पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

काठमाण्डौँ :        कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ ।      कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले  आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौती वितरण गरेको छ ।   सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।       सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको भूभागमा कफीको लागि निकै नै उत्कृष्ट हावापानी रहेको जनाउँदै कफीको उत्पादन बढाउने आफूहरुको योजना रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।    जिल्लाको सुनकोसी गाउँपालिका कफी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको स्थानीय तह हो । यस पालिकाको कफी प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अष्ट्रेलिया निर्यात हुनेगरेको छ । सुनकोसी गाउँपालिकामा मात्रै ३०० रोपनी जग्गामा कफी खेती गरेर ४५० परिवार यसमै आश्रित भई आम्दानी गरिरहेका छन् ।

काठमाण्डौँ :      देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।      विभागका अनुसार सो प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।      हाल नेपालको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     रातिको समयमा देशको अधिकाश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं एक, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।       मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको ३९ अधिकतम तापक्रम दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौँ :      नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।      जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।      प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । 

कैलाली :      मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् ।धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् ।      अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन् । यसका लागि झाला पाता, नर्कट, माटो, ढुङ्गा, प्रयोग गरिरहेका छन् । यसरी बाँध बाध्न आवश्यक झालापातालगायतका सामान किसानले घरघरबाट बोकेर लगेका हुन् ।    “किसानले डनलप, ट्र्याक्टर, साइकलमा घरघरबाट झाला पाता, नर्कट बोकेर लगेका हौँ”, रानी कुलाका अध्यक्ष श्रीपाल चौधरीले भन्नुभयो, “खेती गर्ने समयमा पानीको जोहो पनि किसान आफैँले गर्नु परिरहेको छ । एकातिर किसानलाई मल नपाएर समस्या छ, अर्कोतर्फ खेती गर्ने समयसम्म सिँचाइ सुविधा पुगेको छैन ।”      रानी कुलाको महुनमा भएको बाँध रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भइरहेका तटबन्धभ निर्माण गर्दा ठेकेदारले भत्काइदिएको किसानको गुनासो छ । ठेकेदारले बाँध निर्माण गरिदिने भने पनि अहिलेसम्म निर्माण नगरिदिएपछि असार लाग्नै थाल्दा ५२ गाउँका किसान आफैँ मुहानमा पुगेका हुन् । “आवश्यक सामान जोहो पनि हामी आफैँले गरेका छौँ, हरेक घरबाट एक/एक जना किसान श्रमदानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “प्रति उपभोक्ता रु १५ उठाएका छौँ, आइतबार श्रमदान गर्यौँ, झालापाता बाध्ने काम गर्यौँ, आज स्काभेटरले ग्राभेल उठाएर झाला दवाउने काम गर्ने तयारी छ ।”      बाँध लगाउन किसानले झाला पाता, नर्कट, माटो, ढुङ्गा प्रयोग गरेका छन् । “आयोजनाले तटबन्ध निर्माण गर्दा यसअघि मुहानमा रहेको जाली, तटबन्ध सबै भत्काइदिएको थियो । हामीलाई आयोजनाले बनाइदिन्छु भनेको थियो तर बनाएन”, किसान रमेश चौधरीले भन्नुभयो, “निर्माण ठेकेदारले गरेन भनेर कुर्ने कुरा भएन । समयमै बाँध नबनाएमा सिँचाइ सुविधा पाउन र बर्सातमा आउने बाढी नियन्त्रण गर्न सकिँदैन । त्यसैले हामी आफैँ जुट्यौँ ।”       रानी कुलाको मुहानमार्फत यस क्षेत्रमा ७०० हेक्टर जमिन सिँचाइ हुन्छ । रानी कुलाबाट १९ शाखा कुलामा पानी जान्छ । “सबैभन्दा लामो कुलामा रानी कुला पर्छ । यहाँबाट सिँचाइ सुविधा लिने जमीन बढी छ”, किसान दिलेन्द्र कुश्मीले भन्नुभयो, “बीउ त जसोतसो बोरिङ मोटरको सहयोगमा राखियो, अब खेतमा पानी नपुगे धान रोप्न सकिँदैन ।”      कैलालीमा सिँचाइ सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा छ । आयोजनाले सिँचाइ सुविधाका लागि गाउँ गाउँमा नहर निर्माण, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता कार्य गर्दै आएको छ । आयोजनाले शाखा, प्रशाखा कुला व्यवस्थापनमा सघाउने काम गरिरहे पनि निर्माण कम्पनीले भत्काएका संरचना समयमै मर्मत नहुँदा किसानले खेती गर्ने समयमा दुःख पाउने गरेका छन् ।

काठमाण्डौँः     सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।    जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो ।      ना३ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बाहिनी मुख्यालयले जनाएको हो ।     यसअघि भन्सार छलीका सामान सीमा क्षेत्र वरपर नै फेला परे पनि यस घटना भने जिल्लाको सीमा भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तर बरामद भएको हो । सामानबाहेक नियन्त्रणमा लिइएको ट्रकको मूल्य २० लाख करिब भएको जनाइएको छ । 

काठमाण्डौँ :     प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उहाँले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा कम्पनी तथा ३५० भन्दा बढी निजी अस्पताल रहेको उल्लेख गर्नुभयो  ।       “निजी बीमा कम्पनीले मुनाफामा मात्रै आँखा लगाइरहेका हुन्छन, प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु व्यहोर्न चाँहदैनन् । जोखिम राज्यले व्यहोर्ने र मुनाफा निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन”, सांसद सङ्ग्रौलाले भन्नुभयो । नेपालमा स्वास्थ्य उपचारमा हुने खर्चको झण्डै ५० प्रतिशत नेपालीले आफ्नै खल्तीबाट व्यहोर्ने गरेको उहाँको भनाइ थियो ।      “महँगो उपचार गर्न नसकेर वर्षेनी हजारौँ परिवार गरिबीको रेखामुनी पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय परिवेशमा हेर्ने हो भने मातृ मृत्युदर र बाल मृत्यदर अझै उच्च छ । निजी अस्पतालको उपचार आमनेपालीको पहुँचमा छैन, अधिकांश सरकारी अस्पतालमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छैन । यस्तो अवस्थामा आगामी आव स्थानीय तहमा निर्माण सम्पन्न गरिने भनिएका ६५५ आधारभूत अस्पतालमा दक्ष जनशक्ति, उपकरण र औषधि पु¥याउन सरकारसँग कस्तो योजना छ ?”, उहाँले प्रश्न गर्नुभयो । कोशी अञ्चल अस्पतालको स्तरोन्नति गर्न सांसद सङ्ग्रौलाले माग गर्नुभयो ।       मातृ मृत्यु दर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सेवालाई प्रभावकारी बनाउने, मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रुपमा रु पाँच हजार पोषण खर्च उपलब्ध गराउने घोषणा स्वागतयोग्य भएको उहाँको भनाइ थियो । सहरी विकास मन्त्रालयअन्तर्गत आगामी आवभित्र विपन्न, दलित र सिमान्तकृत नागरिकका लागि एक लाख घर निर्माण गर्ने कुरा बजेटमा उल्लेख छ, तर कुन जिल्लामा कति वटा घर कहिलेसम्म कुन निकायले निर्माण सम्पन्न गर्ने हो भन्ने बजेटमा केही उल्लेख नभएको भन्दै उहाँले यस्तो कार्ययोजनाविना यो प्रस्ताव पनि चुनावी भाषणमा सीमित हुने खतरा रहेको बताउनुभयो ।      “व्यवस्थित शहरी विकास भन्नासाथ सार्वजनिक यातायात, फोहोर व्यवस्थापन, महिलाका लागि सुरक्षित काम गर्ने वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, युवालाई रोजगारी, वृद्धवृद्धालाई टहलिन खुला उद्यान, सफा स्वच्छ हावा, सफा पिउने पानीलगायत पर्छन् । काठमाडौँमा नै फोहर उठाउन महिनौँ लाग्यो ।  एउटा ‘होलिस्टिक भिजन’ लिएर काम गर्न सहरी विकासमन्त्रीलाई आग्रह गर्दछु”, सांसद सङ्ग्रौलाले भन्नुभयो । 

पोखरा :      पवित्र वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत  आईतबार रक्तदान कार्यक्रम गरेको छ । पोखरा–२६, कालिकाचोक स्थित कंधनीडाँडा भाट समाज भवनमा आयोजित उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटले पहिलो रक्तदाता वसन्त वञ्जराभाटलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । उहाँले रक्तदान जस्तो अरु कुनै पुण्य काम नभएको भन्दै नियमित रक्तदानले व्यक्ति निरोगी हुने बताउनु भयो ।   सो अवसरमा सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएको वताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।   प्रमुख अतिथि खड्गबहादुर रानाभाट तथा संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाटले रक्तदान दातालाई प्रमाण पत्र तथा क्षेत्रिय रक्त संचार केन्द्रका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए ।   कार्यक्रममा पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापा, सहकारीका निर्वतमान अध्यक्ष शिवबहादुर रानाभाट, भाट समाज गण्डकी प्रदेश अध्यक्ष चन्द्रबहादुर   रानाभाट, सत्यता बचत तथा ऋण सहकारीका अध्यक्ष तथा पोखरा २६ का निर्वतमान वडा सदस्य खड्कबहादुर रानाभाट, भाट समाज कास्कीका अध्यक्ष सुर्यबहादुर रानाभाट, पुर्व अध्यक्ष रमेशबहादुर रानाभाट, जग्गादाता वसन्त वञ्जराभाट र माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की वडा सदस्य गंगा रानाभाटले शुभकामना व्यक्त गरेका थिए ।   सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत ऋण लगानी संयोजक यामबहादुर रानाभाटले र संचालन सचिव तथा कार्यक्रम संयोजक चन्द्रु रानाभाटले गर्नुभएको थियो ।

काठमाण्डौँ :      राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक  विपद्का  क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।            राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उहाँले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय,क बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।”      कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका उहाँले उल्लेख गर्नुभयो ।     राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पुर्याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोेग गर्नुपर्ने बताउनुभयो । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो ।       कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो ।       यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।  कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो ।            नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।

कैलाली:    कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ ।      यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिशङ्कर ठाकुरले ४१९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित हुनुभएको छ ।      महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित हुनुभएको छ ।       सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।