पाल्पाको लाखे नाच पोखरामा देखाइने
पाेखरा | साउन २५, २०८२
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ ।
पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए ।
साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ ।
पाल्पा रिब्दीकोट गाउँपालिकास्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाचका लागि कलाकार टोली बाजागाजासहित यहाँ आउने छ । गत वर्ष पोखरामा उक्त नाच हेर्नेको ठूलो भीड लागेको थियो । भीमसेन गुठी भैरवस्थानले यसअघि पोखरासहित काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच प्रस्तुत गरिसकेको छ ।
पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।
कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका छन् ।
पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ ।
उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए ।
५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कला फरक छ ।
काठमाडौं: नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यक...
काठमाडौं: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर ...
ढोरपाटन: घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले ...

