पर्वत: पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन् । नगरपालिकाले ती घरका भाडावापत वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ । नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका–६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास –५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ । आवास गृहमा न कर्मचारी बस्छन् न त नगरप्रमुख नै । नगरप्रमुख गङ्गाधर तिवारी आफ्नै वडा नं ३ शङ्करपोखरीमा तथा सदरमुकाम कुश्माबजारमा रहेको घरमा बस्नुहुन्छ भने केही कर्मचारी नगरले सम्झौता गरेको घरमा नबसी छुट्टै बस्दै आएका छन् । नगरपालिकाले नगरप्रमुखका लागि मासिक रु १५ हजारमा घरबहालमा लिएको छभने कर्मचारीका लागि मासिक रु १९ हजार पाँच सय भुक्तानी गर्दै आएको छ । पूर्व नगरप्रमुख पदमपाणि शर्माले आवासीय सुविधा लिनुभएको भए पनि वर्तमान नगरप्रमुख तिवारीले भने आवासीय सुविधा नलिनुको प्रमुख प्रशासकीय अधिृकत नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवासका लागि वार्षिक रु चार लाखभन्दा बढी भुक्तानी हुँदै आएको जनाउँदै सरोकारवालाले विरोध जनाएका छन् । नगरभित्रै खाली रहेका वडा नं ५ का पुरानो वडा कार्यालय, पुरानो पशु सेवा शाखा, फलेवास सिँचाइ आयोजना, तत्कालीन कृषि विकासको शाखा कार्यालयलाई प्रयोगमा ल्याउन समेत माग गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफू सरुवा भएर आउनुभन्दा पहिल्यैदेखि कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडा भुक्तानी हुँदै आएको जानकारी दिनुभयो । पुरानै सम्झौताका आधारमा दुवै ठाउँमा भाडा तिर्ने गरिएको जनाउँदै यसलाई दुरुपयोग भएकै भनेर नबुझ्न आग्रह गर्नुभयो । उहाँले ती भवनमा नगरपालिकामा आउने अतिथि पाहुनालाई राख्ने गरिएको दाबी गर्नुभयो । “भाडामा लिएको आवास नभएको भए होटल खोजेर वा कुश्माबजारमा पठाउनुपर्ने थियो, तर हामीले तीनै आवासमा अतिथिलाई व्यवस्थापन गर्ने गरेका छौँ”, कार्यकारी अधिकृत आचार्यले भन्नभयो, “नगरप्रमुखको आवासमा आफूलाई बस्न नगरप्रमुखले आग्रह गरेको भए पनि आफू अन्यत्रै बस्ने गरेको छ”, उहाँले भन्नुभयो । प्रयोगविहीन आवासको सम्झौता रकम भुक्तानी रोक्ने प्रक्रियामा आफूले छलफल थाल्ने उहाँले बताउनुभयो । यसैबीच नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण पनि तीव्रगतिमा भइरहेको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी प्रशासकीय भवन निर्माण भइरहेको नगरप्रमुख तिवारीले बताउनुभयो । खानीगाउँको झकलक चौरमा निर्माण सुरु भएको भवन ४२ कोठे हुनेछ । निर्माण कम्पनीले विसं २०७८ भदौमा निर्माणको सम्झौता गरेको भवन रु नौ करोड २ रुपैयाँको लागतमा बन्ने छ । डेढ वर्षमा भवन सम्पन्न गर्ने सम्झौता भए पनि केही ढिलाइ भएको नगरप्रमुख तिवारीले बताउनुभयो । नयाँ भवन सम्पन्नपछि अहिले चलिरहेको अस्थायी भवनमा कर्मचारीको आवास सर्ने भएकाले घरभाडा तिर्नुपर्ने समस्या नुहुने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराउनुभएको थियो ।
काठमाडौं: नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पाँचथर: फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्केका छन् । घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यद्यपि अहिले उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ती बालबालिका खेल्ने क्रममा विस्फोट भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
काठमाडौं: पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुनुहुन्छ । यस्तै, टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिनुभयो । कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे हुनुभएको निर्वाचन संयोजक आचार्यले बताउनुभयो । पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताउनुभयो । यस्तै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नवलपरासी: बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गर्नुभयो । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उहाँले भन्नुभयो । टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताउनुभयो । “भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो, “अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।” कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताउनुभयो । “तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।” भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।” समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
काठमाडौं: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ । त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए । नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।
काठमाडौं: सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा९एमाले० निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
काठमाडौं: युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो । प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।

