काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन्।   नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन्।   हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो।    नेपाल म्याग्दीकी मीराका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्।   प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ।   करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्।    

गलकोट:    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ ।  यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् । केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो ।  ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताउनुभयो । आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ ।  कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल गत फागुन १८ गतेदेखि वैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको हो । सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ । त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन् । अन्य सिकारी आउने तयारीमा रहेको कँडेलले बताउनुभयो ।  “यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए,” कँडेलले भन्नुभयो । यस वर्ष प्रतिस्पर्धात्मकता स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र  उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए । उनीहरूले बन्दोबस्तीका सामग्री फागुन १८ गतेपछि सिकार आरक्षमा वैधानिकरुपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।  सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ ।  विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज–मङ्सिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो ।  विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबिच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले आठ लाखदेखि १८÷२० लाखसम्म तिर्ने गरेकोसमेत तथ्याङ्क छ ।  सिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज÷मङ्सिर) पहिलो याम र (फागुन÷वैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।  खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । यस पटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा हुनेछन् । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बिताउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र सिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक सिकारीले करिब २० देखि ३० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । वि.सं.२०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ । सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा कमी आएको छ । आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत सिकारीले सिकार खेल्न अनुमति पाएका हुन् ।

पोखरा:   गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।      पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।      पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुभयो ।      कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा पर्ने ठूलाकोट र मादी गाउँपालिका वडा नं ५ मा पर्ने ठूलास्वारा दुुबै गाउँ पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुुन् । ठूलास्वारामा पर्यटकलाई लक्षित गरी होमस्टे पनि सञ्चालन गरिएको छ । नेपालका २२/२४ राजाका पालादेखि नै चासो र चर्चा कमाएको ठूलाकोट–ठूलास्वारा क्षेत्र बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको क्षेत्र भएका कारण पनि रोयल ट्रेक क्षेत्रका रुपमा पनि प्रसिद्ध छ । तारामण्डल अवलोकनका लागि पनि उपयुक्त गन्तव्यका पर्ने यो स्थानलाई पर्यटकीय रुपमा प्रवद्र्धन र विकास गर्ने सोच राखिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व सदस्य टीकाराम सापकोटाले बताउनुभयो ।      गाउँ परिचयात्मक भ्रमण अन्तर्गत शुक्रबार पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, जनप्रतिनिधि एवम् स्थानीयवासीसँग अन्तरक्रिया गरिएकोमा शनिबार मादी गाउँ पालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, जनप्रतिनिधि, ठूलास्वारा सामुदायिक होमस्टेका पदाधिकारीसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।       छुट्टाछुुट्टै भएका अन्तरक्रियामा वडा अध्यक्ष लामिछाने, गाउँपालिका अध्यक्ष गुरुङ लगायतले भिटोफ गण्डकीले प्रवद्र्धनात्मक कार्यक्रमका लागि यस क्षेत्रलाई समेटेको भन्दै आभार व्यक्त गर्नुुभएको थियो । यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्न आँफूहरू आतुर रहेको बताउँदै उहाँहरूले पर्यटनसँग गाउँलाई जोड्न सकेमा बढ्दो गाउँ पलायनका अवस्थालाई रोक्दै उत्पादन बढाउन सकिनेमा जोड दिनुुभयो ।      ठूलाकोटमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लामछाने सहित नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटा, वडा सदस्य डाल्डादेवी भुजेल, देउमाडी टोल विकास संस्थाका अध्यक्ष सन्तोष केसी, पर्यटन विज्ञ रामजी शर्मा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्राध्यापक दीपेन्द्र पहारी लगायतले बोल्नुुभएको थियो ।      त्यस्तै ठूलास्वारामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ सहित नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकारम सापकोटा, बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्र, मादी गाउँपालिका होमस्टे महासंघका अध्यक्ष भीम गुरुङ, भिटोफ गण्डकी सदस्य एवम् कार्यक्रम संयोजक विमला सापकोटा, चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, प्राध्यापक दीपेन्द्र पहारी, मादी –५ का वडा अध्यक्ष होमनाथ अधिकारी, ९ का अध्यक्ष मनोज गुरुङ, स्थानीय समाजसेवी कुमबहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पहारीले गर्नुभएको थियो ।         

तनहुँः   पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो ।      बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो ।    नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो उहाँका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ ।    “कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन् ।” उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उहाँको भनाइ छ ।    मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।    “करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन । स्थानीय कसैले पनि भन्नुभएको थिएन”, उहाँले भन्नुभयो, चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जानेछौँ ।”   गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४० र ५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उहाँले बताउनुभयो ।  

तनहुँ:      तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो ।  पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ”, उहाँले भन्नुभयो, “अब यसलाई व्यावसायिकरुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।” अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्‍याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जानकारी दिनुभयो । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्याफ्टिङ गर्नुभएको थियो । गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ ।  वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको अध्यक्ष चुमालको भनाइ छ । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानले बताउनुभयो । “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यहाँ रोक्न सकिन्छ”, उहाँले भन्नुभयो । मोटरबोट सञ्चालन गरी स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यसको लागि समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।” गाउँपालिकाले वडा नम्बर १ को आँधीमूलमा कृत्रिम ताल बनाउने योजना अघि सारेको छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँ ताल बनाउने योजना अगाडि सारिएको अध्यक्ष चुमानको भनाइ छ ।  उहाँका अनुसार चालु आवमा ५० हजार बजेट विनियोजन गरी ताल निर्माणको योजना बनाइएको छ । पृथ्वीराजमार्गको सत्र सयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायत स्थानले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूली एकादशीका दिन विशेष मेला लाग्ने गरेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि केही काम सुरु गरिसकेको छ ।  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवानका आकृति बनाइएको छ । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुँदिएको छ । यहाँ थप पूर्वाधार निर्माणका लागि पाँच करोड बजेट आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष चुमालले बताउनुभयो । उहाँका अनुसार थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ ‘स्काइ साइक्लिकिङ’, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । गत वर्ष सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण भइसकेको छ । 

गण्डकी:     “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए ।  आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए । एकापसमा बधाई साटिरहेका देखिन्थे ।  पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक उक्त घोषणाका लागि सङ्घ सरकारलाई औपचारिक प्रस्ताव गर्दै आएको थियो । प्रदेश सरकारले गत मङ्सिर १२ गते अध्ययन समिति बनाएर काम थालेपछि पर्यटकीय राजधानी घोषणाको योजनाले मूर्त रुप पाएको हो । प्रधानमन्त्री प्रचण्डले आइतबार आयोजित भव्य समारोहका बीच उक्त घोषणा गर्नुभएको हो ।  त्यस क्रममा उहाँले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक वैभवको सङ्गमका रुपमा रहेको बताउनुभयो । “विशिष्ट पहिचान बोकेको पर्यटकीय नगरी पोखरालाई मुलुककै पहिलो पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न पाउँदा विशेष गर्व र हर्षको महशुस भएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यो घोषणाले पोखरा मात्र नभएर, गण्डकी प्रदेश र सिङ्गै देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु ।” उहाँले बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सङ्घ सरकारको विशेष सहयोग, समन्वय र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो । यसअघि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय अध्ययन समितिले गत पुस २६ गते प्रतिवेदनसहित पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।  पर्यटन विज्ञसहितको उक्त समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक मापदण्ड पूरा भएको औँल्याएपछि उक्त घोषणा गरिएको हो । समितिले पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा गत फागुन २३ को मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । अध्ययन प्रतिवेदनले तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजनालाई समेटेको आयोगका उपाध्यक्ष डा देवकोटाले जानकारी दिनुभयो । अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको उहाँको भनाइ छ ।  मध्यमकालीन रणनीतिका रुपमा पाँच वर्षभित्र गर्नुपर्ने कामलाई प्रतिवेदनलाई औँल्याएको डा देवकोटाले बताउनुभयो । “विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधीकरण र व्यावसायिक जनशक्तिको उपलब्धतालाई मध्यमकालीन रणनीतिमा समावेश गरिएको छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन रणनीतिमा दिगोपन र समावेशीता, विद्युतीय पर्यटनलगायत विषय समेटिएको छ ।” डा देवकोटाले पर्यटकीय राजधानी घोषणा सँगैसँगै पर्यटन क्षेत्रको योजनाबद्ध विकासमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । “गण्डकी प्रदेशको समग्र विकासमा पर्यटन महत्वपूर्ण हिस्सा बन्न सक्छ”, उहाँले भन्नुभयो, “पर्यटनको राजधानी घोषणा गरेर मात्र हुँदैन, पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध सबै पक्षको ध्यान जान जरुरी छ ।” पर्यटकीय राजधानी घोषणालाई लिएर फरक कोणबाट समेत टिप्पणी भइरहेको छ । यथेष्ठ पूर्वाधार तयार नभई गरिएको घोषणा दिगो हुन नसक्ने र नागरिकले प्रतिफल नपाउने कतिपयको बुझाइ छ । पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ त रु पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताउनुभयो । पोखरेली पर्यटन व्यवसायीहरुको वर्षौँदेखिको माग पूरा भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । “पोखरा यसै पनि पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता पाउने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दूरगामी महत्व राख्छ ।”  पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कोरला नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले नसोचेको फाइदा लिन सक्छ, कैलाश मानसरोबर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ”, उहाँले भन्नुभयो । अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्छन् । मुक्तिनाथ विश्वभरका हिन्दू धर्मावलम्बीहरुमाझ प्रसिद्ध छ । उहाँका अनुसार पोखराको पर्यटनमा खर्बौँको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणाले गण्डकी प्रदेश र नेपालको पहिचान अन्तर्राष्ट्रिस्तरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पर्यटकीय राजधानी घोषणाले पर्यटन व्यवसायीमा उत्साह र उर्जा थपिनेछ, पोखरामा बाह्य तथा आन्तरिक लगानीको वातावरण बन्नेछ”, उहाँले भन्नुभयो, “पोखराको समुन्नतिका लागि तीन तहका सरकार, निजी क्षेत्र र विकास साझेदारसँगको सहकार्य थप प्रभावकारी हुनेछ ।” मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार र पोखरा महानगरपालिकाबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनमा नयाँ योजना सञ्चालन गरिने बताउनुभयो । आइतबारदेखि नै पोखराको मुख्य सहरी क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध गरिएको उहाँको भनाइ छ । “राउण्ड पेवा र भ्यू फेवामो ट्रेकिङ ट्रेल छिट्टै बन्दैछ, बेगनास तालमा ‘क्रुज सिप’को सञ्चालनको योजना अगाडि बढेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्द्रलगायत निर्माण गर्दैछौँ ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिजर्ना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताउनुभयो । “विश्वका विभिन्न सहरलाई आफ्नै विषेशता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने अभ्यास र परम्परालाईसमेत दृष्टिगत गरेर हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हौँ”, उहाँले सुनाउनुभयो ।  विद्यमान सबल पक्ष, सुधार गर्नुपर्ने विषय र आगामी कार्यदिशाबारे तथ्यगत र वस्तुगत विश्लेषण गरी पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको प्रमुख आचार्यले बताउनुभयो । “यो घोषणाले तीनै तहका सरकारलाई नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिन बल थप बल पु¥याउनेछ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा रणनीति र कार्ययोजना तय गरेर अगाडि बढ्छौँ ।” यी हुन् पर्यटकीय राजधानी घोषणाका आधार पर्यटकीय गतिविधि, सहज पहुँ, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानूनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँदै आएका थिए । हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।  फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।  पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास पर्यटन ९होमस्टे०, सुविधायुक्त रेष्टराँ, कफी शप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ ।  पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् । बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।  पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।  आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब १० लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ । कोभिड–१९ महामारीयता पर्यटक आगामनको औपचारिक तथ्याङ्क भने कुनै निकायसँग पनि छैन । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७४ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ ।  पोखरा आउँदा कहाँकहाँ घुम्ने ? प्रदेश राजधानीसमेत रहेको पोखरा आउने पर्यटकले आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्ने गरेका छन् । पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।   पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् । तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।  पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, साल्मे–डाँडाजस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।  लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् ।

काठमाडौं:     जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आईटीबी बर्लिनमा सहभागिता जनाएको हो ।  पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो । आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो ।  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाए ।       मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटेल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन् । 

पोखरा:    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ । व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका(५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका(४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गरे । यो टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्ने छ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट झासीखर्क, चौंथो दिन झासीखर्कबाट सङ्गुरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यात्राको आठौं दिन टोली लेतेबाट सिँगा तातोपानी हुँदै पोखरा फर्कने छ । टोलीलाई बिदाइ गर्दै पर्यटनमन्त्री थापाले पर्यटनको भविष्य कसरी विकास गर्न सकिन्छ भन्ने भएरै मन्त्रालयले नयाँ पदमार्ग पहिचानमा मन्त्रालयले साथ दिएको सुनाए । उनले (कस्तुरीले बिना) खोजेजस्तै सम्भावना हुँदाहुँदै नेपालीहरुले पर्यटनको सम्भावना भएपनि त्यसको पहिचान गर्न नसकेको बताए । ‘ पर्यटकलाई पोखरा ल्याउनुपर्छ । तर अब पोखरा र सेरोफेरो साँघुरो भइसक्यो’, उनले थपे, ‘अब धेरै पदमार्ग विकास गरेर दिन कसरी लम्ब्याउन सकिन्छ भनेर खोज गरिरहेका छौं । त्यसको एउटा गन्तव्य टोड्के(लेते पदमार्ग नयाँ गन्तव्य बन्न सक्छ ।’ मन्त्रालयका उद्योग(पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवर्द्धनमा सहयोग गर्ने भएपनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताए । उनले नयाँ पदमार्ग विकास हुन सकेमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । टानका प्रथम उपाध्यक्ष आचार्यले २०७२ सालतिरै यो पदमार्ग विकास गत्ने योगदान भएपनि भूकम्प र कोरोना भाइरसको संक्रमणले गर्दा नसकेको बताए । मोटरबाटोको विकासले अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब नयाँ पदमार्ग विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । टोड्के रिसोर्टका सञ्चालक भीम शेरचनले गाडीले अन्य ट्र्याक लोप भएको अवस्थामा अब धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्दै नयाँ पदमार्गको खोजी हुनु सकारात्मक भएको बताए । शेरचनकै पहलमा टोड्केबाट आधार शिविर पुग्न नयाँ पदमार्ग पहिचान थालिएको हो । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएपछि पदमार्ग पर्यटन विकास भएकाले धौलागिरीलाई पनि संरक्षण क्षेत्र घोषणा गर्दा उचित हुने सुझाव सरकारलाई दिए । संरक्षण क्षेत्र घोषणा भएपछि स्थानीयले नै लगानी गर्न पाउने र स्थानीयस्तरको जनजीवन विकास हुने उनले सुनाए । पहिचान यात्रा सफल भएमा पोखरा फर्किएर बुलेटिन र म्याप प्रकाशन गर्ने अध्यक्ष पन्थीले जानकारी दिए ।

पोखरा:  इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास(होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुभयो । प्रवद्र्धनका क्रममा त्यहाँस्थित ऐतिहासिक मन्दिर, त्यहाँबाट देखिने सूर्योदयको अवलोकनसँगै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा राइनासाकोट नागरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले पर्यटकीय रुपमा राइनासकोटको विकासका लागि आँफूहरू लागेको बताउँदै एगासँग पर्यटकीय साझेदारी बढाउने कुरामा नगरपालिका तयार रहेको बताउनुभयो । पछिल्लो समयमा शहरमुखी बन्ने क्रमले ग्रामिण वस्तीहरू खाली हुँदै गएको बताउँदै उहाँले पर्यटकीय सम्भावनालाई उजागर गर्दै घरवास मार्फत ग्रामिण क्षेत्रको पर्यटकीय विकासमा जोड दिइने बताउनुभयो । एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा नजिकका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन जरुरी रहेको बताउँदै घरवासहरूमा गरिने आतिथ्यता तथा व्यवहारले पर्यटकको आकर्षण बढाउने उल्लेख गर्नुभयो । राइनासको पर्यटकीय विकासका लागि अन्य पर्यटकीय पूर्वाधार विकासमा उहाँले जोड दिनुभयो । एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले एगाले नेपालको पर्यटकीय चिनारी हुने किसिमका सामाग्री तयार गरी नेपालको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरिरहेको बताउनुभयो । राइनासकोटसँग पर्यटकीय साझोदारी विकास गर्ने कुरामा एगा पोखरा तयार रहेको उहाँले बताउनुभयो ।  होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटकीय विकासका लागि आसपासका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन आवश्यक भएको बताउनुभयो । एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्साल, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक एवम् न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, पर्यटन विश्लेषक एवम् पत्रकार दीपेन्द्र पहारी लगायतले पर्यटनलाई उत्पादनसँग जोड्ने गरी होमस्टेको प्रवद्र्धन र विकास आवश्यक भएको बताउनुभयो । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवम् सल्लाहकारद्वय जीवनाथ गौतम र कृष्णकुमार श्रेष्ठ, विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।