बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए ।   होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले जनाएको छ । “शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह तथा शाही परिवारलाई आत्मीय भोजन अनुभव प्रदान गर्ने अवसर पायौं,” होटलले भन्यो ।   भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ।   उनले पोखराको आतिथ्य संस्कृतिलाई प्रशंसा गर्दै यस्तो स्तरका सेवाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने संकेत गरेका बताइएको छ।   पूर्व राजपरिवारले शान्त र निजी वातावरणमा चिनियाँ परिकारको स्वाद लिँदै पारिवारिक समय बिताएका थिए। अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा गुणस्तरीय चिनियाँ खानाका लागि परिचित रहँदै आएको छ।   पोखरामा उच्चस्तरीय अतिथि आगमनले समग्र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी ३१ पार्क होटलजस्ता आतिथ्य सेवा प्रदायक संस्थाहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै पोखरालाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।   स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्चस्तरीय भ्रमण र सकारात्मक प्रतिक्रियाहरूले पोखराको छवि अझ सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ। निजी तथा अनौपचारिक भए पनि पूर्व राजपरिवारको उपस्थिति र उनीहरूले दिएको सन्देशले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ ।   आगामी वैशाख ६ गतेदेखि ११ गतेसम्म ६ दिने यस पदयात्रामा बेलायत र नेपालका गरी ५० भन्दा बढी सहभागी हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । तमु शास्त्र (प्ये) अनुसार क्होला सोँप्री ट्हो तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलो मानिन्छ ।   सन् २००० तिर क्याम्ब्रिज विश्वविद्यालय र नेपालको पुरातत्व विभागले गरेको उत्खननका क्रममा यहाँ फेला परेको कोइलाको परीक्षण गर्दा यो स्थल करिब १३ सय वर्ष पुरानो भएको प्रमाणित भएको थियो । तर, देशको द्वन्द्वकालीन परिस्थितिका कारण बीचमै रोकिएको उत्खनन कार्यलाई पुनः गति दिन र यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यलाई दबाब दिने उद्देश्यले यो भ्रमण तय गरिएको हो ।   भ्रमण टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुका अनुसार वैशाख ६ गते पोखराको फ.लि.ना. क्होँइँवोबाट यात्रा सुरु गरी टोली लमजुङको भुजुङ पुग्नेछ । त्यसपछि क्होलामा पुगेर टोलीले त्यहाँको सिमेभुमे र पितृ–पुर्खाहरूको सम्मानमा ‘छ्योप’ र ‘थासो’ पूजा गरिने टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुले बताए ।   उक्त थलोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहन गर्नका लागि ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी क्होला सोँप्री ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्य राखेको तमु प्ये ल्हु संघ युकेका सचिव भेग गुरुङले बताए ।   उनका अनुसार भ्रमणको छैटौं दिन टोली सिक्लेस हुँदै पुनः पोखरा फर्कने छ । सो टोलीले पोखरा फर्केपछि स्याङ्जा, कास्की, गोरखा, तनहुँ, चितवन र नवलपुरका १० वटा निर्माणाधीन क्होँइँवोहरूलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने सचिव गुरुङले बताए ।   पदथात्राको क्रममा कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा स्वास्थ्यकर्मी, प्राथमिक उपचारक र आपतकालीन उद्धारका लागि हेलिकप्टरसम्मको प्रबन्ध मिलाइएको छ ।   तमु प्ये ल्हु संघ केन्द्रीय समिति, कास्की र लमजुङ जिल्ला समिति तथा स्थानीय भुजुङ र सिक्लेसवासीले यस ऐतिहासिक भ्रमणको व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ ।

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ।   अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्‍याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।   पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटक आउन नसक्दा होटल, ट्राभल र ट्रेकिङ बुकिङहरू धमाधम रद्द हुँदै छन्। युद्ध लम्बिँदा व्यवसायीहरू समेत समस्यामा परिरहेका छन्। मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ।   होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठुलो सिजनमा अपेक्षाकृत पर्यटकको संख्या कम भएको बताए ।  उनले भने “अमेरिकाले अत्यावश्यक काम बाहेक नागरिकलाई विदेश ननिस्कन एड्भाइजरी जारी गरेको कारण अमेरिकी पर्यटक न्यून छन्। युरोपियन पर्यटक पनि अपेक्षाकृत कम सङ्ख्यामा आउँदैछन्। यद्यपि भारतीय र आन्तरिक पर्यटकको आगमन सामान्य छ।”    

गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।  उहाँका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा ९होमेस्टे० घरबासलगायत  विषयमा जानकारी प्रदान गरिने छ ।  केन्द्रमा एक्यापबाट एक र स्थानीय एकजना कर्मचारी व्यवस्थापन गरिने छ । केन्द्र सञ्चालनसँगै सिक्लेस आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क राखिने वडाध्यक्ष गुरुङले बताउनुभयो । वरिपरिबाट जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायका धार्मिक आस्थाका पवित्र कोइबोले सजिएको छ । यो गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । सिक्लेस नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ । पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा रहेको सिक्लेसबाट गुुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यमा पदयात्रामार्फत जान सकिन्छ ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।  सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ ।  उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।  गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक यहाँ आएको तथ्याङ्क छ ।  एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा  यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट दुई हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो । हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ ।  सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ ।   एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुभयो । यहाँ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले यहाँ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिनुभयो । 

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । परापूर्वकालमा तपस्या गर्न ऋषिमुनिहरू आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले बताए । ‘पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,’ उनले भने, ‘स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।’ बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताए । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए । उनका अनुसार समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रममा दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । फाट्टफुट्ट रुपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरू स्वर्गाश्रममा आउने गरेका छन् । हिमालको काखमा शान्त वातावरणमा योग, ध्यान र विपाशनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताए । अर्का योगी त्रीशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताए । स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ । जहाँ हिमशृङ्खला अवलोकन गर्दै वनभोज खान सकिन्छ । हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुङ्गासम्म रथयात्रा गर्ने चलन छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र सङ्घ संस्थाले साझेदारी गर्दै आएका छन् । स्वर्गाश्रमको महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो । बेनी नगरपालिका–३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो । दिवसको अवसरमा योग, ध्यानको नमूना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए । बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ । बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ । त्यहाँ कच्ची सडक पुगेको छ । धम्जामा बेलढुङ्गा होमस्टे सञ्चालन भएको छ । भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुङ्गा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन् । भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णमाया जिसीले बताइन् । आफैँ बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन् ।

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँच वटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले एकजुट गराएको छ । गत बिहीबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकालाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो । बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृङ्खला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ ।  यसबाट स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ । साथै यस क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ । भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्ययोजना बनाउनेबारे तीनदिने गोष्ठी तथा तालिम सञ्चालन भएको अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले बताइन् । तालिममा पाँचैवटा गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखले सहभागिता जनाएको उनले जानकारी दिइन् । तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतमलगायत सहभागी थिए ।

पोखरा:   होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ ।   संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए ।   कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे ।   कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाई थियो ।   ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ ।   पोखरा रातभरि खुल्ला भन्ने भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्ने गर्दा व्यवसायीले दुःख पाएको अध्यक्ष सुवेदीले गुनासो गरे ।   तीन सिफ्टमा हामी कर्मचारी व्यवस्था गरेर रातभरि सेवा दिन सक्ने अवस्था छै्रन, उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्नुहुन्छ । २४ घण्टा पोखरा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरी उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए ।   कार्यक्रममा सुवेदीले पोखरा र सिंगो नेपालको प्रवद्र्धनका लागि जाउँ है पोखरा, चलिए पोखरा र पोखरा: प्युर एण्ड पर्फेक्ट जस्ता अभियान संघले संचालन गर्दै आएको स्मरण गराए । यस्तो प्रवद्र्धनका कारण पोखरा आउने तीन प्रतिशत नेपाली पर्यटकको दर अहिले ४० प्रतिशत पुगेको तथ्यांक अध्यक्ष सुवेदीले सुनाए ।   भाइटिका महोत्सव जस्ता कार्यक्रमलाई पनि निरन्तरा दिइएको उनले सम्झाए । पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान संचालनका लागि कतिपय देशका राजदूतसँग संघले छलफल गरेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।   अर्को प्रसंगमा बोल्दै सुवेदीले २५ बेड भन्दा माथिका होटललाई वातावरणीय प्रभाव मुल्यांकनको अनिवार्य व्यस्था गरेर सरकारले व्यवसायीलाई दुःख दिएको गुनासो गरे । साना होटलले यस्तो व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको भन्दै यस्तो नियम अव्यवहारिक हुँदा थुप्रै होटलहरु नविकरण हुन नसकेको उनले बताए ।   कार्यक्रममा संघका सचिव पार्वती पाण्डेले संघका भावि कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । संघका कोषाध्यक्ष नेत्र प्रसाद पौडेल (रमेश) ले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विशाल ग्रुपका तरुण अग्रवालले पनि कम्पनीले विक्रीवितरण गर्दै आएका विद्युतीय सवारीबारे जानकारी गराएका थिए ।    कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठले उपस्थिति सबैलाई धन्यवाद दिए । सो अवसरमा होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालविच पोखरालाई दिगो पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यले एक सम्झौता पनि गरिएको थियो । यसमा दिगो परियोजना स्वीसकन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ । --

काठमाडौं:   यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।  मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ । तत्कालीन समयमा यहाँको कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे ।  मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे । त्यतिबेलाको अवस्थामा  झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ । कागबेनी–मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी–मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ । झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भएता पनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ । “दिनहँु सयौँ तीर्थयात्री हाम्रै गाउँको बाटो ओहोरदोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न”, स्थानीय गुरुङले भन्नुभयो, “तीर्थयात्री र पर्यटक सिधै आउँछन् जान्छन्, हामी त हेरेको हेर्यैमात्र ।” प्राचीन वस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उहाँको भनाइ छ । यतिबेला झारकोट गाउँमा युवायुवतीको सङ्ख्या एकदमै कम छ । अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासी गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुला छ, तर विकासलाई समृद्धिमा बदल्ने युवायुवती नै बाहिर पुगिसके, अब गाउँको आर्थिक विकास कसले गरिदेला र रु”, उहाँले भन्नुभयो ।  यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ ।   पछिल्लो समय मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको स्थानीय गुरुङले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र–१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको ९केनिल० मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ । यहाँ प्राचीनकालमा निर्माण भएका ढुङ्गा र माटोले निर्मित पुराना घर अझै जीवन्त रहेका छन् । गाउँमाथि केहीपर तोराताल अवस्थित छ । ताल वरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो ।  पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताउनुभयो । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।