पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
पाेखरा | मंसिर १४, २०८१
गण्डकी: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता’का निम्ती भावी रणनीति तय गर्न आयोजित छलफल एवं अन्तरक्रियामा वक्ताहरूले विभिन्न कुनै पनि बहानामा अन्तर्राष्ट्रिय उडान गराउने कुरालाई प्रभावित पार्न नहुने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सङ्घको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताका लागि सङ्घले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने बताउनुभयो ।
सङ्घको विसं २०४२ मङ्सिर २ गते भएको कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति दबाब दिने, पैरवी गर्ने निर्णयसँगै त्यसपछि विभिन्न चरणको लामो सङ्घर्षका जगमा विमानस्थल बनेको उहाँले स्मरण गर्नुभयो ।
पछिल्लो समय विमानस्थलका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चिर्नुपर्ने बताउनुुभयो । उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विमानस्थल चल्दैन भन्ने सोचलाई तत्काल खारेज गर्नुपर्छ ।”
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान हुनुपर्ने धारणा राख्दै उडान सञ्चालनका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल चाल्नुुपर्ने बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जसुधा सुवेदीले विमानस्थल अत्याधुनिक रहेको बताउँदै हालसम्म भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि गरेको बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकास साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै अवरोध नभएको बताउनुभयो । विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औँल्याउँदै उहाँले विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताउनुभयो ।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पका बेला एक सय ७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराउँदै प्राविधिक रुपले समस्या रहेकाजस्ता कुरा हल्लामात्र भएको जिकिर गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नका लागि यात्रु हुनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटा लगायतले अन्तराष्ट्रिय उडान नहुनुका पछि भू–राजनीति, नागरिक उड्डयन प्राधिकरणकै लापर्वाहीलगायत धारणा आइरहँदा प्राधिकरणले नै ती प्रश्नको जवाफ दिनुुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

