पोखरा: तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका १७ विरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको छ । संस्थाको २३ औ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुुर बुढामगर (सागर) ले संस्थाका सल्लाहकार सुवास ढुंगानालाई ब्लडव्याग हस्तान्तरण गरेर रक्तदानको शुभारम्भ गरे । सो अवसरमा बोल्दै कृषि मन्त्री बुढामगरले गण्डकी प्रदेशले अस्पतालहरुमा रगत जन्य पदार्थहरु निशुल्क बनाउन नीति तथा कार्यक्रम निर्माण गरिसकेको बताए । ‘गण्डकी प्रदेशका महिलाहरुमा देखापर्ने जटिल खालका रोगको उपचारमा सहयोग गर्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको छ, मन्त्री बुढाले भने, ‘त्यसको अन्तिम चरणमा छौ । यथाशिघ्र कार्यान्यवनको पाटोमा लाग्छौं ।’ मन्त्री बुढामगरले देशमा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिमा सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए । यसैगरि कार्यक्रममा चेम्बर आफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले उक्त रक्तदानबाट रगतको अभावलाई पूर्ति गर्न केही टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले बेडमा छटपटाइरहेको बिरामीहरुको रगत अभावलाई रक्तदानबाट संकलित रगतले थप राहात पुग्ने बताए । ‘रगत कुनै पनि प्रविधिले बनाउन नमिल्ने भएकाले हामीमा खेर जाने रगतलाई रक्तदान गर्दा जो कसैलाई पनि थप सहयोग पुग्छ, उनले भने, ‘रक्तदान जिवनदान, जिवनदान महादान हो त्यसैले तपाईहरु उदाहरणीय पात्र हुनुहुन्छ ।’ संस्थाका सेयर सदस्यहरु, पढाधिकारीहरु, व्यवसायीहरु र सर्वसाधारणहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग रहेको थियो । जनप्रतिनिधिदेखि कर्मचारीसम्म सम्मानित वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बजार प्रतिनिधि कल्पना रानाभाट , व्यवस्थापक सन्तोष विश्वकर्मा, उत्कृष्ट बचतकर्ता ओमकार प्रसाद शर्मा , उत्कृष्ट कर्जा जनार्दन शर्मा र जननिर्वाचित संस्थाका सल्लाहकार राधिका शाही योगीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार सुभाष ढुङ्गाना, नेपाल बचत तथा ऋण संघका प्रतिनिधि यामकला सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तिजोरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माया विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मान बहादुुर विश्वकर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने जमुना वर्षा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो । दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ । कुन सवारीको कति? दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ । २५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ । यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ । कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ । यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ । हरेक ६ महिनामा सवारी जाँचपास गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ । निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ ।
दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहनुभएका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने हुनुहुन्थ्यो । त्यसपछि उहाँले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए । त्यसपछि वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा कुन्दन घिमिरेको टोलीले प्रतिष्ठानमा बिरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर शल्यक्रिया गरेको हो । उच्च जोखिम लिएर आफूहरुले प्रतिष्ठानमा सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताउनुभयो । आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भए पनि पूरै बेहोस बनाएर शल्यक्रिया हुँदैन । प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पूरै अत्याधुनिक शल्यक्रिया कक्ष भएकाले पनि शल्यक्रिया गर्न सहज भएको डा रसाइलीले बताउनुभयो । आँखाको क्यान्सर फैलिएपश्चात् बिरामीको दिमागमा र अन्य शरीरका भागमा असर गर्ने भएकाले बिरामीको जीवन बचाउन शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
काठमाण्डौँ : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छत्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ । उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छत्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति, १८ प्रतिशत दलित र दश प्रतिशत अन्य छन् । त्यसैगरी उक्त क्याम्पसमा रु ३५ लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस आर्थिक वर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकममध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निवृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गरिने सो क्याम्पस प्रशासनले जनाएको छ । केही वर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु दुई करोड ५० लाख ‘बैंक ब्यालेन्स’ रहेको क्याम्पसले जनाएको छ । उक्त कोषमा बर्सेनि रकम थप्दै वृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक क्याम्पसहरुमध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ । पूर्णकालीन २९ र आंशिक ३७ गरी ६६ जना प्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् । आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेदेखि क्याम्पस परिसरमा बैंकको शाखा राख्ने तयारी भइरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । बैंकको शाखा स्थापनाका लागि व्यासको रु ३० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ प्रणालीबाट लिने योजना बनाइएकोे क्याम्पस प्रशासनले जनाएको छ ।
काठमाण्डौँ : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाइ उपलब्धि बढाउने कार्यका लागि पूँजीगत अनुदान विनियोजन गरेको हो । मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयको नतिजा सुधार गर्नका लागि विद्यालय शिक्षामा नतिजा सुधारका लागि विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेशभित्रका रहेका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी व्यवस्थापन सुधारको लक्ष्यसहित अनुदान दिन रु २५ करोड विनियोजन गरेको मन्त्री मोक्तानको भनाइ छ । उक्त कार्यक्रमका लागि सङ्घीय सरकारसँगको समन्वयमा प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिने जनाइएको छ । उहाँका अनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आबद्ध गर्न उपलब्धि सूचकहरु निर्धारण गरिनेछ । यसैगरी माध्यमिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नसमेत बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अबको शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत सञ्चालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गरिने छ । ” यसका लागि सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गरिने र सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जनाउनुभयो । सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसङ्ख्यक, लोपोन्मुख, अति सीमान्तकृत, विपन्न दलित समुदायका छात्रछात्रामध्ये प्रतिस्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न र सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रालाई प्रदान गरिने छात्रवृत्तिसमेत बजेट छुट्याइएको मन्त्री मोक्तानले जानकारी दिनुभयो । आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसङ्ख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गरिने उहाँले बताउनुभयो । प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया सुरु गरिने र उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन र सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरिने मन्त्री मोक्तानले बताउनुभयो । प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल सञ्चालित बाल विकास केन्द्रहरुको भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याउना साथै स्थानीय तहलाई बालमैत्री संरचनाहरु स्थापना गर्न प्रोत्साहित गरिने उहाँले जनाउनुभयो ।
काठमाण्डौँ : मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर दिनुभएको छ । गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ । गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको हो । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
कञ्चनपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी–सुडा खण्डमा आज बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
काठमाण्डौँ : शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताउनुभो । टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिनुभयो ।
म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान चैत १२ गते रोपिएको थियो । करिब तीन रोपनी क्षेत्रफलमा लगाएको धानको बाला राम्रो लागेको र पाकेर भित्र्याउने तयारी गरेको मल्लले बताउनुभयो । बर्खामा लगाउने गौरी, जेठोबुढो जत्तिकै उत्पादन भएको उहाँको भनाइ छ । बर्खे धान जत्तिकै पुष्ट दाना र पराल सफा भएको मल्लले बताउनुभयो । रणवाङ समुन्द्री सतहदेखि एक हजार ५० मिटर उचाइमा अवस्थित छ । सम्मा फाँट भएको यहाँ हालसम्म वर्षमा एकबाली मात्र धान खेती हुन्छ । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्रमुख तारा बानियाँ ९जगत०ले पालिका क्षेत्रमा रणवाङमा पहिलो पटक चैते धान उत्पादन भएको बताउनुभयो । “सम्भव नहुने ठानेर चैते धानको खेतीतर्फ कसैको ध्यान पुगेको थिएन”, उहाँले भन्नुभयो “परिक्षण सफल भएकाले चैते धानखेती विस्तारको कार्यक्रम बनाउँछौ ।” तराइ, भित्री मधेश र केही पहाडी जिल्लामा चेतै धान खेती हुने गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ को ढोडेनी, सारेमारे र सिममा मात्र चैते धानखेती हुने गरेको थियो । रणवाङ भन्दा केही कम उचाइमा अवस्थित पिपलबोट, सेराफाँटका कृषकले केही वर्षअघि चैते धान खेतीको प्रयास गर्दा सफल भएको थिएन् । सिँचाई सुविधा भएकाले रणवाङमा चैते धान खेती गर्न सम्भव भएको हो । हावापानी, तापक्रम र मौसम अनुकुल भएकाले चैते धान खेती सफल भएको कृषक मल्लले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले चैते धानखेतीको सम्भाव्यता अध्ययन गरिने बनाउने बताउनुभयो ।

