यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडाैं | माघ ७, २०८०

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौं:   नेपाल आईसीसी यू–१९ विश्वकपमा  युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ ।


दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ ।


३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।


तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए ।  बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए ।


तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।


अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नटआउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।


न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २÷२ विकेट लिए ।


दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।


न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।

एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो ।


यी दुई ब्याटरबाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सनले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए ।


स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए ।


नेपालले यसअघि सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्