभयो। वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उहाँहरुको भनाइ छ। उहाँहरुबिच पाँच बुँदे सहमति पनि भएको छ। सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवद्र्धनमा स्वर्गीय उज्जवल थापा एवम् विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ। “रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्म लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने, मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य रहने, विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय , प्रदोशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मानिनेछ”, सहमति पत्रमा भनिएको छ। साथै एकीकरणपछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी रहने वार्ता समिति उपसंयोजक शिशिर खनालले जानकारी दिनुभयो। घोषणा कार्यक्रममा दुवै दलका नेता, कार्यकर्ताको उपस्थिति थियो।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए । कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी हुन उनले वडावासीलाई आग्रह समेत गरेका छन् । रेडियोको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा वडा कार्यालय जोडिन पाएकोमा खुशी व्यक्त गरे । वडाले गीत संगीत, कला, साहित्यको क्षेत्रलाई समेत महत्व दिने गरेको उनको भनाइ छ । कार्यक्रम पोखराको महेन्द्रपुलमा रहेको फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न सकिने भएकोले सबैजनालाई उपस्थित भएर साथ दिन संयोजक पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारङ्गीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् । कार्यक्रमलाई भव्य बनाउन प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ३, वडा नम्बर ११ र वडा नम्बर १२ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एस।के साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन र नेवा मिसस् पुचस् कास्की लगायतको सहयोग समेत रहने छ । रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २५ वर्षको अवधिमा रेडियोले सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ ।
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (आइतबार) भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पुरुषतर्फ भने, बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो । उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे । यस्तै सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले २५–२५ हजार रुपैयाँ प्राप्त गरे । निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी,झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे । यस्तै पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेर मगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेण्डर, नरेठाँटीका दिप्सन ठकुरी उदियमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने ्कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् । उनले भनेका छन्–“पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिव २ सय जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।” प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङले बताए । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ । त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ । टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिब समेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।” प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।” सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए ।
पोखरा: एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए । ‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका छौं, यस कन्सल्टेन्सीले अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अध्ययन लागि पनि हामीले परामर्श दिर्दै आएका छौं ।’ उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नेपालमा मेडिकल,पर्यटन र बुद्धिजम लगायतका क्षेत्रमा अध्ययनका लागि सहजिकरण गर्नेे बताए । एडुब्रिज कन्सल्टेन्सी गण्डकी प्रदेश पोखरा शाखाका निर्देशक किसान सुनारले कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा यस कार्यालयले सहजिकरण बताए । शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने उनले बताए । एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीसँगै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ । एडुब्रिज कन्सल्टेन्सीले पोखरा शाखा विस्तारको उद्घाटनसँगै नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि परामर्श समेत दिइएको थियो ।
म्याग्दी: भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि(५ मल्कवाङका वडाध्यक्ष अमर छन्त्यालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् । वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उहाँले बताउनुभयो । सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु। एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो । बसका लागि प्रतिव्यक्ति भाडादर रु। सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिनुभयो । “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ । यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु। ३० लाख विनियोजन भएको छ । भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हँुदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ । प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु। पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राख्नुभयो । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उहाँले जानकारी दिनुभयो
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए । राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए। फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ। पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्। “हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने। भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ। “हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।
चितवन: पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् । उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो ।
बझाङ: आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपत्तिबाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

