देउरालीडाँडामा पहिरोको पुन: त्रास बढ्दो
पाेखरा | माघ १७, २०७९
लमजुङ: लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ ।
बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ ।
उक्त सडकको प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ । उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारिको बाटोको अनुगमन गरेको संविधान सभा सदस्य जमिन्द्रमान घलेले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य गुरुङले वैकल्पिक सडक निर्माणका लागि पहल थालिने बताउनुभयो । उहाँले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडकसमेत बगाएपछि कुनै दिन नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कुनै दिन माथिल्लो बाटो तथा पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रूपमा सवारी आवागमन गराइएको छ ।
पहिरोको जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दबाब आएको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा तीन–चार महिना नै सडक बन्द हुनसक्ने बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तले वैकल्पिक सडक निर्माणका लागि मस्र्याङ्दी पारिपट्टिको सडकको स्तरोन्नति गर्न १० लाख रुपियाँ बजेट स्टिमेटसहित सडक विभागमा पुगेको बताउनुभयो । उहाँले फास्ट ट्र्याकमार्फत काम गर्न सकिए जेठ–असारभित्र सडक मर्मत सक्ने बताउनुभयो ।
विभागबाट बजेट स्वीकृत भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयले बजेट निकासाको स्वीकृति दिएपछि मात्रै निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । हाल पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणका लागि २० करोड रुपियाँको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

