काठमाण्डौँ : छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली सर्वाजनिक गरेको हो । गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो । लिखित र मौखिक परीक्षामा भाग लिई दुवै परीक्षामा औसतमा उच्च अङ्क प्राप्त गर्ने ६६० जनालाई छनोट गरिएको विभागले जनाएको छ । भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४, भन्सार एजेन्ट परीक्षा सञ्चालन कार्यविधि २०७७ र भन्सार विभागको निर्णयानुसार परीक्षा सञ्चालन गरिएको विभागले जनाएको छ । विभागले २०७७ को चैत १६ गते ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो । दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्टमात्रै रहेका छन् । यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात–निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
पोखरा : स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।
चितवन : जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौँ : देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर ( नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ ।
लमजुङ : गएराती परेको अविरल वर्षाका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका ७ भोजेका सोमा विश्वकर्माको घरमा पहिरोले क्षति पुर्याएको छ । मंगलबार परेको अविरल वर्षाको कारण क्व्होलासोथार गाउँपालिका ७ का सोमा विकको घरमा क्षति पुर्याएपछि परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्व्होलासोथार ७ का वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएकाले छ । केही दिन यता अविरल वर्षाको कारण देशको धेरै ठाउँमा बाढी पहिरोको जोखिम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्दै आएको छ ।
पोखरा : पोखरामा आयोजना हुने छैटौं सस्करणको पोखरा स्पोर्टस अवार्डलाई अमेरिकाबाट समाजसेवी तथा अभियान्ता सरिता गुरुङले साथ दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहीं असार १८ गते शनिबार हुने अवार्डलाई उनले नगद सहयोग गर्ने भएकी हुन् । अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार सरिताले अवार्ड सफल बनाउन नगद १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । पोखरा घर भई हाल अमेरिका बस्दै आएकी सरिता विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । यसैगरी हाल जापानमा रहनुभएका मञ्चका पूर्व अध्यक्षद्धय मोहन घले र प्रेम नारायण न्यौपानले समेत अवार्डलाई साथ दिएका छन् । उनीहरु दुवै जनाले जनही १५ हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक रञ्जितले बताए । पूर्व अध्यक्ष घले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष समेत हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्च गण्डकीका महासचिव राजाराम पौडेलको भनाई छ । कार्यक्रमको थप आर्कषर्णको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले समेत सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
बागलुङः अविरल वर्षाका कारण बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कस्थित दन्ठुमा पहिरोले एक घर र गोठमा क्षति पुर्याएको छ । मंगलबार राति बेलुका करिब साढे ८ बजेको समयमा पहिरो जाँदा स्थानीय राम बहादुुर क्षेत्रीकोे घर र गोठमा क्षति पुर्याएको हो । घर माथिदेखि बारी भत्काउदै आएको पहिरोले घर र गोठमा पूर्ण क्षति पुर्याएको छ, ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले सुनगाभा न्यूजसँग भनिन्, ‘घर पूर्णरुपमा क्षति भएपछि अहिले क्षेत्रीको परिवार टोप बहादुर दर्जीको घरमा आश्रय लिएर बसेका छन् ।’ उनले पहिरोमा पुरिएको घरका अधिकांश समाग्रीहरु झिक्न नसकेको जानकारी दिइन् । ‘घरगोठमा क्षति पुर्याएपछि मोबाइलसहित विभिन्न अत्वाश्यक सामानहरु समेत पहिरोमा परेको छ, सदस्य पुनले भनिन्, ‘त्यै पहिरोको कारण स्थानीय चित्र बहादुर क्षेत्रीको घर समेत जोखिमा परेको छ ।’ अझै पानी थप पर्दै गयो भने तलका बस्तीलाई जोखिम हुने देखिएको छ ।’ वर्षाका कारण अमरभुमी स्वास्थ्य चौकीको पुरानो भवनमा समेत पहिरोको जोखिममा परेको उनले बताइन् ।

