तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया संगीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
पोखरा: फेवातालमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । फेवातालमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको नौडाडा घर भएका सञ्जय भण्डारीको मृत्यु भएको हो । फेवातालमा पौडी खेल्न भएका ५ जना मध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाडा घर भएका २५ वर्षीय भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । पौडी खेल्ने क्रममा मृत्यु भएका भण्डारी लेकसाइडस्थित क्विन पार्कमा काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्न गएका बाँकी ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । भण्डारीको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको विद्यालयमा प्रावि तहमा कक्षा नर्सरीदेखि एकसम्मका सम्पूर्ण विद्यार्थीहरुले शिक्षिकाहरुको साथमा बिऊ रोप्ने कार्य सम्पन्न गरिएको हो । हिले महिना असारको अवसर पारेर साना बालबालिकाहरुलाई बिऊ रोप्ने र उमार्ने तरीका सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्राध्यानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आधारभुत (जुनियर) तर्फ भएको गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण सदनबाट सिद्धान्त केसीको समूह प्रथम र कञ्चनजङ्घा सदनबाट मुस्कान भण्डारीको समूह द्वितीय भए । उनीहरुलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन गणित शिक्षक लिलाबहादुर बिकले गरेका थिए ।
गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ। एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ। भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ। यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए। उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्। फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ। फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए। शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्। सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्। विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
पाल्पा जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको छ । नगर सभाको १५ औं अधिवेशनबाट ७३ करोड ८५ लाख चार हजारको बजेट सार्वजनिक गरेको हो । चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख चार हजार बजेट विनियोजन गरिएको गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र दुई करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको छ । सार्वजनिक गरेको बजेटले कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ । नगरपालिकाले आयतर्फ सङ्घीय समानीकरण अनुदान १२ करोड ६ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड ६ लाख, सङ्घीय समपूरक पुँजीगत एक करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख चार हजार, सङ्घीय सशर्त पुँजीगत एक करोड २० लाख, प्रदेश समानीकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँट ८१ लाख ४० हजार, प्रदेश समपूरक एक करोड पाँच लाख, प्रदेश सशर्त एक करोड र आन्तरिक स्रोतबाट नौ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरेको छ ।
बुटवल मिलनचोकको डेल्टा एजसकेसन मार्टमा बिहीबार भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा बल्ल नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो । मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ । १० वटा दमकलसँगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुईं तलाको आगो भने बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए । मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभीत भएका थिए । मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिए पनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।

