चितवन : जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
कञ्चनपुर : कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौँ : देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर ( नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ ।
लमजुङ : गएराती परेको अविरल वर्षाका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका ७ भोजेका सोमा विश्वकर्माको घरमा पहिरोले क्षति पुर्याएको छ । मंगलबार परेको अविरल वर्षाको कारण क्व्होलासोथार गाउँपालिका ७ का सोमा विकको घरमा क्षति पुर्याएपछि परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्व्होलासोथार ७ का वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएकाले छ । केही दिन यता अविरल वर्षाको कारण देशको धेरै ठाउँमा बाढी पहिरोको जोखिम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्दै आएको छ ।
पोखरा : पोखरामा आयोजना हुने छैटौं सस्करणको पोखरा स्पोर्टस अवार्डलाई अमेरिकाबाट समाजसेवी तथा अभियान्ता सरिता गुरुङले साथ दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहीं असार १८ गते शनिबार हुने अवार्डलाई उनले नगद सहयोग गर्ने भएकी हुन् । अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार सरिताले अवार्ड सफल बनाउन नगद १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । पोखरा घर भई हाल अमेरिका बस्दै आएकी सरिता विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । यसैगरी हाल जापानमा रहनुभएका मञ्चका पूर्व अध्यक्षद्धय मोहन घले र प्रेम नारायण न्यौपानले समेत अवार्डलाई साथ दिएका छन् । उनीहरु दुवै जनाले जनही १५ हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक रञ्जितले बताए । पूर्व अध्यक्ष घले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष समेत हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्च गण्डकीका महासचिव राजाराम पौडेलको भनाई छ । कार्यक्रमको थप आर्कषर्णको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले समेत सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
बागलुङः अविरल वर्षाका कारण बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कस्थित दन्ठुमा पहिरोले एक घर र गोठमा क्षति पुर्याएको छ । मंगलबार राति बेलुका करिब साढे ८ बजेको समयमा पहिरो जाँदा स्थानीय राम बहादुुर क्षेत्रीकोे घर र गोठमा क्षति पुर्याएको हो । घर माथिदेखि बारी भत्काउदै आएको पहिरोले घर र गोठमा पूर्ण क्षति पुर्याएको छ, ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले सुनगाभा न्यूजसँग भनिन्, ‘घर पूर्णरुपमा क्षति भएपछि अहिले क्षेत्रीको परिवार टोप बहादुर दर्जीको घरमा आश्रय लिएर बसेका छन् ।’ उनले पहिरोमा पुरिएको घरका अधिकांश समाग्रीहरु झिक्न नसकेको जानकारी दिइन् । ‘घरगोठमा क्षति पुर्याएपछि मोबाइलसहित विभिन्न अत्वाश्यक सामानहरु समेत पहिरोमा परेको छ, सदस्य पुनले भनिन्, ‘त्यै पहिरोको कारण स्थानीय चित्र बहादुर क्षेत्रीको घर समेत जोखिमा परेको छ ।’ अझै पानी थप पर्दै गयो भने तलका बस्तीलाई जोखिम हुने देखिएको छ ।’ वर्षाका कारण अमरभुमी स्वास्थ्य चौकीको पुरानो भवनमा समेत पहिरोको जोखिममा परेको उनले बताइन् ।
दमौली : दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ । अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । सचेतनाले शैक्षिक विकासमा महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयोे । नियमित रुपमा विद्यालयमा आउने गरेको र समस्या गुनासो भएमा सिधा सम्पर्क गर्न उहाँले अभिभावकलाई आग्रह उहाँले गर्नुभयो । शैक्षिक क्रियाकलापमा अभिभावकको सहभागीको नारालाई सार्थक बनाउँदै अभिभावकसँग निरन्तर अन्तरक्रिया गरिने अध्यक्ष काफ्लेले प्रतिबद्धता व्यक्त गर्नुभयो । अभिभावकलाई मनोविद डा.सिता भण्डारीले गाली गरेर भन्दा फकाएर, माया दर्शाएर बालबालिकाको मन जित्नु पर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीको रुची अनुसारको ऐश्छिक विषय रोज्न दिनु पर्ने बताउनुभयो । ‘उनीहरुको मनोविज्ञान र क्षमता सुहाउँदो वातावरण सिर्जना गरेर रूचिको क्षेत्र पहिचान गरी पढ्नका लागि प्रेरित गर्नुपर्छ मनोविद डा.भण्डारीले भन्नुभयो । विद्यालयका प्राचार्य एकबहादुर गुरुङले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको बताउनुभयो । कार्यक्रममा करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल, सहायक प्रधानाध्यक अशोक गिरी लगायतले बालबालिकालाई मोबाइलमा नभुल, टिभीमा नहेर भन्ने तर अभिभावक टिभी र मोबाईलमा रमाउने गर्न नहुने कुरामा जोड दिनु भएको थियो । साथै अभिभावक पनि किताब लिएर बस्ने हो भने बालबालिकालाई पनि पढ्न मन लाग्ने उहाँहरुको जोड थियो । कार्यक्रममा मनोविद् डा. सिता भण्डारी, पूर्व शिक्षक लालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम उपयोगी मूलक लागेको अभिभावक व्यास नगरपालिका–१२ निवासी बिना थापाले बताउनुभयो । ‘बालबालिकालाई फकाउने तरिकाले सिक्ने अवसर मिल्यो’ थापाले भन्नुभयो । आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो तनहुँमा सबैभन्दा धेरै पढ्ने विद्यालय हो । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन् ।
पोखरा : गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका त्यहा मिल्नेछ । सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसैगरी हाँस्यव्यङ्गतर्फ युवराज भण्डारीको प्रस्तुतीमा दर्शकले पेट मिचिमिचि हाँस्न पाउनेछन् । पोखरेली माग्ने बुढाको रुपमा समेत परिचय बनाएका भण्डारीले स्टान्डअप कमेडी मार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन् । लोकदोहोरी प्रेमी दर्शकको लागि लाइभ दोहोरीमा रमाउने अवसर सिर्जना गरिनेछ । यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका कलाकारले माहोल गर्माउनेछन् । बिबोइङ प्रस्तुती मार्फत नयाँ पुस्ताका दर्शकको ध्यान खिच्न गण्डकी बिब्वाइजको टिमले प्रस्तुती राख्नेछ । गजलकार मन क्षेत्रीका चोपिला गजल सुन्दै मनलाई प्रफूल्लित पार्न मात्र हैन गण्डकी प्रज्ञा प्रतिष्ठानको राष्ट्रियता झल्कने तथा गण्डकी प्रदेशको भेषभुषा झल्कने नृत्य हेर्दै रमाउन पाइनेछ । सोही कार्यक्रममा डेमोस्ट्रेसन समेत हेर्न पाइनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यो कार्यक्रमको मुख्य आर्कषण भने स्पोर्टस् अवार्ड हो । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
कास्की: अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो । गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए । यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए । उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए । उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्रत्येक वर्ष गाउँपालिका कप गर्छाैं: अध्यक्ष गुरुङ शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष अमृत लामा गुरुङले गाउँपालिकाको मात्रै नभई सिङ्गो भलिबलको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले विगतमा आफ्नो फाउण्डेशनमार्फत विभिन्न सामाजिक कामसँगै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै आगामी दिनमा समेत खेलकुदको गतिविधिलाई निरन्तरता दिने बताए । उनले प्रत्येक वर्ष गाउँपालिका कपको आयोजना गर्ने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘गाउँपालिका भित्रका वडाहरुबीच हामीले भलिबल प्रतियोगिता गर्छौं, उनले भने, ‘उक्त कपबाट खेलाडी छनोट भएर गाउँपालिकामा जान्छ यसैगरि जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने सकिन्छ भन्ने उद्देश्य छ । हामी त्यही अनुरुप अघि बढ्नेछौं ।’ उनले अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय ठाउँ रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट गाउँपालिकाको परिचय फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

