गण्डकी: प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिए पनि प्रदेशमा सत्ता साझेदारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुवै दलले कुराकानी गरेका छैनन् । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नयाँ सरकार गठनबारे कांग्रेससँग अब छलफल सुरु गरिने जानकारी दिनुभयो । “पार्टी केन्द्रको निर्देशन र सुझावका आधारमा हामी अगाडि बढ्छौँ, यहाँ मुख्यमन्त्री र उहाँको दलले कसरी प्रस्ताव ल्याउँछ त्यसपछि बल्ल एमाले सरकार जाने विषय टुङ्गो लाग्छ”, उहाँले भन्नुभयो, “प्रदेशमा रहेका अरू साना दललाई सरकारमा समेट्ने या नसमेट्ने भन्ने विषय पनि सत्ता साझेदार मुख्य दुई दलबीचको सहमतिमा मात्र निर्णय हुन्छ ।” गण्डकीमा अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य, नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थनमा उहाँले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । सरकारमा नेसपाका देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङ मन्त्रीसमेत हुनुहुन्छ । राप्रपालाई पनि प्रदेश सरकारमा समेट्ने तयारी भइरहेकै बेला केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले त्यो प्रक्रिया रोकिएको थियो । गण्डकीमा दुई ठूला दल मिल्दा दुई तिहाइ बहुमत पुगे पनि मुख्यमन्त्री पाण्डेका लागि सरकार पुनर्गठनको विषय त्यति सहज देखिएको छैन । सङ्कटका बेला साथ दिएका साना दललाई सँगै लिएर सरकार बनाउने मुख्यमन्त्रीको चाहनामा एमाले सहयोगी बन्छ कि बाधक त्यसले नयाँ सत्ता साझेदारीको खाका तय गर्ने देखिन्छ । कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेसहित विगतमा कांग्रेसलाई सहयोग गरेका दलहरुलाई समेटेर सरकार पुनर्गठन हुने जानकारी दिनुभयो । “हिजो कठिन अवस्था साथ दिएका दलहरुलाई बाहिर राखेर हामी मात्र सरकार सञ्चालन गर्ने भन्ने पक्षमा कांग्रेस छैन, एमालेसहित हिजो मुख्यमन्त्रीलाई विश्वासको मत दिने दल र स्वतन्त्र प्रदेशसभा सदस्यको पनि उचित व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारलाई समर्थन गर्ने सबै दललाई मिलाएर लैजाने विषयमा मुख्यमन्त्री प्रस्ट हुनुहुन्छ, बाँकी विषय दलहरुबीचको छलफलबाट टुङ्गिन्छ ।” उहाँले गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने निर्णय भइसकेकाले अब सरकार पुनर्गठनका विषयमा दलहरुबीच प्रदेशतहमा छलफल सुरु हुने बताउनुभयो । “अहिलेसम्म नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार बनाउने विषयमा औपचारिक छलफल भएको छैन”, उहाँले भन्नुभयो, “एक–दुई दिनभित्रैमा सरकार पुनर्गठनको विषयमा सहमति जुट्छ ।” कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले कांग्रेसका २७, राप्रपाका दुई, नेसपाका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाउनुभएको थियो । एमालेका २२ र माओवादी केन्द्रका छ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । त्यसअघि मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।
बलेवा: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा। ऋषिराम सापकोटाले बताए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ । विज्ञ केन्द्रले अघिल्लो आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई अनुदान उपलब्ध गराएको थियो । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।
काठमाडौं: यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो । सो अवार्डले नेपाललाई विश्वभरका क्रिकेट फ्यानसँग जोडिने थप आधार बनेको नेपाल क्रिकेट एसोसिएसनले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । ‘यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली’ ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’ उहाँले लेख्नुभएको छ ।
काठमाडौं: नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ । उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई पराजित गरी सुखद सुरुवात गर्न चहान्छ । जेनिशा विश्वकर्माको कप्तानीमा उत्रने नेपालसँग घरेलु भलिबलमा प्रभाव जमाउन सफल खेलाडीको साथ रहेको छ । टोलीसँग जेनिशासँगै सलिना बुढा मगर, मीना सुनार, निशा महर, निशा चौधरी, एलिसा मानन्धर र लिवेरो एन्जिला प्रधानको साथ रहेको छ । यस्तै टोलीमा भावना तामाङ, आरती चौधरी, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री पनि छिन् । यि खेलाडीले निरन्तर सिनियर स्तरको घरेलु भलिबल प्रतियोगिता खेलिरहेका छन् । तर, टोलीमा मिडल ब्लकमा समस्या निम्तन सक्नेछ । प्रशिक्षण टोलीले स्पाइकर पोजिसनमा खेलिरहेका निशा चौधरी र एलिसा मानन्धरलाई मिडल ब्लकमा तयार पारिरहेको छ । नेपालले महिलातर्फ पहिलोपटक उमेर समूहको भलिबलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि पुरुषको यु–२३ टोलीले बंगलादेशमा प्रतिस्पर्धा गरेको हो । नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । आइतबार कुनै खेल हुनेछैन । सोमबार सेमिफाइनलका दुई खेल हुनेछ । मंगलबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिप १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ । यू–२० महिला टोलीः जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री मुख्य प्रशिक्षक – कुमार राई, सहायक प्रशिक्षक – अर्जुन घिमिरे, टिम व्यवस्थापक – जुनु पुनमगर
काठमाडौँ: गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ । यहाँ काठमाडौँ महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।
गोरखा: गोरखाको बेनिघाट–आरुघाट सडखण्ड अवरुद्ध भएको छ । ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । गतवर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । “सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भने, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न असहज भएको छ ।”
देशभर मनसुनको प्रभाव यथावत छ। बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। बिहीबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
पोखरा: गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । “प्रविधि मैत्री शिक्षा आजको आवश्यकता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं ।“, उनले भने । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिएका छन् । एमआइटी एआई कार्यक्रमको सार्वजनिकिकरण सङ्गै प्रचारप्रसारको समेत आवश्यक्ता रहेको भनाई उनको छ । विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडी बढाउनुपर्ने विषय उनले उठाएका छन् । गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतनमा बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ । विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताए । एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने भनाई उनको छ । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको भनाई उनको छ । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने उनले बताए । रजिस्ट्रार कैलाश तिमिल्सिनाले २०७६ सालबाट संचालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी गराए । पोखरा ३२ मा आफ्नै संरचना खडा गरि आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउदै आएको उनले बताए । विश्वविद्यालयले आविस्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको उनले उल्लेख गरे । कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको उनले जानकारी गराए । विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारलाई उनको आग्रह छ ।
पोखरा: युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थीहरु अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई कालान्तर सम्म शिक्षामा सहयोग पुुग्ने उनको भनाइ रहेको थियो । युुनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउदै युनाइटेड क्लव पोखराको सहयोगले उनीहरुको शिक्षामा थप उर्जा मिलेको समेत लालचनले बताए । त्यस्तै क्याम्पसका प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जो कोही बिद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकोमा युनाइटेड क्लव परिवार प्रति आभार प्रकट गरिन । युनाइटेड क्लबले युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल अभिप्रायका साथ अगाडी बढेकाले त्यसको सिको गर्न समेत बिद्यार्थीहरुलाई पराजुलीले आग्रह गरिन । क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमालले युनाइटेड क्लवले देशभरिमा सामाजिक काम गर्दै आइरहदा पोखरा बहुमुखी क्याम्पसको शैक्षिक बिकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गरे । अक्षयकोषले विद्यार्थीहरुले विउको रुपमा लिनुपर्ने वताउदै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकाहरुलाई सो रकम फिर्ता अभियानका रुपमा आफुले लिएको बताए । आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताए । सो अवसरमा वोल्दै क्याम्पसमा अध्ययनरत छात्रा अस्मिता ठकुरीले युनाइटेड क्लब पोखराले आफुहरुको क्याम्पसमा आएर अक्षयकोष स्थापना गरी सम्पूर्ण विद्यार्थीहरुलाई पढाइ प्रति लगाव राख्न थप मदत गर्ने बताइन । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखी हाल सम्म आइपुुग्दा एक दर्जन वढी विद्यालयहरुमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताए । क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । पछिल्लो समय नेपालबाट उच्च शिक्षाको नाममा विदेशिने क्रम वढ्दै जाँदा विद्यार्थीहरुले पनि ब्यवहारिक शिक्षाका लागि पहलकदमी थाली स्वदेशमै व्यवहारिक शिक्षाको लागि सरकारलाई सचेत गराउन विद्यालय स्तरबाटै विद्यार्थीहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो । क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य लगायतको सहभागीता रहेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन युनाइटेड क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।

