पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

पोखरा:   पोखरा महानगरपालिका–३ नदीपुरमा यही आउँदो भदौ ४ र ५ गते खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  फोर बदर्श पोखरा र लभर्स ट्रि रेष्टुरेन्ट पोखराको सुयुक्त आयोजनामा पोखरा–३ नदीपुरमा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक समित गुरुङले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विजेताले ६० हजा, उपविजेताले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १ टिमलाई ४ हजार रुपैयाँ शुल्क कायम गरिएको आयोजकले जनाएको छ ।  भदौ ४ र ५ गते हुने खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता पोखरा–३ नदीपुरस्थित इलाइट भलिबल एकेडेमीको कोर्टमा हुनेछ ।  खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताका खेलकुद संयोजक मलिन रोका मगरले युवाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।  ‘हामीले ४ जना युवाहरुको सक्रियतामा पोखरा–३ नदीपुरमा इलाइट भलिबल एकेडेमी सञ्चालन गरेका छौं, एकेडेमीमा युवा÷युवतीहरुलाई ग्रास रुटबाट नै भलिबल प्रशिक्षण गराउने उद्धेश्यले एकेडेमी सञ्चालन गरेका हौं’, रोकाले भने, ‘एकेडेमी सञ्चालन गर्दै गर्दा युवाहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ खेलकुद संयोजक रोकाले खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा युवाहरु लक्षित भएकाले राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जना खेलाडी मात्र टिममा समावेश गर्न पाइने बताए । ‘खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा हामीले विशेष गरी ग्रास रुट र भलिबलमा सिक्दै गरेका युवाहरुलाई लक्षित गरेका छौं’, उनले भने, ‘प्रतियोगितामा राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जनालाई मात्र समावेश गर्न पाइने नियम बनाएका छौं ।’    

तनहुँ:   तनहुँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ ।  गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो ।       उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा विनयकुमार शाहले जानकारी दिनुभयो ।    उहाँका अनुसार प्रतिहलगोरु रु चार हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार तीन सय ४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ । यस कार्यक्रमका लागि सुरुमा रु १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताउनुभयो ।       गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उहाँको भनाइ छ ।       गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिनुभयो ।  आव २०७९/८० मा दुई सय ५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो । प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन् ।      गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै किसानलाई बैङ्किङ प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

काठमाडौं:     जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन । यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं:    नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।  हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिनुभयो ।

गोरखा:     गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन ।  पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नु भएका उहाँलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना हुनुभएको छ । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना हुुनुभएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थाल्नुभएको हो ।      “अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,” उहाँले भन्नुभयो, “शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।” सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उहाँलाई दुःख लाग्ने गरेको छ ।      बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताउनुभयो तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उहाँको भनाइ छ ।        “जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ”, उहाँले भन्नुभयो, “अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ ।” विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि  विद्यालयमा पढ्न थाल्नुभएको हो ।      कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उहाँको भनाइ छ । “गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भन्नुभयो, “बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ ।”      कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै सङ्गत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उहाँ बताउनुहुन्छ । “नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबिबिएस पूरा गर्छु, उहाँले भन्नुभयो, “त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।”      उहाँलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । “मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,” उहाँले भन्नुभयो, “इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ ।” विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउनुहुन्छ ।      घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन् । विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताउनुभयो ।  “विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,” प्रधानाध्यापक आर्चायले भन्नुभयो, “उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।” कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उहाँले बताउनुभयो ।

बागलुङ:    बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।  पहिरोमा परेका  सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी गरिरहेको छ ।  पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।  अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । झब्रिखेत बस्ती जोखिममा  यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो । हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताउनुभयो । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।  

काठमाडौं:    प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।      सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।      गोङ्गबुँ र नरेफाँटबाट लागुऔषधसहित चार पक्राउ      यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद रु ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।  सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।       काठमाडौंको नरेफाँटबाट अवैध लागुऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरुको डेराबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:     सरकारले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो । मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।  परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गर्नुभयो । उहाँले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो । ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले नेपालीहरूको परिश्रम र इमान्दारीको प्रशंसा गर्नुभयो । दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहकार्य एवं साझेदारीलाई अझ घनिभूत तुल्याउन दृढता पनि व्यक्त गरेका छन् ।   परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो । सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ ।

काठमाडौं:    देशभर मनसुनी वायुको प्रभाव रहेको र  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ ।  त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।