काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

म्याग्दी:    पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । ‘राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो,’ उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।’ सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०राष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् । दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए । गबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले राससलाई बताए ।

गण्डकी:    झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको सङ्ग्रहालयमा विभिन्न ९३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।      ‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रुपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व. डोरोथी मिरोले स्थापना गर्नुभएको हो । तत्कालीन समयमा हाल रहेको सङ्ग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिनुभएको हो ।  सङ्ग्रहालय परिसरमा पुग्नासाथ सङ्ग्रहालय भवनका बाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरुपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त सङ्ग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ । मिरोले स्थापना गर्नुभएको सङ्ग्रहालयमा पुतलीहरूको सङ्कलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गर्नुभएका स्व. कोलिन फिलिप स्मिथले गर्नुभएको हो । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू सङ्कलन गरी ल्याउनुुभएको सङ्ग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालयमा नेपाल भित्र पाइने ५८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३५० प्रजातिका पुतली रहेका छन् । मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृत्तिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रुपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूभागमा पाइने जीवजन्तु बारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुुनामा नेपालमा पाइने हिमाली जीवजन्तुुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सकृय हुने जीवजन्तुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिल आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुने गरेका छन् । सङ्ग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुट्टै रोमाञ्चक अनुभूति गर्दछन् ।     त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालका काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ क्रोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुझ्न चाहनेलाई फाइदा पुगेको परियारले जानकारी दिनुभयो ।  यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो सङ्ख्यामा पुतलीहरू सङ्ग्रह गरिएको सङ्ग्रहालय भएका कारण पुतलीको अध्ययन अनुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताउनुभयो । पुतलीकै कारण यसलाई पुतली सङ्ग्रहालयका रुपमा चिनिन्छ । नेपालमा पाइने ५८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३५० प्रजातिका पुतली सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । विश्वकै सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूभागमा पाइने पुतली सङ्ग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिनुभयो । अध्ययनले पुतलीहरू थोराङ् पास गरेको पाइएको उहाँको भनाइ छ । ठाउँ र परिवेश अनुसार पुतलीहरूमा फरक पन पाउन सकिने उहाँले बताउनुभयो ।  पुतलीबारे जान्न र बुझ्न चाहनेका लागि सङ्ग्रहालय पुग्नैपर्ने गन्तव्य जस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताउनुभयो । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा विताएका स्मिथ पुतली बाजेका रुपमा चिनिनुहुन्थ्यो । बेलायतमा जन्मिएर नेपाललाई आफ्नो कर्मस्थल बनाउनुभएका उहाँ ८७ वर्षको उमेरमा पोखरामा दिवंगत बन्नुभएको हो । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा विताउनुभएका उर्हाँ नेपालमा पाइने पुतलीहरुको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रुपमा नामले प्रसिद्ध बन्नुभएको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । जीवनको करिब छ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा विताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उहाँ पहिलोपटक २०२२ सालमा बेलायतबाट नेपाल आउनुुभएको थियो । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उहाँ ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उहाँ नेपाल आउनुुभएको थियो । तत्कालीन समयमा उहाँले गोरखाको विद्यालयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, बरिष्ठ चिकित्सक स्व. उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई  अध्यापन गराउनुभएको थियो ।  तीसवर्षे उमेरमा नेपालमा आउनुुभएका स्मिथले ५८ वर्षको नेपाल बसाइका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणमा विताउनुुभएको थियो । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग छ वर्षे सम्झौता गरेर उहाँले करिव २५ हजार पुतली सङ्कलन गर्नुभएको थियो । तत्कालीन सयमा उहाँले नेपालका लगभग ४० जिल्लामा पुगेर पुतली सङ्कलन गर्नुभएको हो । पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उहाँको ठूलो मोह थियो । उहाँले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली सङ्ग्रहालयमा छन् ।  सन् १९६६ सालमा नेपाल आउनुुभएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको थियो । उहाँको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् सङ्कलनमा जीवन व्यतित गरेका उहाँको सम्मानमा सङ्ग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उहाँका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिर सहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहा पुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् ।  विश्वमा पाइने १७ हजार पाँँच सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पु¥याउने भएकोले किसानको साथीका रुपमा पनि यसलाई लिने गरिन्छ । सङ्ग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोशाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुझ्न मद्दत पुगेको छ । सङ्ग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुुझ्ने व्यवस्था मिलाईको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुगेर जान्न र बुझ्न सकिन्छ । सङ्ग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताउनुभयो । “पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि सङ्ग्रहालयमा चित्रण गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यस्ता सङ्कलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुझ्न योगदान गर्दछ ।” सङ्ग्रह गरिएका पुतली एवम् अन्य समाग्रीलाई वर्षौंसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो । सङ्ग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुरुङ्गी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुग्ने गरेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउनुहुन्छ । “हामी सङ्ग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ”, उहाँले भन्नुभयो, “सङ्ग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौंसम्म जोगाउनु ठूलै चुनौतीका रुपमा रहेको छ ।” सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल छ हजार ५३५ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये तीन हजार ५१९ जना नेपाली, ५२२ जना विदेशी र दुई हजार ४९४ जना विद्यार्थी रहेको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयमा पुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एकपटक पुग्नैपर्ने गन्तव्यका रुपमा चित्रण गर्ने गर्दछन् । 

पोखरा:     पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन तयारीमा जुटेको छ । पर्यटन विज्ञसहितको सो अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र संघ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो । “समितिको पहिलो बैठकबाट पर्यटकीय राजधानी घोषणाको अवधारणा र अध्ययन प्रतिवेदनको मस्यौदा तयार गर्र्यौ”, अध्ययन समितिका अध्यक्ष डा।देवकोटाले भन्नुभयो, “समितिको पछिल्लो बैठकले प्रतिवेदनमा समेटिने विषयवस्तुको टुङ्गो लगाएको छ, सरोकारवालाहरुसँगको थप छलफलपछि अध्ययन प्रतिवदेनलाई अन्तिम रुप दिन्छौँ ।” समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई यही पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेस गरिने उहाँले बताउनुभयो । “पर्यटनमन्त्री, सचिवलगायत मन्त्रालयका पदाधिकारी पनि यस कार्यमा तल्लीन भएर लाग्नुभएको छ, पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटिन्छ”, अध्ययन समितिका अध्यक्ष डा।देवकोटाले भन्नुभयो । नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचार(प्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न समितिले अध्ययन थालेको उहाँको भनाइ छ ।  पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने सम्बन्धमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसअघि तयार पारेको अवधारणापत्रलाई आधार मानेर समितिले थप अध्ययनको काम गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले समितिको अध्ययन प्रतिवेदन आएपछि सोअनुसार पर्यटकीय राजधानीको घोषणाका लागि आवश्यक पूर्वाधार तयारीका काममा प्रदेश सरकार केन्द्रित हुने बताउनुभयो । “पर्यटकीय राजधानी घोषणाका लागि चाहिने पूर्वाधार र मापदण्ड पूरा गरेपछि संघ सरकारकोसँगको समन्वयमा घोषणाको प्रक्रिया अगाडि बढ्छ,” उहाँले भन्नुभयो । मन्त्री थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश आफैँ पनि सक्षम र तम्तयार रहनुपर्ने धारणा राख्नुभयो । मन्त्री थापाले पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटन क्षेत्रलाई लिइएकाले पर्यटकीय राजधानी घोषणाले पर्यटनमा स्रोतसाधनको पहुँच र लगानी विस्तार हुने उहाँको भनाइ छ । पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौ भइसकेको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणाको माग गरिएको बताउनुभयो ।  “पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा यसले दूरगामी महत्व राख्छ ।” पर्यटकीय गतिविधि, सहज पहुुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउ छन् ।  हिमाल र ताल तलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।    फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटक लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।    पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टुराँ, कफी सप, बार, लाउन्ज बार, सभा(सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ । पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् । बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन् ।  संकटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् । पर्यटकको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक संगठन क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको हो । नेपाल आउने विदेशी हुन् या स्वदेशी पर्यटक कम्तीमा एकपटक पोखरा जान नै खोज्छन् । स्वदेशी अर्थात् आन्तरिक पर्यटक त एक पटक मात्र पोखरा पुगेर अघाउँदैनन् ।  कलेज या विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमण होस् या अन्य विभिन्न संघसंस्था या व्यक्तिको घुमघामको कार्यक्रम सबैभन्दा पहिलो रोजाइ पोखरा नै हुने गर्दछ । पोखराको पर्यटनसम्बन्धी एक अनुसन्धानका अनुसार नेपाल आएका कम्तीमा पनि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा आउने गर्दछन् । नेपालका ट्रेकिङ एजेन्टस् या पर्यटन व्यवसायीले आफ्ना पर्यटकलाई पोखरा लैजाने प्याकेज अनिवार्य बनाउन चाहेका हुन्छन् । नेपालमा आउने पर्यटकको बसाइ लम्ब्याउन पनि पोखरालाई भ्रमण गन्तव्यमा पार्नु जरुरी छ ।  त्यसैले पोखरालाई पर्यटनको राजधानी बनाउन यहाँका सरोकारवाला व्यवसायी, स्थानीय तह तथ प्रदेश सरकार नै लागेको हो । यस विषयमा अध्ययन जारी रहेकाले छिट्टै नै यस कार्यले पूर्णता पाउनेमा यहाँका पर्यटन व्यवसायीहरु विश्वस्त रहेका छन् । 

पोखराः   तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ स्थित घलेलमा २५ औं ल्होछार घलेल महोत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष बिराज गुरुङले जानकारी दिए ।   उनका अनुसार ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला  कुर्ची दौड प्रतियोगिता समावेश गरिएको छ ।   अध्यक्ष गुरुङले ल्होछार घलेल महोत्सवमा आयोजित गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेताले नगद ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।    उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा  सहभागि हुन एक समूहलाई ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   यस्तै प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले २ वटा भालेसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क कायम गरिएको छ ।   यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ ।    यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।    मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेषप्रस्तुती दिने आयोजकले जनाएको छ ।  

म्याग्दी:     केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।   पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।  होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो ।   “घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना  र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो । गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।   विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ ।   जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताउनुभयो ।  विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताउनुभयो । सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् ।   आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ । यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् ।   सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् । 

पोखरा:   नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट पोखरामा सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उनले भने । महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने सिन्दुराकारले जानकारी दिए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।  महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् । उक्त बहस डिसेम्बर ११ मा दिउँसो १ बजेदेखि सुरु हुनेछ । महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।

काठमाडौं:   विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । नेपालमा ट्रेकिङको सम्भावना र महत्त्व देखेर नै विश्वका नागरिक यहाँ यसैका लागि आउने गर्दछन् । तर पनि यसको अस्तित्व जोगाउन भने हम्मेहम्मे परिरहेको देखिन्छ । अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि व्यक्तिगत शारीरिक तथा स्वास्थ्य समस्या अर्को ठुलो चुनौती हो । जोखिम मोलेरै गर्ने यात्रा हो ट्रेकिङ । यसबाट प्राप्त हुने मजा भने हरेक व्यक्तिले फरकफरकरुपमा लिन सक्दछन् ।  प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो । तर पनि यसको सट्टा पदमार्ग रुट एकपछि अर्को गरी खण्डहर बनाउने काम जारी छ । यसका कारण नेपाली पर्यटनको मौलिकता हराइरहेको छ ।  सडक निर्माणका कारण अर्ग्यानिक ट्रेकिङ रुट हराउँदैछन् । कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ । जथाभावीरुपमा शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा अघि सारिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ । त्यसमा पनि व्यवसायीका कतिपय नकारात्मक गतिविधिलेसमेत असर गरिरहेको त छँदैछ । जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्नपूर्णमा परमिट लिन्छ । लाङटाङ, मनास्लु पनि छ । मुस्ताङमा त ५०० अमेरिकी डलर नै लिन्छ । डोल्पोमा पनि प्रतिदिन शुल्क लिने गरेको छ । त्यो सबै संरक्षण क्षेत्रले लिन्छ । तर पूर्वाधार केही नभएको उहाँले बताउनुभयो । टानका सचिवसमेत रहनुभएका उहाँले भन्नुभयो, “बाटो अलिअलि बनाएका छन् अरू केही छैन । अप्ठ्यारो पर्दा हेलीमा उठाएर लैजानेभन्दा अरू विकल्प नै छैन । त्यसरी पैसा लिने गरेपछि बिमा पनि गरे हुन्थ्यो । पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन । सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ ।” उहाँका अनुसार मनास्लु जानुपर्‍यो भने त्यसको छट्टै कर छ, अलिकति अन्नपूर्ण छुन्छ, त्यहाँ छुट्टै लिन्छ । लजका आफ्नै मूल्य छन् । दुई लिटर पानी उमालेर दिएको रु पाँच सय तिर्नुपर्छ । एउटा अण्डाको रु पाँच सय तिरेर खानुपर्ने अवस्था पनि छ । उहाँले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिने गरे पनि त्यहीअनुसारको पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताउनुभयो ।  अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न । रुट पनि सकिने अवस्थामा छन् । नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक हुनुपर्ने उहाँको सुझाव छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अनुसार ट्रेकिङ नेपालको उत्कृष्ट गन्तव्य हो । धेरै पर्यटक यसैका लागि नेपाल आउँछन् । तर सम्भावना भएर पनि चुनौती थपिँदै गएको टानको भनाइ छ । यो मौसममा मनमोहक दृश्य देखिन्छ तर हिमपात सुरु भएकाले प्राकृतिक चुनौती पनि उत्तिकै छ ।  टानका महासचिव विनोद सापकोटाका अनुसार यसपालि अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल, मे मुख्य ‘सिजन’ हो । तर अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन् । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने उहाँ बताउनुहुन्छ । त्यसरी जाने पनि छन् । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन् ।  नेपालमा अनुमानित दुई लाख बढीले ट्रेकिङ गर्ने गरेका बताइन्छ तर यकिन तथ्याङ्क भने छैन । नेपालमा ट्रेकिङ क्षेत्रमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित भएका छन् । व्यवसायी संसारको सबैभन्दा राम्रो टे«किङ गन्तव्य नेपाल भएको दाबी गर्छन् । नेपालमा अझै पनि दुई सय ५० जति सम्भावित टे«किङ क्षेत्र रहेका बताइन्छ । त्यसमध्ये नौर१० वटाबाट मात्र फाइदा लिन सकिएको छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । केही नयाँ रुटको प्रचार हुन सकेको छैन । चिसोमा ट्रेकिङ: मजा र जोखिम दुवै  केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताउनुभयो । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित छ भने कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध हुन पुगेकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउँछन् ।  यसपालि गत वर्षकोभन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तपाईँमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रममा रहेको छ । देशैभरको मौसम चिसो हुँदा प्रत्यक्ष प्रभाव ट्रेकिङ क्षेत्रमा पनि हुन्छ । ट्रेकिङको मौसम करिब सकिएको भए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटक ट्रेकिङमा छन् ।  महासचिव सापकोटा हिमपात भएसँगै ठुला हिमालमा हिउँ थपिने र दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने बताउनुहुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति विना ट्रेकिङ जानु हुन्न । हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ ।  “यसरी जाँदा कपडा पनि क्षेत्रअनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ परेर बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ”, सापकोटा भन्नुहुन्छ, “यतिबेला माथिल्लो लेयरमा हिउँ पर्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुटाइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ ।” त्यहीअनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुपर्ने उहाँको सुझाव छ ।  नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोराम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउनुहुन्छ । उहाँका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ ।  “बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । दशदेखि ४ बजेसम्म हिउँ पग्लिँने हुँदा जोखिम बढी हुन्छ । त्यही भएर पथप्रदर्शकले ख्याल गर्नुपर्‍यो । अनुभवी पथप्रदर्शक ‘गाइड’को निर्देशनमा हिँड्नुपर्छ”, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्नुहुन्छ, “अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुल्न सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्‍यो खाना त्यहीअनुसार तातो खानुपर्छ र वासस्थानको पनि सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।” उहाँले यो समयमा होटल पनि बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै पदमार्गमा जानुपर्नेमा जोड दिनुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरूले सावधानी अपनाउनुपर्ने जनाएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीतलहरूसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तपाई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गर्नुभएको छ ।  जनस्वास्थ्यविद्को सुझाव जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेका अनुसार ट्रेकिङमा जाँदा ठुलो कुरा अक्सिजनको अभाव हुन्छ । जति उचाइमा जान्छौँ अक्सिजनको मात्रा कम हुने गर्छ । जाडोमा चिसो पनि धेरै हुन्छ । त्यसकारण पर्याप्त तयारी गर्नुपर्छ । श्वाससम्बन्धी वा दीर्घ रोग छ भने पर्याप्त औषधी लैजान भुल्नु हुन्न । हिमपात, हिमपहिरा खस्ने र बाटो पुरिने पनि हुन्छ । यस्ता विषयमा पहिले नै ध्यान दिनुपर्छ ।   यस्ता ठाउँमा जाँदा हिमाल चढिरहेका विज्ञ पथप्रदर्शकसँगै जानुपर्ने हुन्छ । हिमाल चढ्दा धेरै दुर्घटना हुने गरेको छन् । “चिसोले, अक्सिजनको कमीका कारण विभिन्न समस्या आउने, निलो भएर झमझमाउने, अचेत हुने, ‘सेन्स’ हराउने पनि हुन्छ । जति तापक्रममा जान्छौँ, त्यहीअनुसारका कपडा लगाउनुपर्ने हुन्छ । अक्सिजन पनि आवश्यकताभन्दा बढी लिएर जाँदा राम्रो हुन्छ”, डा पाण्डेले भन्नुभयो ।   हिमपात नहुने क्षेत्रमा तातोपानी र तातो खाना खानुपर्छ । रुघाखोकी लाग्ने हुँदा चिसोबाट जोगिने र औषधि लैजाने गर्नुपर्छ । श्वास फेर्न समस्या हुनसक्ने भएकाले त्यहीअनुसारको तयारी गर्नुपर्छ र चिप्लिने सम्भावना हुने भएकाले त्यहीअनुसारका कपडा र जुत्ता प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा एक्लै नभई समूहमा हिँड्न पनि उहाँले सुझाव दिनुहुन्छ ।  यस्तो छ मौसम  हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ्ग’ नामक सामुन्द्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।   कोशी प्रदेशका र मधेस प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम यसपालि ७.४ सम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम माइनस ५.५ डिग्रीमा तापक्रम झरेको छ । दोलखाको जिरीमा १ डिग्री, जुम्लामा माइनस ३.८ सम्म झरेको छ । मनाङमा दैनिक हेर्ने स्टेसन नभएकाले कति भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेको जनाइएको छ । 

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।  समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।  पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुुरुङले राससलाई जानकारी दिनुुभयो । “हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिडडुुल गर्न सकिने भएको छ,” उहाँले भन्नुुभयो “पर्यटकहरुले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र सहासिक यात्रा गरेर रमाउन थालेका छन् ।” प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने गत हप्ता आधार शिविर पुगेर फर्कनुभएका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताउनुुभयो ।   हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको  हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।  हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका यहाँका ज्येष्ठ नागरिक बताउँछन् । तालको परिसरमा हिन्दू धर्मग्रन्थ रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ । निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने कास्कीका सोमलाल सुवेदीले बताउनुभयो ।  “वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो छ,” पूर्वमुुुख्य सचिव रहेका सुुवेदीले भन्नुुभयो “तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्छ ।”  ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निस्कने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन गुरुयोजना तयार पार्न लागिएको गाउँपालिकाका ईञ्जिनियर ईश्वर भण्डारीले बताउनुभयो ।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । उहाँले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै ०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । 

मनाङ:    कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।  सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै, सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् ।  सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।  मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १० औँ उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौँ । तर, शारीरिकरुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ ।नेपाल प्राकृतिकरुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् ।