सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताउनुभयो । “मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके”, उहाँले भन्नुभयो, “दिनभरको घामले बोट सुक्न थालेका छन् ।” छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउनुहुन्छ । “रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।
काठमाण्डौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।
कञ्चनपुर : जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ । साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए ।
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताउनुभयो । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ । साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो । साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।
कास्की: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज (बिहिबार) बिहान करिब ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस भएपछि नागरिक घरबाहिर समेत निस्किएका थिए । कास्की आसपासको जिल्लामा पनि भूकम्पको महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । भूकम्पको धक्का महसुस भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको आंकलन गरिएको छ । यसअघि पनि २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ विनाशकारी महाभूकम्प गएको थियो । उक्त समयमा भौतिक तथा मानवीय क्षति भएको थियो ।
पोखरा : जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिका निर्माणाधिन पुर्वाधारको अनुगमन गरेको छ । जिसस प्रमुख लिलाधर पौडेललको नेतृत्वमा सो गाउँपालिकामा संघीय, प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न विकासका योजनाहरुको अनुगमनमा निस्किएको हो । अनुगमनको क्रममा प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सपन्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने गरी कार्य सपन्न आग्रह गरे । कुनै पनि नागरिकले कुनै बहानामा दुःख पाउन नहुने भन्दै सवै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्नेमा जोड दिए । समन्वय कास्कीका सदस्य राजु अधिकारी, हर्क बहादुुर गुुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुुरुङ प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, प्राविधिक, इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । अनुगमनमा स्थानिय साझेदारी कार्यक्रम अन्र्तगत रुपा गाउँपालिका वडा नं. ३ मा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ्य चौकी भवन, सेवा प्रदान गरिहरेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकिय सेवा, संञ्चालित अन्य योजनाको अनुगमन सहित आवश्यक निर्देशन समेत दिएको थियो ।
कास्की : पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि गरेसँगै पृथ्वीनारायण क्याम्पस गेट अगाडी अनेरास्ववियुुले विरोध प्रदेशन गरेको छ । ५० बढि विद्यार्थीको सँख्यामा आज (बुधबार) दाउरा बालेर चिया पकाएर, पेट्रोलको मुल्य अनुसार मोटरसाइकललाई विक्रिमा राखेर र मुखमा टेप लगाएर विरोध गरेको हो । कोणसभालाई सम्बोधन गर्दै क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको सट्टा चरम मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए । यसैगरि केन्दिय सदस्य अनुप लामिछानेले राज्यले जनतालाई संकटबाट मुक्त गराउन नचाहेको टिप्पणी गरे । ‘राज्यले अभिभाकत्व लिनुपर्ने समयमा मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको छ, उनले भने, ‘यस्तो चरम वृद्धि हामीलाई स्वीकार्य छैन । यो कदम सरासर गलत छ ।त्यसैले निर्णय फिर्ता लिइयोस ।’ प्रर्दशनका क्रममा ‘शेरे चोर यो देश छोड, शेरेको चमत्कार मुल्य वृद्धि र भ्रष्टाचार र अरु हामि जान्दैनौ मुल्य वृद्वि मान्दैनौ’ लगायतका नारा लगाएका थिए ।
पोखरा: पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई पराजित गर्दैं आयोजक हेम्जा युनाइटेडउपाधि नजिक पुगेकाे छ । पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा आज (बुधबार) भएको सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलको अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जीतमा गोल कमल थापा मगरले २ गोलको योगदान दिदैं म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनले खेलको ५३ औं मिनेटमा आफ्नो टिमका लागि थापामगरले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसैगरि उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जुन गोल निर्णायक बन्दै आयोजकलाई उपाधि नजिक पुर्यायो । हेमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । यता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको धारणा राखे । उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिएका थिए । प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च व्याइजबीच फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल ९ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एपिएफ क्लब, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडगरि कुल ८ टिमको सहभागिता रहेको छ ।
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’ पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि पर मुगलिन र पश्चिममा राम्दीसम्मको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्छ ।’ व्यवस्थित सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै उनले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नरहेको बताए । पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्ने भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको जनाए । उनले निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कत्ति पनि ढिलाइ गर्न नहुने भनाइ राखे । उनले भने, ‘यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सहजीकरण समिति प्रदेश सरकारले गठन गरेको छ । यसले सरोकारवालासँग नियमित रुपमा छलफल गर्दै आएको छ । अरु सकिए पनि महानगरको ढिलाइले विमानस्थल सञ्चालनमा ढिलाइ नहोस् भन्ने प्रदेश सरकारको चाहाना छ, ल्यान्डफिल साइट छिटो बनोस् ।’ पोखराबाट उडान भर्नका लागि जजिरा लगायतका विमान सञ्चालन कम्पनी तयार भइसकेको भन्दै उनले नेपालमा उडान गर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई पोखरामै बोलाएर वृहत भेला गर्ने र यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी गराउने उल्लेख गरे । उनले भने, ‘यो एअरपोर्टको खर्च धान्न र गण्डकीको पर्यटनलाई अझै उचाइमा पु¥याउन भारतका मुख्य सहरहरुमा नियमित रुपमा सिधा उडान जरुरी छ । यसका लागि हामीले नेपाल सरकारलाई झकझकाइरहेकै छ ।’ ५ वर्षमा स्थानीय तहको बलियो आधार तयार भएको भन्दै मुख्यमन्त्री पोखरेलले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी रहेको बताए । यसका लागि प्रदेशले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको ऐन ल्याएको जानकारी उनले गराए । पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले यसको औपचारिक घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निर्णय गरेर नेपाल सरकारलाई पठाइसकेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । पोखरा सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा आफैमा सुन्दर छ । यसको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने छ । चौडा सडक, फराकिलो फुटपाथ, हरियालीका साथमा रात्रिकालीन बत्तीहरु झिलीमिली हुन्, जसका कारण स्वदेश र विदेशी पर्यटकलाई थप आकर्षित बनाउन सकिन्छ । उक्त अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरे । उपमेयर मञ्जुकुमारी गुरुङले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस दलका नेता दिवशमान प्रधानांग, एमाले दलका नेता राधिका शाही योगी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बोलेका थिए ।

