‘पुस्तकालय भएर मात्रै हुँदैन पढ्न अभिप्रेरित गर्नुपर्छ’

पाेखरा | फागुन ६, २०८०

‘पुस्तकालय भएर मात्रै हुँदैन पढ्न अभिप्रेरित गर्नुपर्छ’

पोखरा:     पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुची लाग्छ । 


पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन् । 


बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । ‘घरमा ड्याडी ममीले पुस्तक पढ्न एकदमै रुची दिनुहुन्छ । र उहाँहरुले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने ज्ञिजासा जागृती हुन्छ’, उनले भनिन् । 


विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ’, उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।


ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे । 


आर्या भन्छिन्, ‘यति धेरै पुस्तक छन् की तिन वटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।’ 


पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् ।  


‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ’, उनको सुझाव छ । विद्युत्तिय सञ्चार माध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन् । 


‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुदैन  । रुची अनुसारको पढ्न प्रेरित गरेमा उनीहरुले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्’, उनलाई लाग्छ । 


सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक  हो ‘मुना मदन’ । बाल्यकालमा उनका शिक्षकले मुना मदनको चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन  । 


जब गाउँमा कक्षा ५ सम्मको पढाई सकेर पोखरा झरे बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए । 


साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन् । ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ । अरुमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ’, उनले सुनाए ।


विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।’ विदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् । 


‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे । 


पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुची अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्