सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका लागि एकदिवसीय सचेतनामुलक कार्यक्रम
पाेखरा | जेठ १९, २०८१
पोखरा: पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ ।
सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।
सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।
सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ, आचार्यले भन्नुभयो, यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगीता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिङ्गो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उहाँले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिनेमा जोड दिनुभयो । कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उहाँले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताउनुभयो । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ ।’ उहाँले भन्नुभयो । विना कारण कतिपय व्यक्ति वा समुहरु सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उहाँले यसको दुरुपयोग रोक्नुपर्ने बताउनुभयो ।
‘यो आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने हो भने यो २१ औँ शताब्दीका मानिसहरूका लागि वरदान नै हो । हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ ।’ नगर प्रमुख आचार्यले भन्नुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले युवाहरूको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । युवाहरू इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवाहरूसँग चर्चा परिचर्चा र परिसंवाद गर्नुभएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

