पोखरा: पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् । यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता सफल पार्न सिंगो पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए । सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो । दौडमार्फत पुम्दीभुम्दीको थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए । पूर्व अर्थ मन्त्री बरालले पोखरा २२, पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखरा २२ का अध्यक्ष बरालले उक्त कार्यक्रम आगामी दिनमा परिस्कृत पार्न सहयोग गर्ने बताए । प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद दिए । अनलाइन फारम भर्ने ३ देशका १ सय ४ जना मध्य शनिबारको पर्वतीय दौडमा भने ७९ जनाले मात्र सहभागि जनाएको प्रालिका व्यबस्थापक सागर सुनारले जनाए । दौडमा नर्वेका २ महिला सहित ७९ जना, प्रतियोगितामा ९ बर्ष देखि ५५ बर्ष उमेर समूहका धावकहरु सहभागी भएको पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताए । प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटी शिवदाइलाई मेडल प्रदान गरियो । कार्यक्रम संचालन संचारकर्मी दीपेन्द्र पहारीले गरे । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद लगायतको सहयोग थियो ।
पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहितत यही १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र भइरहेको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनका अनुसार नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए । गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए । ‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन् । उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’ उनले सो कार्यक्रमको उद्घाटनको अवसरमा पोखरा १५ मा क्रियाशिल आमा समूहरुको झाँकीसहितको र्याली प्रतियोगितासमेत आयोजना गरिने जानकारी दिए । ‘प्रतियोगितालाई भव्य बनाउका लागि हामीले उद्घाटन गर्नुअघि विभिन्न समूहको झाँकीसहितको र्याली प्रतियोगिता पनि राखेका छौ, उनले भने, ‘प्रथम हुने समूहलाई नगद रु ७ हजार र दोस्रो हुने समूहलाई नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गर्नेछौं । यसले स्थानीय स्तरको कला संस्कृतिको जगृेर्ना गर्न सघाउ पुग्ने विश्वास लिएका छौं ।’ प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८४६७७१७४३, ९८०६५०४५९९) बताइएको छ । सो प्रतियोगिता सफल बनाउनका लागि नयाँगाउँ युवा क्लब र संगम टोल विकास संस्थाको साथ रहेको विकास संस्थाका अध्यक्ष अदिप बरालले बताए । उनले युवाहरुको प्रतिभालाई उजागर गर्नका लागि सो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यस्तै उपविजेता पुरस्कार राशी सौजन्य गरेको फ्याङ्कलिन एजुकेशन एकेडेमीका प्रबन्धक निर्देशक कमल खड्काले प्रतियोगिताले फुटबलको विकासमा टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि सो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिदैं आफ्नोतर्फबाट सदैब सहयोग गर्न तयार रहेको बताएका थिए । उक्त प्रतियोगिताको मिडिाया पार्टनरका रुपमा सुनगाभा न्यूज रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको बताए । सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाई उनको छ । नेपालको संविधान २०७२ ले खेलकुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको जानकारी उनले गराए । मन्त्री थापाले खेल सम्बन्धि संघसंस्थाहरुको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय संरचना निर्माण भएको हुँदा सबै संघसंस्थाहरुले आ—आफ्नो साधारण सभा मार्फत अध्यावधिक हुनुपर्ने धारणा राखेका छन् । जसमा नेपाल क्रिकेट संघको थालनी अनुकरणीय र उदाहरणीय रहेको भनाई उनको छ । गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालनका लागि मापदण्ड लागु गरेको जानकारी उनले गराए । खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री÷कोच÷खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको भनाई उनको छ । यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भार सँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याएका छन् । गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जन सँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको भनाई उनको छ । नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेल लगायतले बोलेका थिए ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता २ दिनको लागि स्थगित भएको छ । गत ९ गतेदेखि जारी भलिबल अविरल वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अब बाँकी खेलहरु १३ गतेदेखि सञ्चालन हुनेछ। संयोजक खड्काका अनुसार पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
पोखरा: ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे । विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ । विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।
पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट स्पोर्टस प्रालिले पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आगामी कात्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको प्रतिनिधि राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता समूहलाई नगद रु २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र एउटा समूहलाई अनुशासित टिमको रुपमा ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८५६०१८२५०, ९८०६५१४८८०) आयोजकले जनाएको छ ।
काठमाडौं: भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए । जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए । सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे । ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए । हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए । बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

