पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलमा खेल पत्रकारको समूह विजयी बनेको छ । पोखरा रंगशालामा आज (शनिबार) भएको खेलमा खेल पत्रकारको समूहले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ गोलको अन्तरले सहज जीत निकाल्यो । खेल पत्रकार समूहको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १/१ गोलको योगदान दिए । मञ्चका लागि भने विरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १/१ गोल गरे । उक्त खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पारे । उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे । उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र सवाधिक गालकर्ताको ट्रफि खेल पत्रकारकै निकोलस गुरुङले प्राप्त गरे । गतवर्ष भएको खेलमा भने खेलकुद मञ्च विजयी बनेको थियो । खेलकुद विकास मञ्च खेलकुद विकासको क्षेत्रमा क्रियाशिल छ ।
काठमाडौं: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ । नेपाली टोलिका यसपटक तयारीका लागि पर्याप्त समय पाएकाले जित हासिल गर्ने बताउनुभयो । उहाँले तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । “तयारीका लागि करिब ४५ दिन समय पाएका थियौँ । गत वर्ष यु–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि आएका छन् । सन्तुलित समूह बनेको छ । हाम्रो लक्ष्य उपाधि जित्नु हो”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो । कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरु मानसिक रुपमा पनि तयार रहेको बताउनुभयो । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ । श्रीलङ्काका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो । बङ्गलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरु भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताउनुभयो । बङ्लादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउनुभयो । नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।
काठमाडौं: नेपालले आइसिसी १९ वर्षमुनि (यू–१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
पोखराः पोखरा महानगरपालिका ६ हल्लनचोकमा शनिबार (भदौं १) देखि हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको सम्पूण तयारी पुरा भएको छ । हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा हुने सो प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिता भदौ १ देखि ३ गतेसम्म हल्लनचोकको भलिबल कोर्टमा सञ्चालन हुनेछ । थापाले प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा अहिलेसम्म २५ भन्दा बढी टिमको दर्ता भइसकेको छ । भने, खेल शनिबार बिहान ८ बजेदेखि सरु हुने आयोजकले जनाएको छ ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रङ्गशालामा हुने सम्भावना कम भएको छ । अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रङ्गशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिनुभयो । उहाँले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताउनुभयो । उक्त रङ्गशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडौं आइपुग्नुभएको थियो । उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रङ्गशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर वर्षाका कारण दशरथ रङगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुङ्गो लाग्न सकेको थिएन । एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रङ्गशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताउनुभयो । यही साउन २९ गते दशरथ रङ्गशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो । त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो । जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए । यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो । साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ । भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन ।” उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उहाँले आज एएफसीबाट दशरथ रङ्गशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुङ्गो लाग्ने बताउनुभयो । प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रङ्शालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलङ्काबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने उहाँको भनाइ छ । भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलङ्का र भारत भोलि नेपाल आइपुग्नेछन् भने बङ्गलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।
काठमाडौं: नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ । आगामी भदौ २८ गते आयोजना हुने २१औँ संस्करणको उक्त अवार्ड विभिन्न दश विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला, वर्षको उत्कृष्ट युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विधा रहनेछ । उक्त अवार्डका लागि आयोजक मञ्च र गोल्छा ग्रुुपबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक मञ्चका अध्यक्ष सुवेदी र गोल्छा गु्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले उक्त अवार्डमा मुख्य प्रायोजकका रुपमा रहने विषयमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, अन्य विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल र पारा एथलिट विधाका विजेताले जनही रु एक लाख पुरस्कार पाउने छन् । अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरिएको मञ्चका अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसअघि उक्त विधाका विजेता खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङघ ९एआइपिएस, एसिया० को कङ्ग्रेस पनि नेपालमै आयोजना गर्ने भएको छ । उक्त कङ्ग्रेस आगामी भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कङ्गे्रसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । अघिल्लो वर्ष पुरुषतर्फ एथ्लेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथ्लेटिक्सकी राजपुरा पछाई, प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल र पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पल्सर स्पोर्टस अवार्ड जितेकी थिइन । त्यसैगरी, स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जित, पारा एथलिट सम्मान एथ्लेटिक्सकी पारा खेलाडी मैया विशुङ्खे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड हङ्कङका खेलपत्रकार चु चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।
पोखरा: पाोखराको पुरानो टुडिखेलमा हुने एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यही भदौ १ गतेदेखि ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगिताको तिब्र पारिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए । उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् । यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।
काठमाडौं: पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ । दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदकतालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

