काठमाण्डौँ : उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताउनुभयो । उहाँका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उहाँले जानकारी दिनुभयो । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छौँ ।” यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ । महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । १२ जनामा हैजा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिनुभयो । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।
धनगढीः गाडीमा लिफ्ट मागेर चढेका तीन जनाकाे समुहले नै नगद र गाडी लुटेका छन् । कैलाली प्रहरीका अनुसार तीन जनाकाे समुहले कुटपिट गरि लोकेन्द्रसिंह भण्डारीको सवारी साधन र केही नगद लुटेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार तीन जनाकाे समुहले समूहले उनलाई आक्रमण गरेका थिए । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ । तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।
मन्त्रालयमा मेरो दुई सय ६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ : निवर्तमान मन्त्री श्रेष्ठ
काठमाण्डौँ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताउनुभयो । “जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।” वैदेशिक रोजगारीमा जाने श्रमिक सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकामा छोटो अवधिमै पूर्ण रुपमा अनलाइन सेवाको प्रभावकारी कार्यन्वयन हुनु ऐतिहासिक उपलब्धिका रुपमा रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको उहाँले जनाउनुभयो । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उल्लेख गर्र्दै उहाँले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बीमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्ने गरी कार्यक्षेत्र थप गरिएको उहाँले बताउनुभयो । आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताउनुभयो । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उहाँले बताउनुभयो । श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उहाँको भनाइ छ । गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम वजारको माग वमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधा सहितको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको उहाँको भनाइ छ । “अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठुलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ”, उहाँले भन्नुभयो ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो । राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ । गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ । प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् । राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।” नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो ।
कास्कीः कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छिन् । पैदलयात्री गुरुङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज : चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ । अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएकोे छ । चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिनुभयो । उहाँले गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै ननगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा सिंहको भनाइ छ ।
काठमाण्डौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो । निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताउनुभयो । उहाँका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ । निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।
दाङ : दाङस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए । डिएसपी रिजालका अनुसार पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको डिएसपी रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं : मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए । ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन,’ मौसमविद हिरा भट्टराईले भने, ‘भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ ।’ उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए । आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको बताए । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको बताए । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविद भट्टराईको भनाइ छ । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । गत जेठ १२ गते प्रदेश १ मा प्रवेश गरेको यस वर्षको मनसुन असार १२ गतेमात्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा जेठ २६ गते तथा लुम्बिनी र कर्णाली प्रदेशमा असार १० गते मनसुनी प्रणाली प्रवेश गरेको थियो ।

