मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र

मुस्ताङ | असोज २२, २०८१

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

 

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

 

वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

 

“लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो”, उनले भने, “उपचार केन्द्र प्रभावकारी बनेका छन् ।”

 

मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताए ।

 

रानीपौवाबाट  मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो ।

 

सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए ।

 

उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ ।

 

बिहान ६:०० देखि दिउँसो ३:०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८–७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०–८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए ।

 

लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् ।

 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्