पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

कास्की:   कास्कीमा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् ।  नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग दुई सय ४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग एक सय ६२, पर्यटन उद्योग एक सय ६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् । सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।  यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् । “नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो ।   कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।   यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । 

पोखरा:  नवनिर्वाचित पोखरा चेम्बर अफ कमर्स कास्की र फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ ।   फिस्टेल ड्रिमपार्कले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धि सम्झौता गरेको हो ।   सो सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे ।   सम्झौता अनुसार चेम्बरका सदस्यले उक्त पार्कमा २५ प्रतिशत छुट पाउनेछन् ।   पोखरा १७ मा रहेको फन पार्क पछिल्लो समय लोकिप्रिय बन्दै गएको छ ।   

बागलुङ:    अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ ।       बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो । यस्ता विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालिएको हो ।        विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा सुरू गरिएको जानकारी दिनुभयो । केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको बताउनुभयो ।       भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उहाँले बताउनुभयो । “मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरू भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए, विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौँ, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ,” केसीले भन्नुभयो, “गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना पु¥याउन सफल भएका छौँ, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी बढेका छन्, खासगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिनेछ ।” सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । करिब रु ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर रु २० लाख भित्र्याइएको उहाँले बताउनुभयो ।       बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताउनुभयो ।  

चितवन:     नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि आइतबार साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।       नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।       आज दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उहाँले जानकारी दिनुभयो ।       नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो ।       उक्त बाघले हिजो बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

दाङ:     दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ ।  शुक्रबार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव आज फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा शव भेटिएको हो ।       शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नंको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए । बेपत्तामध्ये तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आलेको शनिबार ग्वारखोलामा शव भेटिएको थियो । मञ्जु सीताकी नातिनी हुन् ।  अटोमा पाँचजना सवार थिए । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीया सुशान्त आले भने सकुशल छन् ।  

कास्की:  आफ्नै सपिङ सेन्टरमा विमा रकम असुल्नका लागि आगो लगाएको आरोपमा पोखरामा १ जना पक्राउ परेका छन् ।   उक्त गतिविधि गर्न उक्साउने अर्का एक जनालाई समेत कास्की प्रहरीले सार्वजनिक गरेको छ ।   कास्की प्रहरीले सार्वजनिक गर्नेमा मुख्य योजनाकार सुजन गहतराज र सहयोगी पवन नेपाल रहेका छन् ।    सुजनले उक्त पसलको न्यूरोड शाखाको हिमालयन एभरेष्ट इन्स्युरेन्समा २ करोड १० लाखको विमा गरेका थिए । सोही रकम असुल्ने योजनासहित आगो लगाएको बयान दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।   उनका अनुसार उनलाई उक्त कार्य गर्न पवन नेपालले उक्साएका थिए ।   पवलने यसअघि पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालिक सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्युरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ लिएको बताएपछि सुजनले उक्त हर्कत गरेको एसपी थापाले बताए ।   सुजन र पवन मिलेर गत लेकसाइडको मुक्तिानाथ सपिङ सेन्टरमा गत १७ गते आगजनी गरेका थिए ।   पक्राउ परेका दुई उनीहरुमाथि आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

कास्की:    पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् ।   शनिबार भएको पाँचौ वार्षिक साधारणा सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित ३६ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद सुवेदी चयन भए ।   यस्तै उद्योग उपाध्यक्षमा नवराज आचार्य, वस्तुगत उपाध्यक्षमा नवीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल, महासचिवमा गोकर्ण अधिकारी चुनिए ।   सो समितिको सचिवमा सिमा कोइराला र सरिता सुवेदी, कोषाध्यक्षमा जीवन ढुंगाना, सहकोषध्यक्षमा बोधराज सुवेदी छानिए ।    यसैगरी कार्यसमिति सदस्यहरुमा तुलसी दाहाल (इकाई), जुना अधिकारी (खुला सदस्य), सुरेन्द्र बास्तोला (वस्तुगत), पूर्णकुमार श्रेष्ठ (वडा सदस्य), नगेन्द्र प्रसाद शर्मा (महानगर),श्री राम गौतम (करपोरेट सदस्य), विर बहादुर थापा (वस्तुगत सदस्य), कृष्ण प्रसाद साह (खुला), सिविन्द्रराज भण्डारी (खुला), शम्भु अधिकारी (खुला), गोकर्ण क्षेत्री (सदस्य इकाई), जमुना पौडेल (खुला)  चयन भए ।   यस्तै राधा कृष्ण पोखरेल (खुला), प्रेम राज बसौला (नगर सदस्य), मनोज सुनार (वस्तुगत), विनोद भुजेल (करपोरेट), दुर्गा प्रसाद श्रेष्ठ (वस्तुगत), जगदिश खनाल (खुला), वविता मल्ल (खुला), गोविन्द खड्का (खुला),  रमिता पौडेल ढुंगानाा, कृष्णराज पोखरेल (उद्योग), परमेश्वर दवाडी (उद्योग), गोकर्ण कार्की (खुला), महेश्वर दवाडी (पालिका) र मनोहर दाहाल (खुला) चयन भएका छन् ।   यसअघि कार्यक्रमको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरेकी थिइन् ।

काठमाडौं:    नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्ला)ई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।      सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो ।  को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।      बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो ।  करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो ।       निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भन्नुभयो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।

धनगढी:    सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।  उनले कांग्रेस र नेकपा (एमाले) का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दाबी गर्न २७ जनाको समर्थन आवश्यक पर्नेमा उनलाई २९ जनाको समर्थन छ ।  आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह प्रदेश सभाको यही कार्यकालमा दुई पटक मुख्यमन्त्री बन्ने छन् । यसअघि उनले १४ महिना सरकार चलाएका थिए । उनी सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री बन्दै छन् ।  नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुनेछ । प्रदेश प्रमुख मियाँले आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिएका छन् ।