पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

तनहुँ:  माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।   आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ ।   भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

पोखरा :    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा महानगरपालिका वडा नं. १६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पूर्व जनप्रतिनिधिको बिदाइ गरेको छ ।    विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, अविर र मायाको चिनोद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।  उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले यसलाई सहयोग गर्ने तर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफु पनि क्याम्पस संचालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  सभाध्यक्षको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आगामी असार १८ गते शनिबार बिहान १० बजे विन्ध्यवासिनी मा.वि.को सभाहलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम गर्ने जानकारी गराउँदै अधिवेशनलाई भव्य एवं सभ्य रुपमा सफल पार्न सबैलाई आव्हान गर्नु भयो ।    उक्त कार्यक्रममा क्याम्पस प्रमुख विजय शर्माले क्याम्पसको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो र क्याम्पसका लेखापाल भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।   

जुम्ला :       जुम्लाको तिला गाउँपालिका–  ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानहरु उत्साहित छन् ।  भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताउनुभयो ।      यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने छन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पुर्याउनुपर्ने छ ।”      पछिल्लो समयमा नेपालमा भेडाको उत्पादन घट्दो क्रममा रहेका अवस्थामा जिल्लामा भेडाको उत्पादन बढ्दै गएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।            पशु अस्पताल तथा पशुसेवा कार्यालयको एक पालिका एक पशु सेवाअन्तर्गतको कार्यक्रम हो । नौ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएको पशुसेवा कार्यालयले जनाएको छ । ऊनको उत्पादनबाट राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन हुने गरेको वडा पालिकाले जनाएको छ । 

काठमाण्डौँ :      गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको ‘अलिअलि तिमीसँग’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।   युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहनुभएका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ । शास्त्रीय सङ्गीत समिश्रण रहेको यस गीतमा गायक न्यौपानेकै सङ्गीत रहेको छ ।       गीतको एरेञ्ज रिदम कँडेलले गर्नुभएको हो । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय छ ।  ‘तिमीलाई ठेस लाग्दा’, ‘सातै जुनी साथ दिन्छु भनी भन्नु पर्छ र ?’, ‘नियाली हेर मेरा भावना ’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश छ ।        बुद्ध थापाले खिच्नु भएको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  यसअघि गीतकार श्रेष्ठको शब्दमा ‘कुरा नगरेकै जाति’ र सपनाको रङ्ग’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

लेखनाथ: बेगनासतालदेखि भोर्लेटार सडकको  बेगनासताल–तालवेसी खण्डको अवस्था अत्यन्त जीर्ण भएपछि स्थानीयवासीको  नागरिक सरोकार समितिले उक्त स्थानमा सांकेतिक विरोधस्वरुप आधा घण्टा बन्द गरेको छ ।    स्थानीय निर्वाचन अघिदेखिनै सडकको मर्मतसम्भारलगायतको काम गर्न सम्बन्धित निकायलाई पटकपटक जानकारी दिँदा पनि बेवास्ता गरेको समितिको आरोप छ । समितिका सदस्य दामोदारभक्त थापा भन्छन् ‘सरोकारवाला निकायजति सबैमा पुगेर सडकको अवस्था र यसले निम्त्याएको असहजताबारे अवगत गरायौं तर सुनुवाई भएन, अति भएपछि आज केही समय बन्द गर्न बाध्य भयौं ।’   निर्वाचनताका बजेट दिन नमिल्ने भनेपछि स्थानीयले पैसा उठाएर सडकका खाल्डा पुर्ने लगायतको काम गरेका थापाको भनाई छ ।    कास्कीलाई लम्जुङ्गको भोर्लेटारसम्म जोड्ने यो बाटो प्रदेश सरकार मातहतमा मर्मत तथा स्तरउन्नती हुँदै आएको छ तर काम भने तालबेसीदेखि भोर्लेटार बिचमा मात्र भएको छ  । राजनीतिक तथा पर्यटकीय हिसाबले ‌निकै   महत्वपुर्ण यो खण्डमा पर्यटकीय हिसाबले महत्वपूर्ण माजिकुना , बेगनासताल र रुपाताल एकै ठाउँबाट देख्न सकिने सुन्दरीडाँडा तथा पचभैया होमस्टे पनि छ ।    करिब ८ किलोमिटर सडक खण्ड साँघुरो र जताततै खाल्डो परेका कारण  पैदलै हिड्न समेत कठिन हुने अवस्था आएको स्थानीयको गुनासो छ ।    वैसाख महिनादेखि भौतिक पूर्वाधार विकास मन्त्रालय, महानगरपालिका, सडक डिभिजन कार्यालयलगायतका निकायसमक्ष आग्रह गर्दा पनि चासो नलिएको उनीहरुको आरोप छ ।    सबै सरोकावाला‌ निकायको बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्याको समाधान नभएपछि  समिति बाध्यभएर  सरोकारवाला निकायलाई साङ्केतिक  रुपमा दवाब दिन बाटो  बन्द गरेको समितिले जनाएको छ ।    समितिका अर्का एक सदस्य भन्छन् ‘हामीहरु बन्दको विरोधी हौं, बन्द हाम्रो चाहना होइन तर आफैलाई पर्दा हामी बाध्य भयौं ।’ आजको विरोध केवल सांकेतिकमात्र भएको भन्दै सदस्य थापाले अब पनि माग सुनुवाई नभएर यातायात सञ्चालनमा पूर्ण रोक लगाउन बाध्य हुने बताए । 

झापा:      अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बन्नुभएको छ ।       एक हप्ताको अन्तरालमा उहाँले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गर्नुभएको थियो । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उहाँले भन्नुभयो,“बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । ”      ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गर्नुभएका राईको खोरमै दैनिक छदेखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उहाँलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ ।     “हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे”, उहाँले भन्नुभयो, “पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।” बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उहाँको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ ।       विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताउनुभयो । 

काठमाण्डौँ :        कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ ।      कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले  आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौती वितरण गरेको छ ।   सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।       सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको भूभागमा कफीको लागि निकै नै उत्कृष्ट हावापानी रहेको जनाउँदै कफीको उत्पादन बढाउने आफूहरुको योजना रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।    जिल्लाको सुनकोसी गाउँपालिका कफी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको स्थानीय तह हो । यस पालिकाको कफी प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अष्ट्रेलिया निर्यात हुनेगरेको छ । सुनकोसी गाउँपालिकामा मात्रै ३०० रोपनी जग्गामा कफी खेती गरेर ४५० परिवार यसमै आश्रित भई आम्दानी गरिरहेका छन् ।

काठमाण्डौँ :      देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।      विभागका अनुसार सो प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।      हाल नेपालको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     रातिको समयमा देशको अधिकाश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं एक, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।       मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको ३९ अधिकतम तापक्रम दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौँ :      नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।      जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।      प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।