रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी

काठमाडाैं | असार २५, २०८२

रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौं:  नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । 


रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।


उहाँले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो ।


प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव  छन् ।


चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उहाँले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताउनुभयो । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् ।


“बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीका कारण यकिन भइसकेको छैन तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुनसक्ने आशङ्का गरेका छन”, उहाँले भन्नुभयो । 


मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको बताउनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्