पञ्चे बाजा संरक्षणमा महिला अग्रसर
रुकुम पूर्व | असोज ६, २०७९
रुकुम: रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् ।
उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।
रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताउनुभयो ।
यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताउनुभयो । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाउनुभयो । शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो ।
समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उहाँले बताउनुभयो । पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताउनुभयो ।
युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताउनुभयो ।
वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताउनुभयो ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

