ठेक्का तोड्दा तीन गुणाले बढ्यो भैरवस्थानको भेटी
बाग्लुङ | साउन ११, २०८२

गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।
धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।
दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ । समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो ।
मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१(८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो ।
“आव २०८०(८१ मा ठेक्कामार्फत नौ लाख रुपैयाँ आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा २७ लाख रुपैयाँ आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष ढकालले भन्नुभयो, “कोरोना महामारीमा ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको मन्दिरमा अहिले २७ लाख रुपैयाँ सङ्कलन भएको र आगमी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा छ ।”
पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत पूर्वाधारमा ८० लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिनुभयो ।
समिति, सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार निर्माणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परिक्षण गराउँदै आएको बताउनुभयो ।
समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगामी वर्षबाट मन्दिरको मासिक आम्दानीसमेत भइरहेको छ । अहिले मासिक ३० हजार रुपैयाँमा सटर भाडामा लागाइएको छ ।
समुद्री सतहबाट एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।
तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ ।
कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटर, सक्तललगायत पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ ।
विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ ।
पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...