पाहुनालाई काउलीको गुन्द्रुक उपहार
काठमाडाैं | फागुन ८, २०७९

चरिकोट: प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।
उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ ।
उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ ।
करिब १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् ।
यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो, झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।
काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो ।
प्रचारप्रसार होस् भनेर पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो ।
यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् ।
वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...