एमाले र कांग्रेस कास्कीमा सिफारिश उम्मेदवारहरु ‘टिकट हात पार्न’ राजधानी दौडाहामा
कास्की | असोज २, २०७९
निर्वाचन आयोगले आज र भोलीसम्म समानुपातिक सूचि बुझाउने म्याद तोकेपछि यतिबेला राजधानीमा दुबै पार्टीका केन्द्रीय नेताहरु बैठकमार्फत उम्मेदवारको नाम टुंग्याउन जुटेका छन् ।
टिकट हात पार्न शक्तिकेन्द्र धाउनेमा अधिकांश कांग्रेसबाट समानुपातिकमा सिफारिशमा परेकाहरु रहेका छन् । त्यसो त कास्की कांग्रेसका सभापति किशोरदक्त बरालले यहाँबाट सिफारिश गरिएका नामबाटै उम्मेदवारको अन्तीम सूची तयार हुने दाबी गरेका छन् ।
अध्यक्ष बरालको दाबीलाई पत्याइहाल्ने सम्भावना भने छैन । यसअघिको उदाहरण हेर्दा जिल्लाबाट पठाइएको नाममा केन्द्रले आफुखुशी परिमार्जन गरेपछि अहिले ८० प्रतिशतभन्दा बढी समानुपातिकमा नाम परेकाहरु राजधानी हान्निएका छन् ।
कास्कीबाट पठाइएका नाममा उनीहरुको योगदान र कामको मूल्यांकनको आधारमा सिफारिश गरिएको बरालले बताएपनि सिफारिशमा परेकाहरुले विश्वास नगर्दा अधिकांश आकांक्षी राजधानी पुगेका हुन् ।
यसविषयमा कास्की कांग्रेसका एक नेताले यतिउति भन्ने नसकिने भन्दै करिब–करिब सबै राजधानी पुगेको उल्लेख गरे । ‘८० प्रतिशत सिफारिश भएकाहरु पुगिसके’ उनले भने, ‘बचेखुचेका पनि अहिले जाने तयारीमा छन्, रातिसम्म सबै पुग्लान् ।’
सोहीक्रममा उनले कुनैपनि एंगलबाट टिकट नपाउनेहरु पनि राजधानी हान्निएको जनाए । ‘कतिपय साथीहरु जो वडामै हारेका छन्, उनीहरु पनि एक्सपोजरकालागि पुगेका छन्’ उनले भने ‘केही साथीहरु आफुले पाउने निश्चित भएकाले राजधानी नगए अरुको हातमा पर्ला भनेर पनि गएका छन् ।’
‘यद्यपि, अधिकांश साथीहरु चर्चा कमाउने लोभमा पुगेका छन्’ उनले ठोकुवा गरे ।
टिकट पाउन लालयितहरु सभापतिको नजिक पर्ने प्रयास गरिरहेका बेला विद्यार्थी राजनीति, प्रेस युनियन हुँदै जिल्लामा पुगेका नवीन सिग्देलले राजधानी जानैपर्ने ट्रेन्ड चलेकोमा दुखी भएको प्रतिक्रिया दिएका छन् ।
उनले पनि अधिकांश साथीहरु राजधानी पुगेको खबर पाएको सुनाउँदै आफु भने टिकटकै लागि केन्द्र नधाउने उल्लेख गरे । यसअघि ‘टिकट माग्न म काठमाण्डौं आउँदिन’ भन्दै राष्ट्रिय मिडियामा लेख प्रकाशित गरेको भन्दै सिग्देलले पार्टीबाट आफ्नो मूल्यांकन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए ।
सिग्देल कास्की १ ‘ख’बाट प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिश छन् ।
कास्की कांग्रेसले दिएको जानकारी अनुसार यहाँबाट सिफारिश नामहरु सोही ढाँचा अनुसार सूचीमा नपर्न पनि सक्ने सम्भावना छ । गठबन्धनसँगै निर्वाचनमा जाने भएकाले कंग्रेसले कहाँबाट कति उम्मेदवार पाउँछ भन्न नसकिने अवस्था रहेको बताइएको छ ।
त्यस्तै, संघमा सिफारिश भएका जीवन परियार स्वयं समानुपातिकमा बस्न इच्छुक भएकाले यहाँबाट सिफारिश नामहरु तलमाथि पर्ने सम्भावन उच्च छ । स्रोत भन्छ ‘जोसुकैको नाम सरुवा–बढुवा’ हुने सम्भावना प्रबल छ ।’
यता, एमाले कास्कीले प्रदेश र प्रतिनिधिसभामा १ सय ३० जनाको नाम सिफारिश गरेको छ । जसमध्ये प्रतिनिधिसभामामात्रै २८ जना सिफारिश गरिएको एमाले कास्की सचिव बैनबहादुर क्षेत्री बताउँछन् ।
क्षेत्रीका अनुसार एमाले पनि अहिले बैठकमै व्यस्त रहेको र आज साँझसम्म सूची तयार हुनेछ ।
‘यहाँबाट सिफारिश नाममध्येबाटै छनोट होला वा केन्द्रीय तजबीजमा होला ? भन्ने प्रश्नमा सचिव क्षेत्री भन्छन् ‘यहीबाटै सिफारिश नाम नै प्राथमिकतामा पर्छ तर स्थानीय निर्वाचनलाई हेर्ने हो भने त्यसो नभएको पाइयो ।’
उनका अनुसार स्थानीय निर्वाचनमा भूतपूर्व उपमेयर मञ्जु गुरुङ्को नाम कतै सिफारिश नगरिएपनि केन्द्रले पुनः उनलाई नै उठाएको थियो । यहाँबाट नाम सिफारिश गरिएपनि ‘अपानी’मा यही सिफारिश नाममात्रै हो भनेर नबुझ्न भनिएकाले एमालेबाट पनि ठ्याक्कै को पर्ला भनेर यकिन गर्न सक्ने अवस्था छैन ।
त्यस्तै, केन्द्रले नै आफै कुनै नयाँ नाम सूचीमा समावेश गरी बुझाउन सक्ने सम्भावना पनि रहेको छ । कास्कीबाट पनि टिकटका आकांक्षी राजधानी पुगेका छन् ।
तर सबै टिकटकालागि नै पुगेका हुन् भन्न चाहँदैनन् सचिव क्षेत्री । ‘एउटा संयोग पनि हुनसक्छ, तर टिकटै हात पार्न साथीहरु राजधानी जानु भएको होइन’ क्षेत्रीले बचाउ गरेका छन् ।
उनका अनुसार अन्य पार्टीमा जस्तो एमालेको कुनै ग्रुप छैन । उनले भने, ‘यति ठूलो माहौलमा साथीहरु पार्टी कार्यालयमा पुग्न, नेतागण भेट्नु सामान्य हो ।’
हालसम्म एमाले र कांग्रेस कास्कीबाट कसले टिकटमा बाजी मार्ला, यसै भन्न सकिन्न । यसको नतीजा पाउने भोलीसम्म कुर्नैपर्छ । यद्यपि, यहाँबाट सिफारिशमा परेका नामहरुमात्रै पछर््न भन्नेमा आशंका छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

