बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बाग्लुङ | कात्तिक १६, २०७९

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।

 

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।

 

बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।

 

यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहनुभएका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।”

 

दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो । 

 

करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउनुहुन्छ ।

 

भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्