पोखरा : आगामी आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले सवारी करसहित अन्य सात विषयमा ध्यानाकर्षण गराएका हुन् । सवारी करमा गरिएको भारी वृद्धि तत्काल फिर्ता गर्न, ६/६ महिनामा सवारी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गर्न, यातायात कार्यालयमा भएको व्यापक बेथिति नियन्त्रण र छानबिन गर्न, प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल र ११ वटै जिल्ला अस्पतालहरुमा तत्कालै आवश्यक जनशक्ति पूर्ति गरी जनतालाई सहज पहुँचको व्यवस्था गर्न, विद्यार्थीलाई सवारी साधन र स्वास्थ्य सेवामा प्रदेशमा पूर्ण सहुलियत व्यवस्था गर्न, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन, ट्याक्सी व्यवसायीबाट मिटर तथा भाडादरमा भएको लापबरबाहीको छानबिन गर्न दुई संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । संघ सरकारले महँगीको उपहार दिइरहँदा प्रदेशमा सवारी कर र जाँचपासको बाध्यकारी व्यवस्था गरेर जनताको जीवनस्तर कष्टकर नबनाउन दुई संगठनले माग गरेका छन् । ‘संघ सरकारले जनताको ढाड भाँचिने गरी महँगीको उपहार दिइरहेको बेलामा प्रदेश सरकार अझै एक कदम अगाडि बढेर करका दरहरु वृद्धि गर्दै सवारी करमा ६/६ महिनामा रिन्यु गर्नुपर्ने बाध्यकारी व्यवस्थाले गण्डकी प्रदेश सरकारलाई नै गिज्याइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताको जीवन कष्टकर बनेको छ । सत्ताभन्दा बाहिर जनता छन् भन्ने प्रदेश सरकारलाई जानकारी गराउन चाहन्छौँ ।’ सरकारको ध्यानाकर्षण गराउन युवा संघका प्रदेश अध्यक्ष शिवबहादुर गुरुङ (महेन्द्र), अनेरास्ववियुका प्रदेश अध्यक्ष प्रकाश पौडेल, प्रदेश सचिव आरके पोख्रेरललगायत पुगेका थिए । भेटमा मुख्यमन्त्री पोखरेलले सवारी साधनको अवस्था पहिचान गर्न ६/६ महिनामा सवारी जाँचपासको व्यवस्था ल्याएको बताए । कर भने साना गाडीलाई नभई ठूला गाडीलाई राजस्व लिनका लागि बढाइएको उनले दाबी गरे । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६/६ महिनामा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ । ६ समूहमा वर्गीकरण गरेर सवारी कर १० हजार रुपैयाँसम्म बढाएको छ । दुई पांग्रे सवारी साधनदेखि हेभी इकुपमेन्टसम्म सरकारले नवीकरण तथा वार्षिक सवारी कर बढाएको हो ।
पोखरा : पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो वार्षिकोत्सव अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरे । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पाल्पाली समाज पोखराले लामो समयदेखि गर्दै आएको सामाजिक क्रियाकलापलाई आपूmले नजिकबाट हेरेको बताए । उनले पाल्पासँग पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा स्ट्रिट नम्बर राख्ने तयारी गरिएको पनि जानकारी दिए । नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की अध्यक्ष वीरेन्द्र पराजुलीले रक्तअभाव खड्किएको माग पूरा गर्दै आफ्नो संजाल ३५ जिल्लामा बिस्तार भएको जनाए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अन्य चिजबस्तु जस्तो रगत बनाउन नसकिने र यसको मद्दतले मानवको जीवन बाँच्न सक्ने भएकोले रक्तदान जीवनदान र जीवनदान महादान भएको उल्लेख गरे । सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनकर्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारी लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं संस्थाका सचिव रेशम रचकले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र पोखराले गरेको हो । पहिलो रक्तदाता सेयर सदस्य इन्दिरा पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रम सहकारीको कार्यालय पोखरा ९, नयाँबजार परिसरमा भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको पाल्पाली समाज पोखराका अध्यक्ष समेत रहेका सहकारी सचिव रचकले बताए । सहकारी वार्षिकोत्सव अवसरमा केही दिनअघि आनन्दित गृहमा युरोगार्ड सहयोग गरिएको थियो ।
पोखरा : गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो । पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहाले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानिसहरु सुखको खोजीमा लाग्ने प्रबृत्तिमा लागेको भन्दै उहाँले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने तर्क गर्नुभयो । भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो । सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताउनुभयो । “अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् ।
झापा : सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ । सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ । यता रतुवा खोलाले गौरादह–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् । गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् । वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल–बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
काठमाण्डौँ : मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गर्नुभएको थियो । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गर्नुभएको छ । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उहाँले बताउनुभयो । गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ । स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न गाह्रो भएको छ । पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले खट्टेबाट जाने गरेका थिए । त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ । मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन् । तर हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छ । हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो । सो पुलभन्दा माथिल्लो क्षेत्रमा यात्रा गर्न गाह्रो रहेको स्थानीयवासी हस्त पण्डितले बताउनुभयो । बिरामी हुुँदा र खाद्यान्न ढुवानीमा समस्या पर्ने गरेको उहाँको भनाइ छ । सरकारले सकेसम्म चाँडो यहाँको समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । असार लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारीले बताउनुभयो । खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उहाँ र उहाँको परिवारमा छ । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ ।” असार सुरु भएसँगै भारी वर्षाका कारण नदीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नदीमा बनाइएका अस्थायी संरचनामा बाढीले क्षति पुर्याउन थालेको छ । गत वर्षको बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि मेलम्ची तथा हेलम्बु क्षेत्रको माथिल्लो भेगका स्थानीयवासीले कष्टकर जीवन बिताउँदै आएका छन् । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुल र ईन्द्रावती पाँच पोखरी जोड्ने अस्थायी पुलमा क्षति पुगेपछि आवतजावत बन्द छ । वैकल्पिक बाटो प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पालिकावासीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वैकल्पिक बाटो सुधारको काम गरिरहेका छौँ ।” प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षायाममा आउने बाढीपहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको अभाव छ । मेलम्ची खानेपानी आयोजना भन्दा माथिको तटीय क्षेत्रमा अझै पनि जोखिम रहेको छ । सो विषयमा खानेपानी मन्त्रालयसँगको समन्वयमा एशियाली विकास बैंकले अध्ययन गरेको थियो । पूर्वतयारी गरिरहेको तथा विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणको काम पनि भइरहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । यस वर्षको सङ्घीय सरकारले बजेटमा मेलम्चीको फट्टे र इन्द्रावती नीदमा पुल बनाउन बजेट विनियोजन गरेको छ । चाँडै पुल सम्पन्न भएर नागरिकको जनजीवन सजिलो हुने यहाँका पालिकाको अपेक्षा छ । अस्थायी पुलमा क्षति पुगेसँगै मेलम्चीहुदैँ पाँच पोखरी, इन्द्रावती, हेलम्बुलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ । सरकारले गत वर्षदेखि नै वैकल्पिक सडकको कुरा उठाउँदै आए पनि त्यो पूरा नहुँदा नागरिकको जनजीवन सजिलो हुनसकेको छैन । पुल बजारबाट अम्बाथानसम्मको सडक निर्माण मेलम्ची खानेपानी आयोजनाले गरेको थियो । वर्षा पहिले आयोजना कुनै पनि काम नहुने हुँदा सडक निर्माण र मर्मत गर्ने तत्काल योजना आयोजनाको छैन । स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले पालिकाले सडक खुलाउन लागेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाहरुले आयोजनासँग सडक निर्माणका लागि रकम माग गरिरहेका छन् ।” गतवर्ष वर्षामा क्षति भएको चनौटे पुल बगाएपछि बेलिब्रिज बनेको छ । त्योभन्दा माथि फलामको पुल बनाइएको भए पनि अहिले क्षति भएको छ । त्यो ठाउँमा गाडी जाने गरी बनाउन सकिन्छ कि सकिँदैन भनेर पहिले बुझ्नुपर्ने उहाँले बताउनुभयो । अहिलेका लागि वैकल्पिक सडक नै यी पालिकामा सडक सञ्जाल जोड्ने विकल्प भएको आयोजनाले जनाएको छ । सुन्दरीजल हुँदै अम्बाथान पुग्ने सडक खोल्ने काम केही अघि बढेको छ । हेडवर्कमाथि ठूलो चट्टान तोड्न समय लागेको र त्यो सकिएपछि पहुँच पुग्ने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक खोलेपछि अरनिको राजमार्ग अवरुद्ध हुँदा पनि त्यसको विकल्प बन्न सक्छ ।” वैकल्पिक सडक निर्माणका लागि आयोजनाले चालु आवमा ट्र्याक खोल्ने र स्तरोन्नति गरेको छ । सडक विभागबाट ठेक्का निस्केर काम अघि बढाइने उहाँले बताउनुभयो । गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएपछि अस्थायीरूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो । गत वर्ष क्षतिग्रस्त संरचना बनिनसक्दै पुनः यो वर्ष वर्षाले यहाँका सडक र संरचनामा क्षति पु¥याउन थालेको छ । मेलम्ची हुँदै माथिल्लो भेगसम्म जाने मेलम्ची, दुवाचौर र इन्द्रावती, पाँच पोखरीका स्थानीयवासी प्रभावित हुन थालेका छन् । गत वर्ष घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । स्थानीय तहबाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको छ ।
भोजपुर : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी तीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरेलाई लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुसार्नी बिक्रीबाट भित्रिएको छ ।” गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुसार्नी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्राम हारहारीमा खुसार्नी उत्पादन भएको गाउँपालिकाको भनाइ थियो । खोर्सानी खेती विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने शाखा प्रमुख राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ खुसार्नीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यो याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार गरिएकोे छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”गाउँपालिकाभित्रका १५० बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुसार्नी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकहरुको भनाइ छ । किसानले उत्पादन गरेको खुसार्नी ठेकेदारले घरमै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँ लगायत ठाउँमा जाने गरेको छ । गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, “खुसार्नी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको खुसार्नी किन्न ठेकेदार घरमै आउँछन् । पछिल्लो समय अलि खुसार्नीमा जरा कुहिने रोगले सताएको छ । गाउँपालिकाको तर्फबाट राम्रो प्राविधिक सहयोग पाएका छौँ ।” गाउँपालिका खुसार्नी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ । कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाइएको गाउँपालिकाको भनाइ थियो । छवटा वडा रहेको गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैका आधारमा लगानी गर्छौँ । अहिले आएर कृषकले निकै राम्रो आम्दानी लिँदै आएका छन् ।” गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरेको छ । त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको स्थानलाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कृषिमा प्राथमिकताका साथ काम गरिरहेका छौँ । त्यसको परिणाम पनि देखिन थालेको छ । हालको गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रूपमा खुसार्नीलाई लिन सकिन्छ । कृषिका अन्य क्षेत्रमा पनि काम भइरहेको छ । श्यामशिला क्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा कृषकले व्यावसायिकरूपमा किवी खेती गरिरहेका छन् । किवीको बिक्रीबाट अबको केही वर्षमा राम्रो आम्दानी भित्रिन्छ ।” यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छौँ । अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यावसायिक खेती गरिरहेका छन् । कतिपय कृषकले लगाएको किवीले फलसमेत दिन थालेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनायो । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ थियो । अकबरे खुर्सानीको फाइदा अरु खुसार्नीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नीलगायत दुखाइ पनि कम गर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।विभिन्न आकारका यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ थियो । अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको आचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयवासीको भनाइ थियो । ठूलो गोलो लाम्चो (मिठो बास्ना आउने) जातको अकबरे निकै पिरो र सबैले मन पराउने जात हो । नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने अकबरेमा क्याप्सिसीन पाइन्छ । यसबाट पेटसम्बन्धी मात्र होइन अन्य रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने सम्बद्ध विज्ञले बताए ।
म्याग्दी : जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५१ वर्षीय उहाँको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशक अघि २० वर्षको उमेरमा गरिबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनु भएका घिमिरेले दश वर्ष साउदीअरब र पाँच वर्ष भारतमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने राम्रै कमाइ हुन थालेको छ । हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल हुनुभएको छ । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गर्नुभएका यी घिमिरे दाजुभाइ मात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु पनि छन् । रहरले होओस् वा बाध्यताल पैसा कमाउनका लागि दैनिक सयौँ नेपाली युवा विदेशी भूमिमा जाने गर्दछन् । अधिकांश नेपाली विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइँलाई बिट मारेर स्वदेश फर्किनुभएका रोहोटेका ४८ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारी लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मुला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर उहाँले एकै याममा रु चार लाखभन्दा बढी कमाइ गर्दै आएको बताउनुभयो । “विदेशबाट फर्किएको १० वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ”, घिमिरेले भन्नुभयो, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।” गाउँमै रु तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गर्नुभएका घिमिरेले भन्नुभयो, “आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीे उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन ।”त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले पनि तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गर्नुभएको छ । दश रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको उहाँले बताउनुभयो । तरकारीसँगै गाउँमा धान, गहुँ, मकै, कोदोको पनि खेती गर्नुभएका घिमिरेले भन्नुभयो, “१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।” अहिले मानिसले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको उहाँको भनाइ थियो । आफ्नो गाउँ ठाउँमा कृषिका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने घिमिरेले बताउनुभयो । गतवर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा सहयोग पाएर टनेल बनाएको थिएँ, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको उहाँकोे गुनासो थियो । स्वदेशमै केही गर्न चाहने मानिसका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने उहाँरुको माग थियो । “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन” घिमिरेले भन्नुभयोे कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउलास भनेर गिज्याए तर पनि म आफ्नो काममा लागिरहेँ । विसं २०६६ देखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका उहाँले आठ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनु भएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु ८ लाखभन्दा बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझैँ विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,” घिमिरेले भन्नुभयो “उमेर ढल्केपछि मलाई चेत आयो तर मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”अहिले घिमिरेको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गरेर सरदर मासिक रु ८० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन् । उहाँले भन्नुभयो, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छ ।” घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घ संस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताउनुभयो । “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो” उहाँले भन्नुभयो । राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारी खेती गर्दै आएको उहाँले बताउनुभयो । घिमिरेकै सिको गरेर धेरैले तरकारी खेती गर्न थालेका छन् । अहिले बञ्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् ।
चितवन : जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न लागेका हुन् । कुमरोजका व्यवस्थापक हेम कार्कीले अहिलेसम्म २०० भन्दा बढी किसानको धानको बीमा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“चार सय बिघा जमिनको धानको बीमाका लागि बीमा कम्पनीमा निवेदन पठाइसकेका छौँ ।” अझै किसानको आवेदन आउने क्रम जारी रहेको बताउँदै व्यवस्थापक कार्कीले यो सङ्ख्या बढ्ने अनुमान गर्नुभयो । कुमरोजका किसानको धानको बीमाको प्रिमिय रकम तत्कालका लागि सहकारीले तिर्नेछ । पछि सहकारीले खैरहनी नगरपालिकासँग माग दाबी गरी लिने छ । उहाँले भन्नुभयो “यसो गर्दा किसानलाई भार पर्दैन ।” बीमाका लागि सरकारबाट स्वीकृत धान वा स्थानीय जात हुनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । नेक ब्लाष्ट(घाँटी मरुवा), गवारो, असिनापानी, फौजी कीरा, बाढीपहिरोजस्ता कारणले धानबालीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै बछौलीका व्यवस्थापक रामहरि दाहालले रत्ननगर नगरपालिका–३ देखि ९ सम्मका सातवटा वडाका किसानको धानको बीमा गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका तीन हजार ५०० किसानको धानको बीमा गर्न लागिएको छ । यस क्षेत्रको नौ हजार बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा बीमा गर्न लागिएको हो । पालिकासँगको सहकार्यमा शिखर इन्सुरेन्ससँग बीमा गर्न लागिएको व्यवस्थापक दाहाले बताउनुभयो । उहाँले भन्नुभयो “धान खेती गर्ने किसानले हरेक वर्ष कुनै न कुनै समस्या झेल्नु परेपछि धानको बीमा गर्न लागेका हौँ ।”भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले धान खेतीमा हुने क्षति न्यूनीकरणका लागि बीमा गर्न किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो । यसले गर्दा राज्य र किसान दुबैलाई फाइदा हुने उहाँको भनाइ थियो । नेपाल सरकारले बीमा रकममा नै ८० प्रतिशत छुट दिने गर्दछ । बाँकी २० प्रतिशत रकम रत्ननगर र खैरहनी नगरपालिकाले बेहोर्ने निर्णय गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । सुरुमा किसानले तिरेको २० प्रतिशत रकम नगरपालिकाले पछि व्यहोर्ने गरी निर्णय गरिएको हो ।

