इलाम २ उपनिर्वाचन: ५७ प्रतिशत मतदान
इलाम | बैशाख १५, २०८१
इलाम: इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए ।
अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनले बताए । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।
मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल)मा हुनेछ ।
वि.सं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गरेका थिए । एमाले र काँग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

