बागलुङको बिहुँकोटमा धार्मिक महोत्सवको तयारी

बाग्लुङ | मंसिर १३, २०७९

बागलुङको बिहुँकोटमा धार्मिक महोत्सवको तयारी तस्बिर फाइल

बागलुङः   काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मङ्सिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ । 


कोरोना महामारीका कारण गत वर्ष रोकिएको उक्त महोत्सव यसपालि हुन लागेको हो । त्यहाँस्थित परमानन्द संस्कृत गुरुकुल पुनः सञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिने महोत्सवका मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजले जनाएको छ । 


समाजका अध्यक्ष देवीलाल कँडेलका अनुसार विगतको सशस्त्र द्वन्द्वताका रामकोटधामको गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको थियो ।


महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा देशभरबाट सन्त, महात्माहरुको उपस्थिति रहने जनाइएको छ । 


महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन् ।


महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको सहभागिता रहने जनाइएको छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । “महोत्सव सुरु नहुँदै रु ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ”, उहाँले भन्नुभयो ।


गुरुकुल पुनः सञ्चालनको उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको हो ।


संस्कृत पाठशाला पुनः सञ्चालन भएमा सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । रामकोटधामका प्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । 


उहाँले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताउनुभयो । पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महोत्सव सहयोगी बन्ने उहाँको भनाइ छ । रामकोटधाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत छ । 


त्यस धाममा बर्सेनि ज्येष्ठ ११ मा रथयात्रासँगै महामेला गर्ने प्रचलन छ । यस्तै बालाचतुर्दशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक अनुष्ठानहरु चल्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडक यात्रामा त्यहाँ पुग्न सकिन्छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्