२१ दिन अघि किनेका थिए बस

काठमाडाैं | असोज २२, २०८१

२१ दिन अघि किनेका थिए बस

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन ।

 

गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो । काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो ।

 

घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले ।

 

दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे ।

 

घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए ।

 

घटनास्थलमै पुग्नुभएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो ।

 

साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो ।

 

अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो ।

 

घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् ।

 

अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 

गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउनुहुन्छ ।


 

यो पनि पढ्नुहोस

 

 

हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उहाँको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “काठमाडाँैबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।”

 

उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाउनुभएको थियो । उहाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

 

बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

 

गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्