पोखरा: पोखरामा पहिलोपटक पोखरा युनाइटेड एकेडेमीले नयाँ विषयकारुपमा ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार एकेडेमीले ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयमा समावेश गरेको जानकारी दिए । विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टपछि एकेडेमीले पाठ्यक्रममा नयाँ विषय थपेको हो । निर्देशक सापकोटाका अनुसार यस विषय अध्ययन गर्न ४० देखि ५० हजार रुपैयाँ शूल्क लाग्नेछ । नयाँ विषयबारे जानकारी दिन आयोजित कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ समयको माग भएको उल्लेख गरिन् । २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको श्रेष्ठको धारणा छ । ३ दशक बढी सौन्दर्य क्षेत्रमै कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताएकी छिन् । सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको गुरुङले बताइन् । एकेडेमिका प्राचार्य बैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गर्न सकिने उनले जनाए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् । एकेडेमीका अनुसार नेपाल सरकारको बोर्डबाट एसइइ उत्तीर्ण विद्यार्थिले उक्त कोर्ष अध्ययन गर्न सक्नेछन् ।
पोखराः पोखराको महतगौंडामा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ । असोजमा औचपारिक उद्घाटन गर्ने योजना भएपनि पार्क निर्माण सकिएपछि सञ्चालनमा ल्याइएको हो । ‘वाटर स्पोर्टस्’ र ‘फनपार्क’ समेत भनिने पार्क अन्तर्राष्ट्रियस्तरको रहेको सञ्चालकमध्येका कमल बस्नेतले जानकारी दिए । पोखरा प्रायः प्राकृतिकरुपमा चिनिएपनि पार्कले संरचनागत हिसाबले पनि चिनाउने उनले बताए । पोखराकै ठूलो मानिएको पार्कमा एकैपटक ५ हजारसम्मले रमाउने वातावरण तय गरिएको छ । ‘पार्क ठूलोमात्र हैन’ बस्नेत भन्छन् ‘सुरक्षित पनि छ ।’ पार्कमा २ दर्जनजति फरक गतिविधि गर्न सकिने बस्नेतको भनाई छ । ६५ रोपनी क्षेत्रफल ओगटेको पार्कमा वेभपुल, रोलरकोस्टर, ५ स्वीमिङपुल र विभिन्न इन्डोर गेम रहेका छन् । त्यस्तै, पार्कभित्र फुडकोर्टसमेत रहेको छ । पार्क सञ्चालनमा १३ जनाले करिब ५० करोड रुपैयाँको हाराहारीमा लगानी गरेको बस्नेतले बताए । पार्क प्रवेशका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । त्यस्तै, त्यहाँ रहेको सम्पूर्ण गतिविधिमा सरिक हुन १२ सय रुपैयाँ शूल्क तोकिएको छ । प्याकेजबाहेक रुचिअनुसारको खेलमा १ सय ५० देखि ३ सय रुपैयाँसम्म लिइने उनले जानकारी दिए । यहाँ वाटर र ड्राइपार्क रहेको छ । ड्राइपार्कको प्याकेज शूल्क ४ सय ५० रुपैयाँ रहेको छ भने बालबालिकालाई हाल ५० प्रतिशत छूट दिइएको छ ।
पोखरा: लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हासा गएको कथामा विवेचना गरिएको छ । अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैौं मदनहरु विदेसिएका छन् । नेपाल सरकारको तथ्याङ्कले वार्षिक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेसिने युवाहरुको संख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजी कुद्नेहरु संख्या पनि । सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन । यद्यपि तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न ग¥यो । उक्त मेलामा कैयौं मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली । उमेरले भर्खरै एक बीस पार गरे । उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको रोजगार मेलामा भेटिएका उनले, ‘मलाई प्लम्बिङ् आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि कहिलेकाही मामासँग काम गर्दै आएको छु ।’ ‘म उमेरमा ८ वर्ष पुग्दै थिए अचानक बाबा विदेश जानुभयो तर बिदेश गएपछि कुनै खवर पाउन सकिएन नेपाल त फर्किनुभयो तर साथमा अर्कै बिहे गरेर फर्किए’ मदन भन्छन् । २१ वर्षीय मदनको जीवनमा अर्काे बज्रपात प¥यो जब आमालाई क्यान्सर भयो । ११ कक्षा पढ्दाताका भरतपुर क्यान्सर अस्पतालमा उपचारका दौरान आमाको पनि मृत्यु भयो । त्यसयता उनका काँधमा परिवारकोसमेत जिम्मेवारी थपिएको छ । ‘घरमा भाई, हजुरबुबाआमा, काका–काकी हुनुहुन्छ, भाईलाई पढाउने जिम्मेवारी सँगै विस्तारै परिवारको जिम्मेवारी आफ्नै काँधमा आउन थालेको छ’ उनले दुखेसो पोखे । सीप विकास केन्द्रमा प्लम्बरको तालिम लिए तालिमा प्रथम पनि भए तर जागिर पाउन नसकेको उनले सुनाए । तत्काललाई जुनसुकै काम भए पनि गर्न तयार रहेको मदन बताउँछन् । ‘सपना हजारौ थिए, खोजी जागिरको हो’ उनले भने । भाईलाई पढाउने जिम्मेवारीसँगै आफुले पनि पोखरामा काम गर्दै स्नातक तहको अध्ययन गर्ने सपनाका साथ मन्त्रालयले सञ्चालनमा ल्याएको एपमा फर्म भर्न उनी रोजगार मेला पुगेका हुन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न एप सञ्चालनमा ल्याएको छ । उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्न सक्छन् । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको र यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा मन्त्रालयले गरेको छ । ।
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५३.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९.३२, सूर्योदय बोमी लघुवित्त ६.७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५।१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए ।
काठमाडौँ: आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो । आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले रु दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । बढ्यो व्यापार घाटा आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा रु १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो । एक वर्षको अवधिमा नेपालले रु २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धि नभए पनि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि उनीहरूले चर्को तरलता अभाव झेल्नुपरेको थियो । नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले कुल ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कोभिड–१९ महामारीका कारण लामो समयदेखि कर्जा विस्तार ठप्प भएकाले तरलताको अवस्था सहज भएपछि गत आवको शुरूदेखि नै बैंकहरू कर्जा प्रवाहमा आक्रामक देखिएका थिए । तर, बैंकहरूको कर्जा प्रवाहअनुसार निक्षेप वृद्धि नभएको संघले जानकारी दिएको छ । २०७८ असारमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असारमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आवमा निक्षेप संकलनमा सबैभन्दा अगाडि नबिल बैंक देखिएको छ । आवको अन्त्यमा नेपाल बंगलादेश बैंक प्राप्त गरेर एकीकृत कारोबार शुरू गरेको नबिलको निक्षेप गत आवमा १ खर्ब १ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । नबिलले बंगलादेश बैंक प्राप्त गरेर असार २७ गते एकीकृत कारोबार शुरू गरेको थियो । मर्जरबाट भएको निक्षेप वृद्धिबाहेक निक्षेप बढाउनेमा नेपाल बैंक अग्रस्थानमा छ । यसको निक्षेप गत आवमा ३३ अर्ब ५६ करोडले बढेको छ । यसैगरी एनसीसीले ३० अर्ब ७१ करोड, सानिमाले २८ अर्ब र कुमारीले २५ अर्ब ७८ करोड रुपैयाँले निक्षेप वृद्धि गरेको छ । गत आवमा दुईओटा बैंकको मात्र निक्षेप घटेको छ । संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४६ करोड र एनआईसी एशियाको ५ अर्ब २७ करोड रुपैयाँ निक्षेप घटेको छ । वाणिज्य बैंकहरूले २०७८ असारसम्ममा ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा २०७९ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अर्को बैंक प्राप्त गरेका कारण कर्जा प्रवाह वृद्धि गर्ने बैंकहरूको अग्रस्थानमा पनि नबिल नै छ । बंगलादेश बैंक प्राप्तिका कारण नबिलको ऋण प्रवाह सबैभन्दा बढी १ खर्ब ३ अर्ब ४१ करोडले रुपैयाँले वृद्धि भएको छ । नबिलमा बंगलादेश बैंकबाट ७१ अर्ब रुपैयाँ ऋण प्रवाह वृद्धि भएको छ । यसपछि नेपाल बैंकले ३५ अर्ब ८७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले २९ अर्ब ७१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २८ अर्ब ८९ करोड, एनसीसी बैंकले २७ अर्ब २ करोडले ऋण विस्तार गरेको छ । सबैभन्दा कम ऋण नेपाल इन्भेष्टमेण्ट बैंकको ९७ करोड रुपैयाँले मात्र वृद्धि भएको बैंकर्स संघले बताएको छ ।
नेपालमा साउन लागेसँगै महिलाहरुको रोजाइमा पर्छ मेहन्दी । हात, खुट्टालगायतको भागमा लगाइने मेहन्दी देशकै विभिन्न भागमा पाइने फुल र बोट बिरुवाबाट बनाइँदै आएपनि पछिल्लो समय भारतबाट रेडिमेड झिकाउन थालिएको छ । वर्षमा प्रायः एकपटक लगाइने मेहन्दी भारतबाट झिकाउँदा अर्बभन्दा बढी मुद्रा बाहिरिने तथ्य सार्वजनिक भएको छ । भारतीय वाणिज्य विभागको तथ्यांकअनुसारल यस आर्थिक वर्ष ०२१/२२ मा भारतले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको मेहन्दी निर्यात गरेको छ । यद्यपि, भारतले निर्यात गर्ने मेहन्दीको बजारमा नेपाल दोस्रो स्थानमा पर्दछ । तथ्यांकका अनुसार मेहन्दी निर्यातको पहिलो बजार अमेरिका रहेको छ । भारतको मेहन्दी निर्यातमा नेपालले ११ दशमलव ९१ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७।४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो । एभरेष्ट बैंक रु १० करोड पाँच लाख २६ हजार ६२३, हिमालयन डिस्टिलरी रु आठ करोड ४८ लाख ३६ हजार ६३७, एनआइसी एशिया बैंक रु छ करोड ८८ लाख र अरुण काबेली पावर रु पाँच करोड ९४ लाख २२ हजार ८४४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पन सफल भए । नेप्सेका अनुसार, इमर्जिङ नेपाल ८.०१, गणपति लघुवित्त ६.९४, ग्रीन भेञ्चर्स ५.५४, आइसीएफसी फाइनान्स ५.२७ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिभिल बैंकको ऋणपत्र ७.७५, ग्लोबल आइएमई बैंकको ऋणपत्र ५.७०, सनराइज बैंकको ऋणपत्र ३.९१ , आरबीबी म्युचुअल फण्ड एक ३.२७ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाए ।

