काठमाण्डैँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएकोे छ । सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो ।
काठमाण्डौँ : आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो । गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् । लुङ्ग्रीका अध्यक्ष भरत थापाले भन्नुभयो, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ । ” सो गाउँपालिकाको रु २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमितिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो ।
धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ । खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिनुभएको छ । पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उहाँले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहनु भएको छ ।
म्याग्दी ः म्याग्दी सदरमुकाम बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतम बिहान ५ बजे नै उठेर बेनी बजारको मंका खलःको भवनमा योग गर्न आउनुहुन्छ । गौतमजस्तै ३० भन्दा बढी सर्वसाधारण सोही समयमा योग गर्नका लागि योग कक्षामा हाजिर हुन्छन् । पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो । नवीन आनन्द योग केन्द्र म्याग्दीले विहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताउनुभयो । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् । नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन । तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले बताउनुभयो । दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएका योगगुरु जुग्जालीले बताउनुभयो । “म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, बेनीको कालीपुलस्थित संगम हाडवर्यरका सञ्चालक सुरेन्द्र गौतमले बताउनुभयो । “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ । बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् । बेनी नगरपालिका–७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो । नवीन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।” योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।
लमजुङ : लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताउनुभयो । गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ हुन्थ्यो । यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उहाँको भनाइ छ । जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ । केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुँवा, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा बढी धान उत्पादन हुने गरेको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
चितवन : शनिवार विहान करिव ८ बजेको समयमा कुमरोज सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी छिन् । खैरहनी नगरपालिका– १३ बस्ने बर्ष ३८ की बालिका गुरुङ्गलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार घाईतेको अवस्था गम्भीर छ । घाईतेको अहिले मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोछ । चितवनमा पछिल्लो समय बाघको आक्रमण वढेको छ । पछिल्लो एक वर्षमा चितवन निकुञ्ज वरपरका वनक्षेत्रमा मात्रै बाघको आक्रमणवाट १६ जनाको मृत्यु भैसकेको छ ।
काठमाडौं : मनसुनी वायुको प्रभाव हाल देशभर रहेका कारण केही दिन अझै पानी पर्नेछ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार प्रकाशित विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
पाँचथर : अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

