पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

धादिङ:    धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।  तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।      झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।  दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।   निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।  सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।

काठमाडौं:   इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ ।  इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ ।  सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ ।  तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठुलो गल्ती” भएको बताउनुभएको छ ।  रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

काठमाडौं:    आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्यका दिन आज समापन गर्न लागिएको हो ।       आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाका बुबा) को श्राद्ध भने बिहीबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भन्ने गरिएको हो ।        पितृपक्षको अन्तिम दिन आज आमावास्य अर्थात् औँसी तिथिको श्राद्ध गरिन्छ । कुनै कारणले यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।  कुनै कारणले रोकिएर आज पनि श्राद्ध गर्न नसकेमा आपत् धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म मिल्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो ।        यो समयमा पनि सोह्रश्राद्ध गर्न नसकिएमा कात्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।       आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएका सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।  त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक एक सय आठ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले जानकारी दिनुभयो । “विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ”, प्रा डा भट्टराईले भन्नुभयो ।        पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।        यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।  उहाँका अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, औँसी तिथि, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीलगायत श्राद्धहरु प्रचलित छन् ।            यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले जानकारी दिनुभयो ।  यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धाका साथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । असोज १७ गते घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।

काठमाडौं:   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ । 

काठमाडौं:    गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई आज निर्देशन दिनुभएको हो । महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आमनागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।  सोही सन्दर्भमा उहाँले भन्नुभयो, “वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिएको छु ।” थप समन्यव र सोसम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताउनुभयो ।  मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गर्नुभएको छ ।

काठमाडौं:    काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ ।       यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।       उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो ।  बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।      बैठकपछि जारी विज्ञप्तिमा बाढीपहिरोबाट ज्यान गुमाउने यात्रु तथा यातायात मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।       सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।      देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पु¥याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ ।       वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।      यस्तै अत्यधिक वर्षाका कारणले ‘रेड जोन’मा परेका सडकखण्ड तथा सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने तथा वर्षातको कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ । 

काठमाडौं:   हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।  गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।  प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो  ।

पोखरा:    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित त्रयकालीन योजना सार्वजनिक गरेका छन् ।  आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । छ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई समेटिएको छ । दीर्घकालीन योजना अन्तर्गत एयर एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने, प्रदेशका मुटु, क्यान्सर र मृगौला रोगको उपचारको लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए ।  पाठकले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने, लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्मार्ण गर्ने, धौलागिरि अस्पताल बागलुङ, दमौली अस्पताल तनहुँ र मध्यविन्दु अस्पताल नवलपरासीमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीहरुलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाउने योजनालाई मध्यकालीन योजनामा राखेका छन् । उनले ६ महिना सम्पन्न गर्ने गरी विभिन्न शीर्षकमा ४० वटा योजनालाई समेटेका छन् भने २ वर्षमा पूरा गर्ने गरी ४९ वटा योजनालाई मध्यकालीनमा समेटेका छन् ।  करिब ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएका दीर्घकालीन योजना १० वटा रहेको पाठकले बताए । पत्रकार सम्मेलनमा पाठकले आफूले बनाएको तीन कालीन योजना अन्य प्रदेशका स्वास्थ्य मन्त्रालयको लागि मार्गदर्शन हुने दाबी समेत गरे । ‘स्वास्थ्य क्षेत्रका समस्या भुईस्तरबाट नै समाधान गर्ने उद्देश्य हो ।’ – उनले भने – ‘उद्देश्य प्राप्तिका लागि तीन कालीन योजना बनाउँदा लक्ष्यमा पुगिन्छ भन्ने विश्वास छ ।’  पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, महानिर्देशक खिमबहादुर खड्का र डा. रेखा पौडेलले मन्त्रालयको बारेमा बोलेका थिए ।

पोखरा:   पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गलकोट स्पोर्टस क्लब बागलुङले जितेको छ ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको आठौ संस्करणको खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोटले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।  छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनलाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जितेको हो ।  गलकोटले एपिएफलाई २५–१९, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको गलकोटले १ लाख ३० हजार, उपविजेता भएको एपिएफले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।  यस्तै आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ ।  धादिङ स्पोर्टसले फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।  छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।  धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो ।  तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ जित्दै धादिङले उपाधि जितेको हो ।  उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त ग¥यो ।  असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो ।