काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

बेनी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ । प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । “पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै”, उहाँले भन्नुभयो । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो । घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

काठमाडौं:     दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि (शनिबार) गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब सात सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’’ त्यस्तै, बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

तनहुँ:    बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उहाँले बताउनुभयो । “केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ”, निर्देशक पौडेलले भन्नुभयो । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रु ५०, पत्रकारलाई रु तीन सय ५०, अन्य यात्रुका लागि रु पाँच सय, रेष्ट्रो क्याबिनको रु २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल रु तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् । मिति नतोकिए पनि दशैं अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । ‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताउनुभयो ।   नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उहाँले जानकारी दिनुभयो । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उहाँले भन्नुभयो, “कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।” बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन ९तल० हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट ९टुरिष्ट कोच०, अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ । 

मनाङ:     यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक  आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ  छ ।  जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन् । कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताललगायत छन् ।  यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”     झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उहाँले बताउनुभयो । “नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उहाँले भन्नुभयो । चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् । मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन् । यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् । यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।  यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताउनुभयो । यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उहाँले बताउनुभयो ।  हिमालबाट लुकेर आएको पानीले नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ ।  दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । 

गलकोट:   पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक र टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।  “मुख्यमैत्री वातावरणमैत्री नमुना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “ यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।”  वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताउनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ । रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिनुभयो । बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । “क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन र अवलोकन गराउन रेशको चिया बगान पुर्‍याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानुपर्दैन”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा। थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यलगायत व्यवहारले लोभ्याउने बताउनुभयो । चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताउनुभयो । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भन्नुभयो, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।” पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदान गरेका थिए । विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले बताउनुभयो । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ थियो । समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि व्यावसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उहाँको भनाइ थियो ।  बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् । 

दमौली:    तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ ।  गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा  ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।  बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गर्नुभएको छ ।  गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताउनुभयो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न÷ हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।”  बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।  सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।  बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।  बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

मनाङ:   आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् ।   विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक भित्रिएका छन् ।   नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो । बाह्र हजार सात सय ७९ पुरुष, सात हजार चार सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए । अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए ।    मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए । साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ ।   यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन् ।    थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको छोटिएको स्थानीय बताउँछन् । अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ । उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ ।  

विदेशी पर्यटन भित्रँदा भएको आम्दानीभन्दा नेपालीले विदेश घुम्दा दोब्बर खर्च गरेका छन् ।    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन्।    गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए।   सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो।    गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो।   यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड बाहिर लगेका छन्। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड बराबर थियो।