महिलालाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

कैलाली | कात्तिक १४, २०८०

महिलालाई ठक्कर दिएर भागेका कार चालक पक्राउ

कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो ।


गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ ।

 


इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको बनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए ।

 

उनकाअनुसार रूपन्देहीको तिलोतमा नगरपालिका-११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो ।

 

भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ । पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ ।

 

डीएसपी बरालले राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धानमा सहयोगी बनेको बताए तर सीसीटीभी क्यामेराबाट सवारी साधनको नम्बर र मानिसको हुलिया स्पष्ट नदेखिंदा केही समस्या हुने गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्