थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा
म्याग्दी | मंसिर २०, २०८१
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।
थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताउनुभयो ।
“भिरको बीच भागमा रहेको गुफामा पुग्ने पदमार्ग बनेपछि यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउनका लागि गुरुसाङ्वो गुफालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएका हौँ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गुरुसाङ्वो गुफासम्म पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएका छन् ।
गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिनुभयो ।
वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आवमा गण्डकी प्रदेश सरकारले रु २० लाख र गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ ।
बेनी–जोमसोम सडकको लार्जुङ र बोक्सीखोलाबाट नाउरीकोटसम्म सवारीसाधनमार्फत र त्यहाँबाट ४५ मिनेट पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीस्थित पहाडको बीच भागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ । भिरालो गुफा करिब ५० मिटर लामो छ ।
गुफाभित्र गाईको सिङ्ग, भैँसीको थुन, हात्तीको सुढ, विभिन्न देवीदेवताका मुर्ति, पहाड, नदीनालालगायत आकृति देखिन्छन् । गुफाको मुनी झरना छ । वौद्ध धर्मावलम्बीका धर्मगुरु रिम्पोचेले तपस्या गरेकाले गुरुसाङ्वो गुफाको धार्मिक महत्व रहेको मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।
उहाँका अनुसार नाउरीकोट गाउँबाट गुफा नजिकै जोड्ने लामो झोलुङ्गे पुल निर्माणका लागि हालै सर्वेक्षण पनि भएको छ । गुफा परिसरमा समुदाय स्थलमा लामाहरूको बसोबासका लागि आश्रयस्थल निर्माण भएका छन् ।
सिक्सीमका १ जना वौद्ध धर्मावलम्बीले व्यक्तिगत लगानीमा गुम्बाबाट करिब पाँच सय मिटर तल छोर्तेन निर्माण गर्नुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

