पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

बझाङ:    बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।  आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।  ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उहाँले जानकारी दिनुभयो ।       ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताउनुभयो ।  अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

मुस्ताङ:    मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार  गरिएको छ ।       ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एलटिएलआरपी) मार्फत एक शताप्ब्दी पुरानो पुल जीणोद्धार र सौन्दर्यकरण गरेको हो ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुलको मौलिकता नमेटिने गरी स्थानीय प्रविधि र सामग्रीको प्रयोगबाट जीर्णोद्धार गरिएको जानकारी दिनुभयो ।       “स्थानीय मौलिक सीप र प्रविधिको प्रयोगबाट एक सय वर्ष भन्दाअघि काठैकाठबाट बनेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो”, अध्यक्ष लालचनले भन्नुभयो, “बलियो काठ प्रयोग गरेर पुरानै शैलीमा जीर्णोद्धार गरिएको पुलमा लाइट जडान गरेर रातिमा झलमल्ल देखिने गरी सौन्दर्यकरण गरेका छौँ ।”       पच्चिस मिटर लामो पुलको जीर्णोद्धारका लागि रु १० लाख खर्च भएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । पालकाको ५८ प्रतिशत र एलटिएलआरपी परियोजनाको ४२ प्रतिशत लागत साझेदारीमा उपभोक्ता समितिमार्फत पुल जीर्णोद्धार गरिएको उहाँले बताउनुभयो ।         सोही परियोजनाअन्तर्गत काठको पुलबाट केहीमाथि रहेको मोटरेबल पुलको छेउमा रु २५ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जीणोद्धार भएको पुलले पर्यटक लोभ्याउन थालेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार पुल तर्ने, अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने आन्तरिक पर्यटकक आगमन बढ्न थालेको छ ।       जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना बनाउने, काठेपुलको रेलिङ फेर्ने र धेरै भार थेग्न सक्नेगरी साविक भन्दा थप बलियो बनाइएको छ । जोमसोमका ८९ वर्षीय टीकाप्रसाद शेरचनले यो पुल एक सय वर्षअघि निर्माण भएको बताउनुभयो ।       मुस्ताङका स्थानीयवासी, पशु चौपाया, दामोदरकुण्ड, मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री तथा घुम्न आउने पर्यटकलाई सुरक्षित रुपमा कालीगण्डकी नदी वारपार गर्ने सुविधाका लागि काठको पुल निर्माण भएको थियो ।  जोमसोमस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि काठको पुलको प्रयोग घटेको थियो । विसं २०४४ मा कालीगण्डकीमा आएको बाढीले क्षति गरेको पुल विसं २०७२ को भूकम्पका कारण बीचभागबाट चोइटिएको थियो । 

काठमाडौं:    निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ ।  उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।      साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ ।  यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।      काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ ।  बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । 

काठमाडौं:    चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।  जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।       देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।      दशनार्थीलाई सहज रुपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले आज साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । आज मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।      मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर मङ्गलबार साँझ दह तथा त्यस परिसरमा दिप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।      कलङ्कीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताउनुभयो । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।      इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का पूर्ववडाध्यक्ष राजेन्द्र केसीका अनुसार इन्द्रदहको परिसर करिब दुई सय रोपनीेमा छ ।  भ्यूटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।       भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।         कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ ।  बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

काठमाडौं:    बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।  नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर– ढाँसी’ सडकखण्ड स्तारोन्नतीको शिलान्यास गरिएको छ ।   गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका गाहामगरले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताउनुभयो ।   उहाँले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने बताउनुहुँदै सधैं जनमुखी काम गर्न तल्लिन रहेको उल्लेख गर्नुभयो ।     नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट निर्वाचित दोस्रो पटक निर्वाचित गाहामगरको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन भएको थियो ।    यस्तै कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीमगरले बताउनुभयो ।   उहाँले उक्त सडकखण्डक करिब ६ किलोमिटर रहेको बताउदै बुलिङटार गाउँपालिका ६ भित्रको रिङरोडको रुपमा निर्माण भइरहेको बताउनुभयो ।   ‘यो चाँही हाम्रै ६ नम्बर वडामा पर्छ । तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दैछ, उहाँले भन्नुभयो, ‘नाली बनाउने, ग्याबिङ गर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’   उहाँका अनुसार उक्त सडकस्तरोन्नतीको कामा पूर्वाधार विकास कार्यालयले ठेक्कामा लगाएको हो ।   सो आयोजना आफ्नै पालिकामा पर्ने भएकाले निर्धारित समयमै काम सक्नेगरी निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो ।     उहाँले ‘बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार’ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै यस क्षेत्रकै मुटुको रूपमा रहेको साबिक भारतीपुर रिङरोडको रुपमा ढाँसी– भारतीपुर हुँदै अत्रौली जोड्ने कामलाई पूर्णता दिन आफू अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।    यस्तै बुलिङटार गाउँपालिका ६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासलागि आफु अहोरात्र खटिएको स्मरण गराउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको थियो ।   आफ्नो क्षेत्रको सांसद गाहामगर, गाउँपालिका प्रमुख सुनारी र वडाध्यक्ष पाठकको कार्यशैली उत्कृष्ट र तदारुपताका साथ काम गरेको भन्दै कार्यक्रममा सहभागि स्थानीयहरुले प्रशंसा गरेका थिए ।

काठमाडौं:   स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।       यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।  मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ । 

पर्वत:     बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ ।  महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ ।  गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।  गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् ।   ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ । दश वर्षमा पूर्ण रूपमा फल लाग्ने अध्यक्ष भुसालले बताउनुभयो । एउटा बोटले दश वर्ष पुगेपछि चार हजार दुई सयभन्दा बढी दाना उत्पादन दिने अनुमान छ ।  गाउँपालिकाले प्रतिबिरुवा रु चार सय ४५ का दरले खरिद गरेर किसानलाई वितरण गरेको हो । बिरुवामात्र नभई खाडल खन्न र रोप्नका लागि पनि पालिकाले अनुदान पनि  उपलब्ध गराएको थियो ।  रोपेका सबै बोट हुर्किएर फल लागेमा अबको केही वर्षमा किसानले प्रतिफल पाउने छन् । जनशक्ति अभाव र बाँदर आतङ्कले बर्सेनि बाँझो जमिनमा ओखरका बिरुवा रोपिएका पालिकाले जनाएको छ ।  पालिकाले आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारसँग बाँझो जमिन सदुपयोग कार्यक्रमअन्तर्गत रु एक करोडको सम्झौता गरी ओखरखेती सुरु गरेको हो ।  बाँदर नियन्त्रणका लागि रु ३० लाख  खर्चेर बाँदर निकुञ्जमा लगेर छाड्ने अभियान थाले पनि नियन्त्रण हुन नसकेपछि पालिकाका किसानलाई कम क्षति हुने बाली लगाउनतर्फ उत्प्रेरित गर्न थालिएको छ ।  यसअघि गत वर्षदेखि व्यावसायिक तरुलखेती सुरु गरेको पालिकाले यस वर्षदेखि व्यावसायिक कागती र सुन्तलाखेती विस्तार गरेको छ । कागतीका १० हजार र सुन्तलाका १० हजार बिरुवा किसानलाई वितरण गरिएको थियो । त्यसैगरी यस वर्षदेखि मेडाडेमियानट खेती समेत थालिएको छ । जापानिज कटुसको नामले चिनिने मेकाडेमिया नटखेती यस वर्षदेखि परीक्षणका रूपमा लगाइएको छ । झण्डै सात हजार बिरुवा लगाइएको महाशिला गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो ।  यसअघि धान, मकै, कोदोलगायत बाली लगाउन छाडेर बाँझिएको अधिंकाश जमिन फलफूलखेती विस्तार अभियानले सदुपयोग भएको उहाँले बताउनुभयो ।