सुनसान तातोपानी नाका
काठमाडाैं | असोज २८, २०७९
काठमाडौँ । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।
चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आउनुभएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ ।
नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ, शेर्पाले भन्नुभयो । सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन, कोदारीमा भेटिनुभएका पूर्णबहादुर श्रेष्ठले भन्नुभयो, “हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।”
असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् ।
लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउनुहुन्छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउनुहुन्छ ।
लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिनुभएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक हुनुहुन्छ । तर अझै उहाँले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उहाँले बताउनुभयो ।
प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६÷७७ मा रु एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो । “सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ”, उहाँले भन्नुभयो । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किमी र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिकरूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहकरूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो ।
बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । “नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन् ।” मुलुककै राजश्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटेपनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

