पोखराः पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णुबहादुर गुरुङ्, पुर्व बैंकर एवम् सस्थाका सदस्य महेश्वर पहारी, उमादेबी अधिकारी लगायतले बोल्नुभएको थियो । अधिवेशनले पुनः टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई रहनुभएको छ भने सदस्यहरूमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा हुनुहुन्छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा ईश्वरीप्रसाद पौडेल र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम हुनुहुन्छ । कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरूमा विष्णुप्रसाद गुरुङ्, दिपेन्द्र देबी घिमिरे थापा , पार्बता पाण्डे र धिरज अर्याललाई सम्मान गरियो भने सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो । साधारण सभाले सचिवको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्ताव समेत पारित गरेको छ । संस्थामा २४८७ जना शेयर सदस्य र शेयर पुजीँ रु.६ करोड १३ लाख रहेको सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल वासलत रु.२८ करोड ७४ लाख छ भने १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९लाख ऋण परिचालन गरेको छ ।
काठमाडौं: साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ । आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं: केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलामा छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखराः लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’को तयारीलाई तिब्र बनाइएको छ । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महोत्सवका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा राखिने ३ सय ३८ वटा स्टल मध्ये ८५ प्रतिशत बुकिङ भइसकेको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको ब्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन । १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।
पोखराः पोखरा महानगरपालिका–७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ । ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशी व्यक्त गरिन् । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । विजेता तीनै जनालाई आज सो पुरस्कार रकम हस्तान्तरण गरिएको हो । पुरस्कार हस्तान्तरण समारोहमा पोखरा ट्रेड मलका सञ्चाल एवं उत्सव व्यवस्थापन समितिका सल्लाहकार बासुदेव पराजुली, उत्सव व्यवस्थापन समितिका सल्लाहकारद्धय माधव तिमिल्सिना र गोपाल बाटाजु, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी, उपाध्यक्ष सीमा कोइराला, सचिव रमेश बराल, सदस्य सचिव कृष्ण भुसाल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष, धर्मदत्त अधिकारी सदस्यहरु राजीव क्षेत्री, नवराज ढुँगाना लगायत सहभागी हुनुहुन्थ्यो । पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।
पोखराः चिल्ली ग्रुपले पोखराको लेकसाइडमा हिमालयन ग्लोरी इन प्रा.लि (होटल) तथा थ्री सिक्स्टी स्काई लाउन्ज (रेन्टुरेन्ट) सञ्चालनमा ल्याउको छ । पोखरा महानगरपालिका ६ हल्लनचोकमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायिक समूह ‘चिल्ली ग्रुप’ ले पत्रकार सम्मेलन गर्दै भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइने जानकारी दिइएको हो । हिमालयन ग्लोरी इन प्रा.लि तथा थ्री सिक्स्टी स्काई लाउन्ज करिब १२ करोडको लगानीमा सञ्चालनमा ल्याइएको म्यानेजर लेखनाथ पहारीले बताए । ‘होटल तथा रेस्टुरेन्टको निर्माण सन् २०१८ मा करिब १० करोडको लगानीमा सम्पन्न गर्ने गरी निर्माण शुभारम्भ गरेका हौं, ९० प्रतिशत निर्माण सम्पन्न भएपछि विश्वव्यापी रुपमा कोरोना भाइरससँगै विविध कारणले समयमा निर्माण सम्पन्न हुन सकेन्, पहारीले भने, ‘ निर्माण सम्पन्न गर्ने लक्ष्य भन्दा साढे २ वर्षपछि सञ्चालनमा आएको होटल करिब १२ करोड लगानी भएको छ ।’ उनका अनुसार ३० देखि ४० जनाको सिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा बाल्कोनीसहितका १५ कोठा भएको होटल एवम् रिसेप्शन, एयर कन्डिसन रुम रहेको छ भने, पृथक शैलीमा निर्माण गरिएको होटल तथा रेस्टुरेन्टमा लिफ्ट जडान गरिएको छ । औपचारिक शुभारम्भ भोलि २३ गते (शुक्रबार) हुने र सोलो गगनको लाइभ सांगीतिक प्रस्तुती समेत रहने प्रालिले जनाएको छ ।
काठमाडौं: बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं: सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ । यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवम् सिमेन्टको सेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सानिमा बैंकको संस्थापक सेयर ५१ लाख कित्ता कारोबार हुँदा बुधबारको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक सेयर कारोबार हुँदा बुधबार बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार बुधबार शिवम् सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।

