पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

    दमौली :     दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ ।    अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । सचेतनाले शैक्षिक विकासमा महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयोे । नियमित रुपमा विद्यालयमा आउने गरेको र समस्या गुनासो भएमा सिधा सम्पर्क गर्न उहाँले अभिभावकलाई आग्रह उहाँले गर्नुभयो । शैक्षिक क्रियाकलापमा अभिभावकको सहभागीको नारालाई सार्थक बनाउँदै अभिभावकसँग निरन्तर अन्तरक्रिया गरिने अध्यक्ष काफ्लेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  अभिभावकलाई मनोविद डा.सिता भण्डारीले गाली गरेर भन्दा फकाएर, माया दर्शाएर बालबालिकाको मन जित्नु पर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीको रुची अनुसारको ऐश्छिक विषय रोज्न दिनु पर्ने बताउनुभयो । ‘उनीहरुको मनोविज्ञान र क्षमता सुहाउँदो वातावरण सिर्जना गरेर रूचिको क्षेत्र पहिचान गरी पढ्नका लागि प्रेरित गर्नुपर्छ मनोविद डा.भण्डारीले  भन्नुभयो ।    विद्यालयका प्राचार्य एकबहादुर गुरुङले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको बताउनुभयो । कार्यक्रममा करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल, सहायक प्रधानाध्यक अशोक गिरी लगायतले बालबालिकालाई मोबाइलमा नभुल, टिभीमा नहेर भन्ने तर अभिभावक टिभी र मोबाईलमा रमाउने गर्न नहुने कुरामा जोड दिनु भएको थियो । साथै अभिभावक पनि किताब लिएर बस्ने हो भने बालबालिकालाई पनि पढ्न मन लाग्ने उहाँहरुको जोड थियो ।  कार्यक्रममा मनोविद् डा. सिता भण्डारी, पूर्व शिक्षक लालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम उपयोगी मूलक लागेको अभिभावक व्यास नगरपालिका–१२ निवासी बिना थापाले बताउनुभयो । ‘बालबालिकालाई फकाउने तरिकाले सिक्ने अवसर मिल्यो’ थापाले भन्नुभयो  । आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो तनहुँमा सबैभन्दा धेरै पढ्ने विद्यालय हो । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन् । 

पोखरा :        गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका  त्यहा मिल्नेछ । सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।   यसैगरी हाँस्यव्यङ्गतर्फ युवराज भण्डारीको प्रस्तुतीमा दर्शकले पेट मिचिमिचि हाँस्न पाउनेछन् । पोखरेली माग्ने बुढाको रुपमा समेत परिचय बनाएका भण्डारीले स्टान्डअप कमेडी मार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन् ।   लोकदोहोरी प्रेमी दर्शकको लागि लाइभ दोहोरीमा रमाउने अवसर सिर्जना गरिनेछ । यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका कलाकारले माहोल गर्माउनेछन् । बिबोइङ प्रस्तुती मार्फत नयाँ पुस्ताका दर्शकको ध्यान खिच्न गण्डकी बिब्वाइजको टिमले प्रस्तुती राख्नेछ ।  गजलकार मन क्षेत्रीका चोपिला गजल सुन्दै मनलाई प्रफूल्लित पार्न मात्र हैन गण्डकी प्रज्ञा प्रतिष्ठानको राष्ट्रियता झल्कने तथा गण्डकी प्रदेशको भेषभुषा झल्कने नृत्य हेर्दै रमाउन पाइनेछ ।  सोही कार्यक्रममा डेमोस्ट्रेसन समेत हेर्न पाइनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।    यो कार्यक्रमको मुख्य आर्कषण भने स्पोर्टस् अवार्ड हो । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ ।   अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन्  ।   अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

कास्की:  अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् ।   आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो ।   गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए ।   यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए ।   उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए । उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।       प्रत्येक वर्ष गाउँपालिका कप गर्छाैं: अध्यक्ष गुरुङ   शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष अमृत लामा गुरुङले गाउँपालिकाको मात्रै नभई सिङ्गो भलिबलको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए ।   उनले विगतमा आफ्नो फाउण्डेशनमार्फत विभिन्न सामाजिक कामसँगै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै आगामी दिनमा समेत खेलकुदको गतिविधिलाई निरन्तरता दिने बताए ।    उनले प्रत्येक वर्ष गाउँपालिका कपको आयोजना गर्ने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘गाउँपालिका भित्रका वडाहरुबीच हामीले भलिबल प्रतियोगिता गर्छौं, उनले भने, ‘उक्त कपबाट खेलाडी छनोट भएर गाउँपालिकामा जान्छ यसैगरि जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने सकिन्छ भन्ने उद्देश्य छ । हामी त्यही अनुरुप अघि बढ्नेछौं ।’   उनले अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय ठाउँ रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट गाउँपालिकाको परिचय फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।   

पोखरा:  गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताउनुभएको छ ।    चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।    ‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ , उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्नेगरी अगाडी बढीनेछ ।’    मन्त्री थापाले पोखरामा चलचित्र क्षेत्रको उन्नयनका लागि चलचित्र पत्रकार संघ कास्कीले उल्लेखनीय काम गरेको बताउनुभयो । पोखरा चलचित्र नगरी भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।    चलचित्र क्षेत्र समाजको ऐना भएको उल्लेख गर्दै उहाँले चलचित्रका माध्यम पोखरा सँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । मन्त्री थापाले सिक्ने क्रम कहिल्यै नसकिने भएकाले सिकाईले नै मान्छेलाई सबल र सक्षम बनाउँदै लैजाने बताउनुभयो ।    प्रशिक्षक एवम् चलचित्र निर्देशक तथा लेखक मनोज पण्डितले दुई दिने कार्याशालामा सहभागीले कथा लेख्न र प्रविधिको प्रयोगबाट प्रभावकारिता बढाउन सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।    चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले सहजता सँगै समस्या पनि सिर्जना गरेका कारण चलचित्र पत्रकारहरुले यस्ता कार्याशालाबाट प्रविधिको सही प्रयोग गर्न सिक्ने र चलचित्र पत्रकारिता क्षेत्र मर्यादित र व्यवसायिक बन्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।    कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा आयोजना गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल समेत बोल्नुभएको थियो ।   

पोखरा:  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह बीच भेटवार्ता भएको छ ।   काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाहबीच मंगलबार भेटवार्ता भएको हो ।   भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् ।    साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरा हुँदैछ । प्रमुख आचार्यका अनुसार अहिलेसम्म चार वटा महानगरका प्रमुखले निम्तो स्विकार गरिसकेका छन् भने एउटा महानगरमा निम्तो गर्न बाँकी छ ।   उक्त भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुनेछन् । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौं । यसको ठ्क्कै मिति भने तय भइसकेको छैन । एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौं । सबै आउने निस्चित भइसकेको छ । मंगलबार काठमाडौंका प्रमुख बालेन्द्र शाहलाई पनि निम्तो दिएका छौं । उहाँसहित निम्तो प्राप्त गनुभएका प्रमुख ज्युहरुले आउने बचन दिनुभएको छ । यो भेलाले महानगर बीच अनुभव आदानप्रदानमा सहयोग पुग्छ । विकास निर्माण लगायत संघ र प्रदेश सरकारसंगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुन्छ’ प्रमुख आचार्यले भने ।    यसैबीच प्रमुख आचार्यले मंगलबार नै काठमाडौंमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनसंग पनि भेटवाता गरेका छन् । उक्त अवसरमा आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।   ‘आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनसंगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौं । महानगरको हित हुने उपकरणको विषयमा जानकारी दिनुस् भनेका छौं । उहाँले पनि निकै रचनात्मक सुझाव र जानकारी दिनुभएको छ । जो पोखरा महानगरका लागि निकै उपयोगी हुन सक्छ भन्ने लागेको छ । पछि पुन बसेर बिस्तिृत सल्लाह गर्ने कुरा भएको छ’ प्रमुख आचार्यले भने ।   

बाँके :     बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।   चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।     थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ । 

  ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’   लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ ।   नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।   पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताउनुभयो । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताउनुभयो । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।   नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन”, उहाँले भन्नुभयो ।   पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताउनुभयो ।    नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।   आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”   ‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने  जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’   यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके”, उहाँले  भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।   अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”   कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश  श्रेष्ठले बताउनुभयो ।   असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।   ‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असारमास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’

काठमाण्डौँ :       सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

काठमाडौँ :       काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।        पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ ।    होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।        सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताउनुभयो । नागरिकको सहजताका लागि कामपाले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।