दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पाेखरा | माघ २८, २०८०

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा:      साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ ।


आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे । 


कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले महत्व राख्ने सरुभक्तको भनाइ थियो । उनले दीपक समीपलाई लामो सोचविचार गरेर लेख्ने साहित्यकारका रूपमा आफुले चिनेको बताए ।


कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ ओटा लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे । 


अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ थियो । ‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तिकिलो झट्का दिनु हो’ प्रतीक्षाले भनिन्, हास्यव्यङ्ग्यको प्रचूर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ ।’


कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराए जस्तै भएको धारणा राखे । भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन ।’ वि.सं. २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए । 


यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्व अध्यक्ष उनी लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन् ।


साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिनालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्