‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’: उम्मेदवार श्याम
पाेखरा | कात्तिक ३०, २०७९
पोखराः मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।
बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्वाचित भएपछि उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए । ‘क्होला सोंथर हाम्रो पैतृक थलो हो। यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन,पर्यटकिय दृष्टिकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’
उनले १२ औं शताव्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवद्र्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए ।
उनले संघीय सांसद खगराज अधिकारीको विशेष पहलमा करिव ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी काम पनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए । उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा १३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे ।
अर्को प्रसङ्गमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछि सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए । त्यस्तै उनले देशलाई विकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ, कसले गरेको छैन , त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ ।’ उनले भने ।
बुधबार उनले पोखरा १३ र १४ का विभिन्न स्थानहरुका मतदाता माझ पुगेर सुर्य चिन्हमा मत मागेका छन् । नेकपा एमालेले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

