पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

काठमाण्डौँ :      देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पकाउन आवश्यक ‘भाँडाकुँडाका सेट’ प्रदान गरेको छ ।   चनपा–५ डाउराडिपोमा प्रधान कार्यालय रहेको सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष रामनारायण घिमिरे, सचिव राम तामाङ, प्रबन्धक प्रवीण सिलवाल र प्रहरी निरीक्षक शुभद्रा वाइबाले सो सामग्री वितरण गर्नुभयो । साथै संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार पाँचौँ रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । काठमाडौ उपत्यकाभित्र रगतको अभाव हुन नदिन आयोजित सो रक्तदानमा ६६ जनाले रक्तदान गरेका थिए ।   सो अवसरमा अध्यक्ष घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवाका काम गरिरहेको जानकारी दिनुभयो । संस्थाले कोभिड–१९ को महामारीका समयमा पनि मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थियो ।   विसं २०६६ असार ६ गतेदेखि निरन्तर सेवा गर्दै आइरहेको सो संस्थामा हाल कूल सदस्य तीन हजार ५००  र  कूल सम्पत्ति रु एक अर्ब ३५ करोड नाघेको अध्यक्ष घिमिरेले बताउनुभयो । सहकारी ऐन, नियमसहित संस्थाको स्वीकृत विनियमअनुसार आव २०७८/७९ मा रु पाँच करोड शेयर पूँजी बनाउने लक्ष्य लिएको छ ।   नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, देशदर्शन कल, गोल्डन, बोनस बचतजस्ता निक्षेप योजना छन् । यसैगरी देवदर्शन पुलेसो, आवधिक, छाटो, व्यापारिक, हायर पर्चेज, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघुलगायत कर्जा योजना छन् । संस्थाले  सदस्य हितकोषअन्तर्गत आफ्ना सदस्यलाई सुत्केरी भत्ता, काजकिरीया खर्च र प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई रु पाँच हजार वितरण गर्दै आएको छ ।

  महोत्तरी :   जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ ।   प्रवक्ता प्रनाउ  विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।

काठमाण्डौँ :      देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा  भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ ।   देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासोत रहेको बताइएको छ ।   विभागले आगामी २४ घण्टाका लागि देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव चार डिग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस छ ।

काठमाण्डौँ :     नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ ।   नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गर्नुभएको हो ।   वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा  विशिष्ठ योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।    त्यसैगरी सो कार्यक्रममा उक्त प्रतिष्ठनबाट प्रदान गरिने ‘स्रष्ट विशेष सम्मान’ स्रष्टा रुकु कार्कीलाई र ‘मातृभूमि मायादेवी पुरस्कार’ गीता खत्रीलाई प्रदान गरिएको थियो । मायादेवी मातृभूमि पुरस्कार स्रष्टा रुकु कार्कीले आफ्नी आमा मायादेवीको स्मृतिमा स्थापना गर्नुभएको हो ।   नेपाली साहित्य क्षेत्रमा निरन्तररूपमा लाग्ने नारी प्रतिभाहरूमध्येबाट स्रस्टाद्वय कार्की र खत्रीलाई यी पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान नेपालले जनाएको छ । यी पुरस्कारमा नगद राशिसहित सम्मानपत्र रहेको छ ।   सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कलाकार एवं स्रष्टाहरूको सम्मान गर्ने संस्कारले उनीहरुलाई आफ्ना क्षेत्रमा निरन्तररूपमा लाग्न प्रेरणा मिल्ने धारणा राख्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।   प्रतिष्ठनका अध्यक्ष कार्कीले नेपाली साहित्य क्षेत्रमा लागिरहेका नारीहरूलाई आगामी दिनमा पनि निरन्तररूपमा लाग्न प्रोत्साहित गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतिष्ठानले बर्सेनि पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको जानकारी दिनुभयो ।   सो कार्यक्रममा साहित्यकार डा रामप्रसाद ज्ञवाली, रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व डा शर्मा, खत्री र कार्कीलगायतले नेपाली साहित्य क्षेत्रका विविध विषयमा धारणा राख्नुभएको थियो ।

बाँके :     बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो ।  जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।   बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।    उहाँले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्छ भन्नुभयो । गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।  पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।    उहाँका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन । जिल्लामा २०  पुनःस्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरु २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् । 

बाँके :   बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।   कोहलपुरतर्फ आइरहेको ना५ख ४२०४ नंको ट्रकले भे११प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।   उहाँका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते हुनुभएको छ ।    ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

  पोखरा :      पोखरामा गएराति फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं। २२ का ५० वर्षीय टेकनाथ बराल रहेका छन् ।   कास्की प्रहरीका अनुसार खोला तर्नेक्रममा शुक्रबार राति बेपत्ता भएका बराल शनिबार बिहान मृत भेटिएका हुन् । बरालको शव आज बिहान ७ बजे पोखरा २२ कै पिपलडालीस्थित खेतको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।    मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पोखरा :       जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।   कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्लले किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।   पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।   त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्दै आएका थिए ।

सिन्धुपाल्चोक :  थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।  जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका  पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।    आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ ।